कला/साहित्यशनिबार, ७ आषाढ , २०७६

के सिकाउने, कसरी सिकाउने ?

पुस्तक: सिकाउने शैली

हिमालखबर

सरकारी विद्यालय सुधारको टड्कारो आवश्यकता रहेको बेला शिक्षा सचिव खगराज बरालले पुस्तक मार्फत देशको शिक्षा प्रणालीबारे छलफल गर्ने अवसर जुटाइदिएका छन् ।  

शान्ता दीक्षित 

शिक्षा क्षेत्रमा नीतिगत परिवर्तन बेलाबेला नभएको होइन । तर पनि पाठ्यक्रम, शिक्षण विधि, मूल्यांकन प्रणाली र समग्रमा विद्यार्थीको सिकाइमा उल्लेख्य बदलाव आएको छैन । सरकारी विद्यालयको शैक्षिक परिपाटी र स्तर यसै कारण चर्चा एवं चिन्ताको विषय बनिरहन्छ ।

सरकारी शिक्षा संरचनाको यही दयनीय स्थिति शिक्षा सचिव खगराज बरालले पुस्तक सिकाउने शैली मा अनुभवजन्य चिन्तन मार्फत प्रस्तुत गरेका छन्। पुस्तकमा विद्यालय शिक्षाको अवस्था, सिकाइका चुनौती, शिक्षा नीति र त्यसको व्यवस्थापनमा देखिएका समस्याबारे चर्चा गर्दै शिक्षण पद्धतिमा सुधारको खाँचो औंल्याइएको छ।

३१ वटा लेखोट समेटिएको पुस्तकमा बरालले बाल्यकालमा परिवार र विद्यालयमा खेप्नुपरेको सास्तीका प्रसंगदेखि पेशागत जीवनका अनुभव समेटेका छन् । शिक्षक, विद्यालय निरीक्षक, शिक्षा विभागका महानिर्देशक र शिक्षा मन्त्रालयका विभिन्न ओहोदामा रहेर काम गर्दाको अनुभव मार्फत लेखकले विद्यालय शिक्षा सुधारको अपरिहार्यताको बहसलाई महत्वपूर्ण खुराक दिएका छन् । 

तस्वीरः नेपाली टाइम्स

लेखकले आफूले विद्यालय शिक्षामा भोग्नुपरेका समस्याबाट पुस्तकको थालनी गरेका छन् । विडम्बना के भने, ती समस्या आज उनी शिक्षा सचिव हुँदासम्म पनि कायमै छन् । उनले पुस्तकमा उठाएका विभिन्न विषयलाई केन्द्रमा राखेर चार वटा पाटोबारे यहाँ चर्चा गरिंदैछ ।

बाल मनोविज्ञान
विद्यालय जानु अगावै अक्षर चिनेका खगराजलाई प्रधानाध्यापक पिताले आफूले पढाउने विद्यालयमा एकैचोटि कक्षा २ मा भर्ना गराए । विद्यालयमा कक्षा ३ सम्म मात्र पढाइ हुने भएकाले त्यसभन्दा माथि पढ्न उनले ४५ मिनेट दूरीको अर्को विद्यालय जानुपर्थ्याे । बुवा–आमाले डर देखाउँथे, “तिमीलाई अर्को विद्यालयमा त केटाहरूले पिट्छन् नि !”

नभन्दै अर्को विद्यालयमा उनले अनुमान गरेभन्दा पनि नराम्रो भोगे । सहपाठीमध्येकै होचा उनलाई कक्षाकोठामा अघिल्लो लहरमा नराखिए पनि पिटी खेल्ने बेला भने अगाडि राखिन्थ्यो, व्यायाम गर्दा भूल गरे सजाय पाउँथे । जहिल्यै शारीरिक र मानसिक यातना भोग्नुपर्दा उनी एक्लो र दुःखी महसूस गर्थे । त्यस्तो बेला घरबाट पनि ढाडस र सान्त्वनाको साटो बाल मनोविज्ञान विपरीतका व्यवहार खेपे । आज पनि कैयौं बालबालिकाले यस्तो मनोदशा भोगिरहेका छन् ।

तालिम नलिएका वा प्रभावकारी शिक्षण विधि नजानेका शिक्षक विद्यार्थीका स–साना गल्तीमा पनि सजाय दिन कस्सिइहाल्छन् । अर्कातिर, साथी–साथीबीच होच्याउने–सताउने–थर्काउने क्रियाकलाप (बुलिइङ) ले पनि बाल मनोभावनामा गहिरो असर पार्छ । बुलिइङबाट पीडित बालबालिकामा हीन भावनाका कारण विद्यालय जानु नपरोस् भन्ने भावना बढ्छ । त्यसैले उनीहरूलाई साथ–सहयोग चाहिन्छ ।

त्यस्तै, अरूमाथि दुव्र्यवहार गर्ने ‘बुली’ लाई पनि मद्दत चाहिन्छ, किनकि त्यस्तो व्यवहारको पछाडि पनि कारण हुन्छ । पीडक र पीडित दुवै एक्लोपनको शिकार हुने, चिन्तामा डुब्ने र आत्महत्याको विचार समेत गर्न सक्छन् ।

विद्यालय शिक्षा हेर्ने प्रशासकहरूले बाल मनोविज्ञानको मर्म, बुलिइङको दुष्प्रभाव बुझ्नुपर्छ । दण्ड–सजायबारे अभिभावकसँगै शिक्षक, विद्यालय प्रशासक सबै पक्ष सचेत रहनुपर्छ । शिक्षा सचिव बराल स्वयंले यस्ता दुष्प्रभावको सामना गरेका कारण पनि उनको कार्यकालमा विद्यालय शिक्षामा बाल मनोविज्ञान विषयमा विशेष ध्यान दिइने अपेक्षा गर्न सकिन्छ ।

शिक्षण अभ्यास
लेखक बरालले शिक्षक आफ्नो कामप्रति गैरजिम्मेवार हुँदा पठनपाठनमा असर परेको विभिन्न उदाहरण दिएका छन् । शिक्षकले पाठ्यक्रममा उल्लिखित सबै कुरा नपढाउने, सरसर्ती व्याख्या गरेर पाठ छिटो सक्न जोड दिने, बुझाउने भन्दा पनि घोकाउने आदि प्रवृत्ति दयनीय शिक्षण अभ्यासका दृष्टान्त हुन् ।

शिक्षण पेशाको मर्म नबुझेका यस्ता शिक्षकले आफू विद्यार्थी छँदा जसरी घोकेर सिकेका थिए, त्यही शैली अपनाउँछन् । बरालको अनुभवमा सिकाउने र बुझाउने भन्दा पनि परीक्षामा सोधिने सम्भावित प्रश्नका उत्तर घोक्न जोड दिइन्छ । एउटा उदाहरणीय कक्षाबारे लेखक बयान गर्छन्ः “जहाँ विद्यार्थी शिक्षकले बुझाइरहेका कुरा ध्यानपूर्वक सुनिरहेका हुन्छन्, शिक्षक र विद्यार्थीबीच छलफल भइरहेको हुन्छ ।” तर, व्यावहारिक रूपमा यस्तो उदाहरण कमै पाइन्छ । कतिसम्म भने, प्रयोगात्मक विधिबाट सिकाउनुपर्ने विषय पनि एकोहोरो व्याख्याबाट पढाउने शैली आज पनि छँदैछ ।

बालबालिकाको सूक्ष्म मांसपेशीको विकासक्रम पूर्व प्राथमिक तहमा पढ्ने बेलादेखि नै हुन्छ । यदि उनीहरूलाई कैंची चलाउन, रङ भर्न, कागज टाँस्न, पीठो मुछ्न, ढुङ्गा, माटो र बालुवासँग खेल्न दिए यी सूक्ष्म मांसपेशीको कुशल परिचालनमा टेवा दिन्छ, फलस्वरुप उनीहरू कुशलतापूर्वक कार्यसम्पादन गर्न सक्षम हुन्छन् ।

बालबालिकाको सूक्ष्म मांसपेशीको विकासक्रम पूर्व प्राथमिक तहमा पढ्ने बेलादेखि नै हुन्छ । यदि उनीहरूलाई कैंची चलाउन, रङ भर्न, कागज टाँस्न, पीठो मुछ्न, ढुङ्गा, माटो र बालुवासँग खेल्न दिए यी सूक्ष्म मांसपेशीको कुशल परिचालनमा टेवा दिन्छ, फलस्वरुप उनीहरू कुशलतापूर्वक कार्यसम्पादन गर्न सक्षम हुन्छन् ।

तर, आधुनिक चालचलन पसेका घरमा बालबालिकाले यस्ता अभ्यास गर्न पाउँदैनन्, न त विद्यालयमै गराइन्छ ।

बालबालिकाको सामाजिक, भावनात्मक, शारीरिक, बौद्धिक र भाषिक क्षमताको विकास हुने शिक्षण पद्धतिको थालनी गर्नैपर्छ । निरन्तर मूल्यांकन गर्दा कुनै निश्चित पाठ घोकेर परीक्षामा लेख्न सक्छ/सक्दैन भन्दा पनि विद्यार्थीको समग्र सीप क्रमिक रूपले विकास भए/नभएको हेर्ने परिपाटी बसाल्नुपर्ने मान्यता शिक्षा सचिवको छ ।

शैक्षिक तालिम र त्रुटि
कुनै बेला बझाङमा प्राथमिक शिक्षक तालिम कार्यक्रमका प्रशिक्षक रहेका लेखकको स्मृति अनुसार शिक्षकहरूको ध्याउन्न तालिममा भन्दा भत्तामा हुन्थ्यो । तालिममा ढिलो आउने, छिटो जाने, बीचबीचमा तालिम कक्षा छुटाउने प्रवृत्ति थियो ।

सरकारी निकायले संचालन गर्ने तालिममा भत्ताको आश गर्ने अनौठो संस्कृति मुलुकभर झाँगिएको छ । प्रशिक्षित हुन पाउने अवसरका लागि शुल्क तिर्नुपर्नेमा शिक्षकहरूलाई उल्टै भत्ता दिइँदा तालिमको महङ्खव घट्न गएको छ ।

लेखकका अनुसार विदेशी दाताबाट प्राप्त अनुदानका कारण भत्ताको चलन शुरु भयो । केही दशकको अभ्यासले भत्ता ‘मान्यता’ कै रूपमा स्थापित गरिदियो ।

शिक्षकले तालिममा सिके पनि नसिके पनि, नियमित हाजिर भए पनि नभए पनि प्रमाणपत्र सुनिश्चित हुन्छ । यद्यपि तालिमलाई क्षमता तिखार्ने रूपमा उपयोग गर्ने अपवाद भने नभएका होइनन् । शैक्षिक तालिमको संरचनामा त्रुटिका कारण देशको शिक्षा प्रणाली खजमजिएको पक्ष पुस्तकले बुझ्न सघाउँछ । 

जो आमाबुवाले आफ्ना नानीहरूसँग विचार पुर्‍याएर संवाद गर्छन्, उसका प्रश्नको जवाफ दिन्छन्, बोल्दै खेल्छन्, तिनका बच्चाहरू तीन वर्षको उमेरमै जटिल वाक्यमा राम्ररी कुरा गर्न सक्षम हुन्छन् । जुन बच्चाले आफ्ना आमाबुवासँग मातृभाषामा कुरा गर्छन्, उनीहरू पूर्व–प्राथमिक कक्षामै धेरै कुरा सिक्न तयार भइसकेका हुन्छन् ।

सरकारले अब दीर्घकालीन तालिम प्रभावकारी नहुने निष्कर्षमा पुग्दै यस्तो तालिम संचालन नगर्ने नीति बनाएको छ । तर प्रश्न उठ्छ, दीर्घकालीन तालिमको अप्रभावकारिता तालिमको समय अवधि हो या गुणस्तर, शिक्षण अभ्यास, शिक्षकहरूको इच्छाशक्ति र मनस्थिति ?

अङ्ग्रेजी भाषा
आजका अधिकांश अभिभावक बच्चाले अङ्ग्रेजी भाषा सिकोस् भन्ने चाहन्छन् । यही मनस्थिति बुझेर निजी विद्यालय बग्रेल्ती खुलेका छन् । लेखक बराल पनि अङ्ग्रेजी भाषा सबै बालबालिकाले सिक्न पाउनुपर्छ भन्ने विचार राख्छन् ।

भूमण्डलीकरणको युगमा अङ्ग्रेजी भाषा सिक्ने सबैको चाहना भएका कारण सरकारी विद्यालयमा यसलाई माध्यम–भाषा बनाउनुपर्ने लेखकको मान्यता छ । तर, कुन उमेरदेखि अङ्ग्रेजी सिकाउने भन्ने चाहिं पुस्तकमा उल्लेख छैन । भाषा बालबालिकाको मस्तिष्क विकाससँग सम्बन्धित संवेदनशील विषय भएकाले यसमा गम्भीर छलफलको खाँचो छ । 

बच्चाको पहिलो पाँच वर्षमा भाषागत विकास तीव्र गतिमा हुन्छ । यस अवसरको सदुपयोग गर्न पूर्व प्राथमिक कक्षामा बालबालिकासँग घुलमिल हुने धैर्यवान् शिक्षक चाहिन्छ । उनीहरूलाई बोल्न, सुन्न, प्रश्न गर्न र आफ्ना कुरा भन्न प्रोत्साहित गर्ने हो भने उनीहरूको भाषाको विकास तीव्र हुन्छ र यसले अरू कुरा सिक्न सहजीकरण गर्छ ।

यही कारण नै बालबालिका विकास अध्येताहरू कक्षा ३ सम्म मातृभाषामा सिकाइ हुनुपर्नेमा जोड दिन्छन् । त्यसपछि मात्र अर्को दोस्रो भाषा वा अहिलेको सन्दर्भ अनुसार अङ्ग्रेजी भाषा सिकाउनुपर्छ । त्यसका लागि अङ्ग्रेजीमा दखल भएको शिक्षक अनिवार्य शर्त हो ।

जो आमाबुवाले आफ्ना नानीहरूसँग विचार पुर्‍याएर संवाद गर्छन्, उसका प्रश्नको जवाफ दिन्छन्, बोल्दै खेल्छन्, तिनका बच्चाहरू तीन वर्षको उमेरमै जटिल वाक्यमा राम्ररी कुरा गर्न सक्षम हुन्छन्। जुन बच्चाले आफ्ना आमाबुवासँग मातृभाषामा कुरा गर्छन्, उनीहरू पूर्व–प्राथमिक कक्षामै धेरै कुरा सिक्न तयार भइसकेका हुन्छन् । 

त्यसैले बच्चाको भाषिक विकासका लागि पूर्व–प्राथमिक कक्षामै कक्षा बैठकमा सहभागी हुन दिने, किताबहरू पढिदिने, आफ्ना कुरा भन्न दिने, अरूका कुरा सुन्न सिकाउने, गीत गाउन लगाउने जस्ता कार्य गर्नुपर्छ । बालबालिकाको भाषिक विकासका लागि सरकारी निकायबाट अभिभावकलाई आवश्यक तालिम दिएर बच्चासँग नजिकिएर कुराकानी गर्न र कथा सुनाउन प्रेरित गर्नुपर्छ ।

मातृभाषा विकास भएका बालबालिका पूर्व–प्राथमिक कक्षामा आउँदा त्यही भाषामा बोल्ने र पढाउने शिक्षक चाहिन्छ । घरमा पनि बच्चासँग मातृभाषामा कुराकानी गरेर उनीहरूको मस्तिष्क विकासको वातावरण निर्माण गर्नु जरुरी छ । कैयौं भाषा लोप हुँदै गएको हाम्रो तीतो यथार्थ सामु हरेक भाषिक समुदायलाई मातृभाषामै सिक्ने–सिकाउने सामग्री सुनिश्चित गरिनुपर्छ ।

त्यस्तो गर्न असम्भव भए सबैजसो प्रदेशमा कक्षा ३ सम्म राम्रोसँग नेपाली सिकाउने सामग्री त हुनैपर्छ । कक्षा ४ बाट अङ्ग्रेजी भाषा सिकाउँदा विज्ञान र गणित विषय पनि अङ्ग्रेजीमा अध्यापन गराउँदा राम्रो हुन्छ । यसो गर्दा विद्यार्थीमा मातृभाषा नेपालीको सीप प्रगाढ रूपले विकास हुन्छ । त्यसपछि त्यो क्षमता प्रयोग गरेर दक्ष अङ्ग्रेजी शिक्षकले ज्ञान दिन सक्छन् ।

समग्रमा, शिक्षा सचिव बरालले पुस्तक मार्फत देशको शिक्षा प्रणालीबारे छलफल गर्ने अवसर जुटाइदिएका छन् । सरकारी विद्यालय सुधारको टड्कारो आवश्यकता रहेको बेला विद्यालय शिक्षाको सिकाइ शैलीमा केन्द्रित पुस्तक आउनु सुखद संयोग हो ।

प्रतिकृया दिनुहोस