खेलकुदशनिबार, २१ आषाढ , २०७६

अवार्डले उत्साह

निरञ्जन राजवंशी

पुरस्कार र सम्मानले खेल मैदानमा सफलताका लागि ऊर्जा दिने गरेको खेलाडीहरूको अनुभव छ । 

“पारस खड्का जस्ता सिनियर खेलाडी र सोमपाल जतिको चर्चित खेलाडी छेउमै भएकाले अवार्ड जित्छु भन्ने लागेकै थिएन । जब विजेतामा मेरो नाम घोषणा भयो, गल्तीवश नाम लिएको हो कि भनेर शुरुमा त विश्वास नै भएन” १७ असारमा पल्सर स्पोर्टस् अवार्डमा वर्ष पुरुष खेलाडीको पुरस्कार जितेपछि प्याराग्लाइडिङका युकेश गुरुङ खुशी सम्हाल्न सकिरहेका थिएनन् । विजेता अन्य खेलाडीको भाव पनि गुरुङकै जस्तो विस्मयकारी थियो ।

गत वर्ष एशियाली खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ पुरुष क्रसकन्ट्री टोलीले रजत पदक जित्नु नेपाली खेलकुदको ठूलो सफलता थियो। । त्यही सफलताका कारण प्याराग्लाइडिङले यस पटक वर्ष पुरुष खेलाडीका साथै उत्कृष्ट प्रशिक्षकमा योगेश भट्टराई र वर्षको उत्कृष्ट टीमको अवार्ड जित्यो ।

उत्कृष्ट महिला खेलाडीको पुरस्कार जितेपछि फूटबलकी सावित्रा भण्डारीले खेलाडीमा बढेको हौसला कविता मार्फत व्यक्त गरेकी थिइन् । यस्तै, उत्कृष्ट युवा खेलाडीको पुरस्कार जितेपछि एथलेटिक्स खेलाडी अजितकुमार यादवले भने, “यो मेरो जीवनको उत्कृष्ट क्षण हो ।”

पल्सर स्पोर्टस् अवार्ड नेपाली खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा अघिल्लो वर्ष पाएको सफलतालाई आधार मान्दै दिइन्छ । गत वर्ष प्याराग्लाइडिङ बाहेक क्रिकेट र फूटबलले केही ठूला सफलता आत्मसात् गरेका थिए । अवार्डको यसअघिका संस्करणमा एथलेटिक्स, ब्याडमिन्टन, शारीरिक सुगठन, जुडो, गल्फ, कराते, तेक्वान्दो जस्ता खेलहरूबाट पनि खेलाडी सम्मानित भएका थिए । 

अवार्डको इतिहास
२०६० सालदेखि खेलाडीहरूलाई पुरस्कृत गर्न थालिएको स्पोर्टस् अवार्डको १६औं संस्करणसम्म आइपुग्दा पुरस्कारको विधा १० वटामा विस्तार भएको छ । जसमा उत्कृष्ट खेलाडी, चर्चित खेलाडी, युवा प्रशिक्षक, अपांगता भएका खेलाडी, आजीवन खेलकुदमा लाग्ने भेट्रान खेलाडी, विशेष योगदान दिएका खेलाडीदेखि संघसंस्था र क्लबहरूसम्म समेटिएका छन् ।

तेक्वान्दोका स्टार खेलाडीद्वय संगीना वैद्य र दीपक विष्टले स्पोर्टस् अवार्ड दुई पटक जितिसकेका छन् । क्रिकेट कप्तान पारस खड्का स्पोर्टस् अवार्डमा चार पटक पुरस्कृत हुने अहिलेसम्मका एक मात्र खेलाडी हुन् ।

खेलकुद पत्रकारहरूको संस्था नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्दै आएको अवार्ड अन्तर्गत हरेक वर्ष मनोनयनमा परेका र विजेता गरी झन्डै ३० जना पुरस्कृत हुन्छन् । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी भन्छन्, “निजी सामाजिक संस्था भएर पनि अवार्डलाई निरन्तरता दिंदै खेलाडीमा ऊर्जा थपिरहेका छौं, यसलाई हामी ठूलो विषय ठान्छौं ।”

अवार्डमा पुरस्कार राशिको आकार पनि आकर्षक छ । उत्कृष्ट पुरुष र महिला खेलाडीले पल्सर मोटरसाइकल सहित युरोप भ्रमणको हवाई टिकट प्राप्त गर्छन् भने उत्कृष्ट प्रशिक्षक र चर्चित खेलाडीलाई पनि मोटरसाइकल दिइन्छ । अन्य विधाका विजेताले नगद रु.५० हजार पाउँछन् । एनएसजेएफका कोषाध्यक्ष अञ्जन खड्का भन्छन्, “अन्य थुप्रै उपहार सहित हामी सबै विजेताहरूलाई गरी कम्तीमा रु.२५ लाखको पुरस्कार बाँड्छौं ।”

२०६० र ६१ सालकी उत्कृष्ट महिला खेलाडीको पुरस्कार जितेकी तेक्वान्दो खेलाडी संगीना वैद्य आफ्नो पालामा भर्खरै अवार्ड शुरू हुँदा थोरै नगद राशि (रु.५ हजार) को व्यवस्था भए पनि त्यो पाउँदा धेरै गर्व लागेको अनुभूति सुनाउँछिन् । “अहिले त खेलाडीहरूले मोटरसाइकल नै पाउन थालेका छन्, यस्तो हौसला खेलाडीका लागि ठूलो विषय हो”, उनी भन्छिन् । 

फराकिलो दायरा
सरकारले आयोजना गर्नुपर्ने राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने अवार्ड खेल पत्रकारहरूले गरेको भन्दै आश्चर्य व्यक्त गर्नेहरू पनि थुप्रै छन् । तर आयोजकको रुपमा अघि बढिरहेको खेलकुद पत्रकार मञ्चका अधिकारीहरू आयोजक बन्न पाएकोमा गर्व महसूस गर्छन् ।

मञ्चका अध्यक्ष सुवेदी भन्छन्, “खेलकुद पत्रकारहरूले खेलाडीलाई पुरस्कृत गर्ने विश्वव्यापी प्रचलनलाई हामीले पछ्याएका हौं । यसमा सरकारदेखि प्रायोजकको साथ हाम्रो लागि महत्वपूर्ण छ ।”

मुलुकभित्र खेलाडीहरू पुरस्कृत हुने क्रम विगतको दाँजोमा बढ्दो छ । अन्तर्राष्ट्रिय रुपमा पाएको सफलतासँगै कतिपय खेलका खेलाडीहरू सरकारबाट सम्मानित हुन थालेका छन् । घरेलु प्रतियोगिताकै विजेता खेलाडीहरूका लागि मोटरसाइकल पुरस्कार सामान्य जस्तै बन्न थालेको छ।

फूटबल जस्ता संघले खेलाडी पुरस्कृत गर्न थालेको धेरै वर्ष भइसक्यो । भेट्रान म्याराथन धावक बैकुण्ठ मानन्धर भन्छन्, “खेलाडीलाई प्रेरित गर्न यस्ता पुरस्कार र अवार्डलाई निरन्तरता दिनु आवश्यक छ ।”

प्रतिकृया दिनुहोस