दस्तावेजशुक्रबार, १३ आषाढ , २०७६

नेपाल–भोट युद्ध : केरुङमा नून र अन्नको सञ्चय

ज्ञानमणि नेपाल

जर्नेल कृष्णबहादुर कुँवर राणाको निर्देश अनुसार केरुङमा रहेका जमदार अ‍ैमानसिंह खत्रीले युद्धका लागि नून र अनाजको व्यवस्थापन गरिरहेका थिए।

भोटसँग युद्धको तयारी स्वरूप विभिन्न नाकामा रसदपानी र खरखजाना व्यवस्थापन र भण्डारणमा जोड दिइएको थियो । आवश्यक पर्ने अन्न देशमै पुग्दो भए पनि नून भोटबाट ल्याउनुपर्थ्याे । जर्नेल कृष्णबहादुर कुँवर राणाले केरुङमा रहेका जमदार अ‍ैमानसिंह खत्रीलाई चिठी पठाएर युद्ध प्रयोजनका लागि तीन हजार पल्टनलाई एक वर्ष पुग्ने नून भोटबाट खरीद गर्न निर्देश गरेका थिए । 

यस्तै, अहिलेसम्म खरीद गरेको अन्नको भाउ लेखेर पठाउन पनि भनिएको थियो । भोट जाने चिठीमा जर्नेल कृष्णबहादुरको छाप नलगाई नपठाउन सजग पार्दै छाप जाँचेर मात्र चिठी गन्तव्यमा हिंडाउन कुतीका थकालीलाई पनि सूचित गरिएको थियो । 

अ‍ैमानसिंहले झरि परेपछि बाटो बिग्रेका कारण भोटबाट नून कम आउँदा महँगिएको, रु.१ को साढे १४ माना मात्र आउने उल्लेख गर्दै त्यो पनि खरीद गरिरहेको लेखेका थिए । उनले तिहारसम्ममा रु.१ मा १५/१६ मानाको भाउ होला भन्ने उल्लेख गरेका थिए ।

यस्तै, मकै किन्न रु.२५/२६ सय आफूले भदौमै दिइसकेको र रु.१ को १८ पाथीका दरले किनिसकेको अ‍ैमानले जर्नेल कृष्णबहादुरसामु जाहेर गरेका थिए ।

प्रतिकात्मक चित्रकला । स्राेत : इम्गुर डटकम

धान र कोदोको बाली भित्र्याउने समय आएपछि त्यो पनि लिएर कुटानी–पिसानी गरेर राख्ने जानकारी गराएका थिए । फलेको चामल रु.१ को ४ पाथी २ माना, एकसरो फलेको चामल ४ पाथी ६ माना, नफलेको ५ पाथी आउने विवरण उनले खुलाएका थिए । आरावाल र सिपाहीलाई यही चामल खुवाउँदै गरेको पनि उनले लेखेका थिए । 

अ‍ैमानले भोट लैजाने बारुद प्याङ्, सिसा, भेडा, चौंरीको विवरण लेखेको कागज पठाइदिएका थिए । उनले झुगा ब्यासीदेखि खरान्या पोखरीसम्म बाटो बनाएर फेरि दोहोर्‍याउने योजना बनाएका थिए । मूल बाटोमा पर्ने अक्करमा ढुंगा काट्ने आग्री चाहिएको, हिउँले बिगारेको बाटो बढाउँदै गरेको बारे उल्लेख गर्दै उनले एउटा साँघु पनि बनाउनुपर्ने सूचित गरेका थिए । आफूकहाँ काम गर्नलाई केही योग्य मान्छे राखेर उनले बाँकीलाई पठाइदिएका थिए ।

उता डोटीको सिलगढीबाट कर्णेल कृष्णध्वज कुँवर पनि ८०१ नाल बन्दूक र तोप, यिनलाई चाहिने बारुद, गोलीगट्ठा गिराफ लगायतका खरखजाना र संचित फौज लिएर दशैंपछि पूर्णिमाको साइतमा हुम्लातिर प्रस्थान गरे । सैनिक बस्ने छाउनी, रसद राख्ने गोदामघर तयार पार्न लगाउन कप्तान बर्फानसिंह बस्नेत पनि हुम्ला गए ।

त्यसबेला पश्चिममा रहेका राजा–रजौटाहरूले पनि कर्णेल कृष्णध्वजसँग हामीले पनि भोट हमलामा सघाउनुपर्ने हो कि भनेर सोधेका रहेछन् । तीमध्ये कुनै ठूला र कुनै साना राजा थिए । यिनीहरूलाई हुम्ला बोलाउने कि नबोलाउने भन्नेबारे प्रधानमन्त्रीबाट आदेश आए अनुसार काम गर्ने व्यहोरा कर्णेलले चिठीमा लेखेका थिए ।

श्रीमद्राज कुमारकुमारात्मज श्रीकम्यांडर इनचिफ जनरल कृष्णबहादुर कुँवर राणाजीबाट जमदार अ‍ैमानसिंह खतृलाई लेखिगयाको

तीन हजार फौजलाई १ वर्ष पुग्न्या गरि नून खरिद गर्नु. तैले खरिद गर्‍याको अनाजको भाउ लेख्नु. भोट जान्या चिठीमा श्री जनरल काहिला भाई कृष्णबहादुरका सामु छाप लगाई आयाका हिडाउनु विच उसै नहिडाउनु. बारुद हाल्याको प्याङ पठाइदिनु भन्या मर्जि सिरचह्राई नून खरिदका अर्थलाई अस्ति ५७ दिन झरि हुँदा झोसांको माथिको पाखा पैरो गैई साँघु भात्क्यो आजकल भाउ अलि घटिरहेछ. १४ ।।

माना भैरहेछ. तिहारलाई १५ । १६ माना जाहाँ सम्मको होला खरिद गरौंला. हाल १४ ।। मानामा खरिद गर्न लाया नञा अन्न मकै मैले भदौमा रुपैयाँ दियाको मेहर रुपैयाँ १ को भाउपाथि १८ का दरले २५ । २६ सयेको खरिद गर्‍याको छ. चावलको भाउ वेस फलुवा पाथि ।४ ।२ माझ् सरुवा ४ ।६ सरुवा १५ मा खरिद गरि बोसि र सिपाहिलाई खुवायाको छ. मकै लिदैछु कोदो र धानको बेला हुन लाग्यो लिंदै पिसाउन्या पिसाई कुटाउन्या कुटाई थन्क्याई राखन्या काम गरौंला. भोट जाने चिठी श्रीजनरल साहेबका छाप सहि जाँचि कुतिकौथकाली जसमानका नाउमा चिठी लेखी जौन जौन जग्गामा जाने हो ताहाबाट रवाना गरि हिडाइदे भनि पठायाको छ. अब उप्रांत पनि छापसहि जाँचि पठाउन्या काम गरौंला.

भोट लैजान ल्यायाको बारुद प्याङ् १ सिसा धार्नि ३ को डल्ला १ र भोट जान्या चिठी चौरी भेडा जाँचको कागजस्मेत चह्राई पठायाको छ दाखिल भयो. झुगा ब्यासीदेखि खरान्या पोखरिसम्म बाटो बनाई सक्या दोहोर्‍याउन बाँकी छ. पछि दोहोर्‍याउने काम गरौंला. अघि ल्लाया मुलबाटोमा बिसिखारको चिपिखारको अकार २ ।३ ढुंग्या जग्गालाई चाहिन्या छ भनि विंतिगरि पठायाको हो नञाबाटोलाई र भरिसक्य वनाई आयापछि हिउँले केहि विगार्‍या बनाउन्यै छु. अ‍ैलेको हकलाई भन्या बढिया भयाको छ. वल्माफिक मात्र साँघु १ वनाउनु पर्न्याछ . साँघु पनि बनाउन लाउछु. औ हवल्दार अम्बरवीर भंडारिलाई पठाईदिनु भनि मर्जि आयाको सिर चह्राई पठाउन्या काम गर्दैछु. मान्क्षे बेसका विलका छन् ति १ जना सिपाहि २ जना थाम भनि मर्जि भया थाम्छु. जो मर्जि. अरु सिपाहि पठायाको छ दाखिल होला.

११ साल मिति अश्वीन सुदि १३ रोज ४ शुभम्.

तस्तै बखतमा श्रीप्राईम मिनिष्टरका हजुरमा श्रीकर्णाैल कृष्णध्वजकुवर राणाजी बाट उप्रांत मर्जि आयाबमोजिम ८०१ नाललाई बन्दूक पिछेजनहि गोली समेतका गठा १५ ।१५ पत्थर ९ ।९ का दरले तोप २ लाइ २ । २ सये गोला ४ ।४ सये गिराफ सहित गैह्र खजाना तयार गराई अश्वीन सुदि १५ रोज ६ का दिनको सायेत गरि हुमला तरफ कुच गर्‍या.

१९११ साल मिति आश्वीन सुदि १५ रोज ६ मुकाम डोटी सिलगढी शुभम्. कोत छाउनी रसद घर गैह्रको तैयारी ताकितिलाई आजैका मितिमा डोटीबाट कपतान वर्फानसिं इन्या हुमला जानलाई कुचंगया शुभम्.

श्रीमद्राराजकुमार कुमारात्मज श्रीकम्यांडर इनचिफ जनरल कृष्ण बहादुर कुवर राणाजी श्री कम्यांडर कर्णाैल बखतजंग कुवर राणाजीका नाउमा कर्णौल कृष्णध्वज कुवर राणाजीले चह्राई पठायाको

उप्रांत श्रीप्राइम्मिनिष्टर दाज्यैज्यूका मर्जि भैआयाबमोजिम ८०१ नाललाई बन्दूकपिछे गोली समेतका गठ्ठा १५ ।१५ पत्थर ९ ।९ का दरले तोप २ लाई जनहि २ ।२ सये गोला ४ ।४ सये गिराफ सहित चाहिन्या जङ्गी खजाना तरतयार गरि गराई अश्वीन सुदि १५ रोज ६ का दिनको सायेत गरि हुमला तरफ कूच गर्‍या. ताहा पुगेपछि चाहिन्या कुराको विनिति चह्राई पठाउन्या काम गरुला. औ दसतर्फका राजा रजौटाहरू हामीले पनि जांनु पन्र्या हो कि भनि लेखि पठाउँछौं. श्री प्राइममिनिष्टर दाज्यैज्यूबाट र यस कुराको वेहोरा मलाई केहि लेखिआयाको छैन. राजा रजौटामा केही धेर खान्याछन् केही थोर खान्याछन्. इनलाई हुमला झ्किाउँन्या हो की ? कसो गन्र्या हो ? येस कुराको मेहेर भया उसैमाफिकको काम गर्दा हुँ.

१९११ साल मिति कात्र्तिक बदि १ रोज २ मुकाम डोटी सिलगढि शुभम्. 

प्रतिकृया दिनुहोस