समाचारबिहिबार, १२ आषाढ , २०७६

चीनको सीमामा तत्काल सशस्त्र प्रहरी पोष्ट राख्न कठिन

कमल रिमाल

प्रदेश १ सँग जोडिने नेपाल–चीनका दुईवटा नाकामा सशस्त्र प्रहरी बलको सुरक्षा पोष्ट तत्काल राख्न कठिन देखिएको छ ।

सशस्त्र प्रहरी प्रमुख नायब महानिरीक्षक मन्दीप श्रेष्ठ

चीनसँगको सिमानामा जडिबुटी र दुर्लभ वन्यजन्तुको तस्करी हुने गरेको पाइएपछि सशस्त्र प्रहरीको टोली परिचालन गर्ने तयारी गरिएको थियो ।

प्रदेश १ का मुख्यमन्त्री सहित सुरक्षा निकायका प्रदेश प्रमुखहरूले ताप्लेजुङको ओलङ्चुङगोला र संखुवासभाको किमाथाङ्कामा सशस्त्र प्रहरी राख्ने सम्भावित ठाउँको हेलिकप्टरबाट निरीक्षण गरिसकेका छन् ।

प्रदेशका सशस्त्र प्रहरी प्रमुख नायब महानिरीक्षक मन्दीप श्रेष्ठले सडक सञ्जाल नजोडिईकन सुरक्षा पोष्ट राख्न कठिन भएको बताए । “बाटो जोडिएपछि जनशक्ति र आवश्यक सामग्री लैजान सकिन्छ”, डीआईजी श्रेष्ठले भने–“सबै कुरा हेलिकप्टरबाट ओसार्नु असहज देखिन्छ । ।”

ओलङ्चुङगोलामा नेपाल प्रहरीको चौकी भएपनि हिउँ पर्ने भएकाले वर्षमा ६ महिना मात्रै नाकामा सुरक्षाकर्मी बस्ने गर्छन् ।

चीनसँग सीमा जोडिएको ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु तीन जिल्लाको २ सय २४ किलोमिटर क्षेत्र नेपाल, चीन सिमानामा सशस्त्र प्रहरीका पोष्ट छैनन् ।

ओलङ्चुङगोला र किमाथाङ्का नाकाबाट नेपालका बहुमूल्य वस्तुहरू तस्करी भएर चीनतर्फ जाने गरेको जानकारी आएपनि सुरक्षाकर्मी परिचालन गर्न सडक बाधक भएको उनले बताए ।

किमाथाङ्का नाकासम्म सडकको ट्र्याक पुग्न लागेपनि ओलङ्चुङगोला सडक पुग्न अझै केही वर्ष लाग्ने बताइन्छ । सशस्त्रको बाहिनी मुख्यालय सुनसरीका अनुसार, प्रदेश १ मा भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरीका २४ वटा बोर्डर आउट पोष्टहरू छन् ।

यस्तै झापामा ८, मोरङमा ४, इलाममा ३, पाँचथरमा २ र ताप्लेजुङ र संखुवासभामा १, १ पोष्ट स्थापना गर्न प्रहरी प्रधान कार्यालयलाई आग्रह गरिसकेको डीआईजी श्रेष्ठले बताए ।



प्रतिकृया दिनुहोस