संकटमा प्रकृतिको कुचिकार -गिद्ध
–सौरभ यादव, राजविराज
जैविक विविधता र पर्यावरणका लागि अत्यन्तै महत्वपूर्ण मानिने लोपोन्मुख पक्षी हो– गिद्ध । दशकअघि जताततै देखिने गिद्ध केही समययता लोप हुँदै गएको छ ।
वासस्थान तथा शुद्ध आहाराको अभाव, अवैज्ञानिक ढङ्गले विस्तार गरिएको विद्युतीय तार लगायत कारणले गिद्ध लोप हुँदै गएको छ ।
एकातर्फ मानवीय सचेतनासँगै जथाभाबी फालिने सिनो गाड्ने वा व्यवस्थित रूपमा राख्न थालेपछि गिद्धलाई आहारा नपुगेको र जनसंख्या वृद्धिसँगै मानवीय अतिक्रमण बढ्दै गएकाले गिद्ध कम हुँदै गएका छन् ।
अर्कोतर्फ घरपालुवा जनावरमा डाइक्लो फिनेक जस्ता एन्टिबायोटिक औषधिको प्रयोगका कारणले पनि विश्वभर गिद्ध लोप हुँदै गएको प्राविधिकहरू बताउँछन् ।
चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घिनलाग्दो र भद्दा जिउडाल रहेपनि गिद्ध पर्यावरणका लागि ठूलै भूमिका भएको पक्षी हो ।
प्रकृतिको कुचिकार गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहोर पदार्थ खाएर वातावरणलाई प्रदूषणमुक्त, दुर्गन्धमुक्त तथा रोगमुक्त बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
पर्यावरणीय चक्र, जैविक विविधता र मानव जातिलाई स्वस्थ राख्नका लागि गिद्धको उपस्थिति अनिवार्य गरे पनि निर्दोष पक्षी गिद्ध संरक्षणमा भने कतैबाट खासै पहल भएको देखिँदैन भने गिद्धको महत्व र संरक्षणका बारेमा स्थानीय वासिन्दामा समेत सचेतना नबढेको उनीहरूको भनाइ छ।
गिद्धबारेमा रोचक जानकारी
गिद्ध सबैभन्दा उचाइमा उड्ने पक्षी हो । सन् १९७३ मा आइभरीकोस्टमा ३७ हजार फिटको उचाइमा गिद्ध उडेको रेकर्ड छ । गिद्ध सगरमाथाको उचाइभन्दा माथि उड्न सक्छ । असाधारण वातावरणमा पनि गिद्ध बाँच्न सक्छ ।
उसले धेरै क्षेत्रमा एकैसाथ आहाराको खोजीका लागि उचाइको उडान तय गर्ने गरेको चराविद्हरूले बताएका छन् ।
मांसाहारी जीवले जम्मा ३६ प्रतिशत मात्र सडेगलेका मासु र कंकाल खान्छन् । तर, त्यो भन्दा धेरै गिद्धले सडेगलेका मासु र कंकाल खाएर वातावरणलाई प्रदूषणमुक्त गर्न मद्दत गर्छ ।
त्यतिमात्र होइन, महामारी फैलाउन सहयोग गर्ने जंगली कुकुर र स्याललाई रोक्ने काम पनि गर्छ ।
विश्वको परिपे्रक्ष्यमा हेर्दा २३ प्रजातिका गिद्धहरू पाइन्छन् । जसमा दक्षिण एशियामा पाइने ९ प्रजातिकामध्ये नेपालमै ९ प्रजातिका गिद्ध पाइन्छन्।
हाडफोर, हिमाली, सुन, सेतो, खैरो, राज, गंगर, सानो खैरो र लामोठुँडे प्रजातिका गिद्ध नेपालमा पाइन्छन् । नेपालमा हालै गरिएको राष्ट्रिय गिद्ध सर्वेक्षण अनुसार वर्षेनी १४ प्रतिशतले गिद्धको संख्या घट्दै गइरहेको छ ।
गिद्ध संरक्षणको पहल
चितवनमा गिद्ध प्रजनन् केन्द्र स्थापित गरिएको छ । नेपाल पक्षी संघ, प्राकृतिक संरक्षण कोष, चिनारीको प्राविधिक पक्ष र दातृ निकायको सहयोगमा केन्द्र स्थापित गरिएको हो । दुर्लभ भएको गिद्धरक्षाका लागि विसं २०६५ सालमा गिद्ध प्रजनन् केन्द्रको स्थापना गरिएको छ ।
सन् २००८ मा १४ वटा डंगर गिद्ध कास्कीको हेम्जाबाट ल्याइएको थियो । दोस्रो चरणमा रूपन्देही, कपिलवस्तु र दाङबाट ३० तथा तेस्रो चरणमा २० वटा गिद्धको बच्चा पालिएको छ । हाल यो प्रजनन् केन्द्रमा ५७ वटा गिद्ध रहेका छन् ।