अन्तर्वार्ता/विचारसोमबार, ९ आषाढ , २०७६

‘आर्टिफिसियल इन्टेलिजेन्सकाे विकासले लाखौं नेपालीको रोजगारी खोसिन सक्छ’

प्रा‍. ओमकारलाल श्रेष्ठ, न्याशनल युनिभर्सिटी अफ सिंगापुर

हिमालखबर

एशियाली विकास ब्याङ्कमा २७ वर्षसम्म अर्थशास्त्री रहिसकेका ओमकारलाल श्रेष्ठ न्याशनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक हुन्। पछिल्लो समय सूचनाप्रविधिको क्षेत्रमा भइरहेको तीव्र विकासले मानवीय मूल्य, सामाजिक मान्यता र आर्थिक तागतका सीमाहरु भत्काउँदै गएको उनको बुझाइ छ। उनी ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र ‘फाइभ जी’ को व्यावसायिक प्रयोग हुन थालेपछि धनी र गरीबबीचको अन्तर झन् बढ्ने देख्छन्। भन्छन्, “प्रविधिको यो हदसम्मको विकास नैतिकताको मूल्यमा आर्थिक लाभका लागि मात्र भइरहेको छ, यस्तो विकासले विदेशमा कार्यरत लाखौं नेपाली बेरोजगार बन्न सक्ने जोखिम छ।” प्राध्यापक श्रेष्ठसँग हिमाल का लागि शरद ओझाले गरेको कुराकानीको अंशः 

ओमकारलाल श्रेष्ठ, प्राध्यापक, नेशनल, युनिभर्सिटी अफ सिंगापुर । तस्वीर : बिक्रम राई

पछिल्लो समय भइरहेको सूचना–प्रविधिको विकासबाट विश्वमा एकप्रकारको त्रास देखिन्छ, किन यस्तो ?
युरोपेली औद्योगिक क्रान्तिपछि सूचनाप्रविधिको विकास हुन एक शताब्दी लागेको थियो । यस्तो क्रमिक विकासमा मानिसले आफूलाई त्यस अनुकूल बनाउने अवसर पाउँछ, प्रयोगमा सहजता आउँछ ।

तर, अहिले जुन रफ्तारमा प्रविधिको विकास भइरहेको छ, त्यो उदेकलाग्दो छ । अब केही वर्षमै ‘फाइभ जी’ को व्यावसायिक प्रयोग शुरु हुनेछ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास त मानव अस्तित्वमाथि नै चुनौती बन्दैछ । केही सूचना मात्रै फिट गर्ने हो एआईले सामान्य मानिसले कल्पना गर्नेभन्दा कैयौं गुणा चाँडो र सहज तरिकाले काम गर्छ ।

यो तीव्र विकासमा नैतिकता, मानवीय मूल्य–मान्यता भने बेवास्तामा परेको छ । यो परिवर्तनलाई विश्वका बहुसंख्यक मानिसले आत्मसात् गर्न नसक्दा धेरैको अहित हुने जोखिम हुन्छ । त्यसै कारण प्रविधिको विकासमाथि पनि नैतिक सीमा तोकिनुपर्छ भन्ने बहस शुरु भएको हो ।

‘फाइभ जी’ इन्टरनेट र एआईलाई एकीकृत गर्न सकियो भने त धेरैजसो काम गर्न मान्छेको आवश्यकता नै पर्दैन । आजको दिनसम्म बौद्धिक काममा मेसिनले मानिसलाई सहयोग गरिरहेकोमा अब मानिसको आवश्यकता नै नरहने देखिएकाले पनि पश्चिमाहरु त्रसित भएका हुन् ।

यो बहसको चुरोमा के छ ?
विश्वमा औपनिवेशीकरणको अन्त्यपछि पनि शक्तिको केन्द्रमा अमेरिका र पश्चिम युरोप नै रहे । तर, पछिल्लो दशकमा चीनको पुनरोदय भयो । उसले विकास गरिरहेको पाँचौं पुस्ताको (फाइभ जी) सूचनाप्रविधिले पश्चिमाहरुलाई आफ्नो शक्ति कमजोर हुने हो कि भन्ने लागेको छ ।

सन् २०१८ को जुलाईमा अमेरिका, बेलायत, अष्ट्रेलिया र न्यूजिल्याण्डका जासूसी संस्थाका प्रमुखहरुको बैठकले ‘फाइभ जी’ को विकास र यसको व्यावसायिक प्रयोगमा चीन सफल भैदियो भने विश्व शक्तिको केन्द्र अमेरिकाबाट एशियामा स्थानान्तरण हुने निचोड निकाल्यो । त्यसपछि नै हो, पश्चिमा देशहरु दूरसंचार सामग्री उत्पादन गर्ने चिनियाँ कम्पनीलाई कमजोर बनाउन लागिपरेको ।

यसरी पश्चिमाहरु आत्तिनुमा एउटा प्रविधिको विकासले मात्रै होइन, उनीहरु आफूसँग भएको सूचना संरक्षणमा जोखिम बढेको अनुभव गरिरहेका छन् । अहिले प्रचलनमा रहेको ‘फोर जी’ भन्दा ‘फाइभ जी’ ४०० गुणा छिटो र सूचना भण्डारण गर्ने (डेटा स्टोरेज) क्षमता पनि धेरै हुने भनिएको छ ।

यसको अर्थ ‘फाइभ जी’ विकास गर्ने देशले धेरै भन्दा धेरै सूचना आफूले प्राप्त गर्न र भण्डारण गर्न सक्ने भयो । ‘फाइभ जी’ इन्टरनेट र एआईलाई एकीकृत गर्न सकियो भने त धेरैजसो काम गर्न मान्छेको आवश्यकता नै पर्दैन । आजको दिनसम्म बौद्धिक काममा मेसिनले मानिसलाई सहयोग गरिरहेकोमा अब मानिसको आवश्यकता नै नरहने देखिएकाले पनि पश्चिमाहरु त्रसित भएका हुन् ।

एआईको विकास नेपाल जस्तो देशका लागि जोखिम हो कि अवसर ?
यसका फाइदा र बेफाइदा दुवै छन् । जस्तो, एआईबाट संचालन हुने स्वचालित कारले सडक दुर्घटनाबाट हुने मृत्युको जोखिमलाई ९० प्रतिशत कम गर्ने सम्भावना छ ।

तर, यसले ठूलो संख्याका सवारी चालकको रोजगारी खोस्न सक्छ । एकातर्फ जीवनशैली निकै सहज हुनेछ, अर्कोतिर सामाजिक मूल्य–मान्यतामा ह्रास आउन सक्छ । नियमित काम गर्दै जाँदा अनुभव र अभ्यासबाट मानिसकोे विवेक र बुद्धि निखारिएको हो । काम नपाउँदा त्यो सीप र कौशल मान्छेले गुमाउँछ । परिणाम– ‘कामका लागि अयोग्य’ जनशक्ति थुप्रिन पुग्छ ।

सिंगापुरले प्राकृतिक स्रोत र सम्पदा नहुँदा पनि ठूलो आर्थिक फड्को मार्न सक्यो तर, हामी स्रोत र सम्पदामा धनी भएर पनि लाभ लिन सकिरहेका छैनौं । त्यसको मुख्य कारण राजनीतिक प्रतिबद्धताको कमी, सुशासनको अभाव र नीतिगत अस्पष्टता हो।

थोरै मान्छेले प्रविधिको प्रयोग गरेर धेरै लाभ लिने अवस्थाले बहुसंख्यक मानिसलाई गरीबी, असमानता र स्वास्थ्य जोखिममा धकेल्नेछ । श्रमिक निर्यात गरेर रेमिटेन्स आम्दानी गरिरहेको नेपाल जस्ता देशमा रोजगारीको समस्या भयावह हुनसक्छ ।

अहिले चीन, भारत, इण्डोनेशिया, ब्राजिल, बाङ्लादेश, पाकिस्तान जस्ता मुलुकले ठूलो मात्रामा युवा जनसंख्याका कारण लाभ लिइरहेका छन् । ‘डेमोेग्राफिक डिभिडेण्ट’ को ठाउँ मेसिनले लिन थाल्यो भने बढी जनसंख्या भएका विकासोन्मुख मुलुकहरुले ठूलो मूल्य चुकाउनुपर्छ ।

त्योभन्दा ठूलो त मानिसले काम गर्न पाएन भने उसको स्वास्थ्य जोखिम बढ्ने र खुशी मर्ने अवस्था आउन सक्छ । परिणामः यस्तो कुराले ठूलो सामाजिक तनाव र द्वन्द्व निम्त्याउन सक्छ । यस्तो जोखिम कम गर्नकै लागि नैतिक सीमाको विषय उठाइएको हो । 

प्रविधिको विकासमा नैतिक बन्धन ?
समग्र मानव जीवनको हितका लागि विज्ञानमा नैतिकता जोडिनु आवश्यक छ । अहिले तेलका खानी हुने मुलुक शक्तिशाली भए जस्तै अब दुनियाँभरका सूचना जम्मा गर्न सक्ने मुलुक/संस्था बलियो बन्ने युग आउँदैछ ।

हाम्रा गोप्य विवरणहरु विभिन्न कम्पनीहरुले निःशुल्क लिइरहेका छन् । आर्थिक तथा अन्य लाभका लागि व्यक्तिगत सूचनाको दुरुपयोग पनि सामान्य प्रवृत्ति बन्ने जोखिम छ । सूचना र प्रविधिको दुरुपयोगले पृथ्वी नै केही व्यक्तिको अधीनमा रहने खतरा हुन्छ । 

पूँजीवादी व्यवस्थाभित्रै पनि हामी केही सीमित कम्पनीमा आश्रित भइरहेका छौं । ठूला कम्पनीले प्रतिस्पर्धीलाई बजार प्रवेशमा अप्रत्यक्ष रोक लगाएका छन् । बौद्धिक सम्पत्तिको हक तेस्र्याउँदै एक पटक सिर्जना गरिएको उत्पादनबाट लामो समयसम्म लाभ लिने प्रवृत्ति छ । भविष्यमा यो क्रम झनै बढ्ने छ । अब बौद्धिक सम्पत्तिको प्रयोगबारे पनि पुनर्विचार हुनुपर्छ ।

केही व्यक्तिको आर्थिक विकासका लागि विज्ञान अनुसन्धान हो, जे पनि गर्न पाउनुपर्छ भन्ने मान्यता स्वीकार गर्दा ठूलो संकट आउन सक्छ । मानिसको नाक कस्तो बनाउने, आयु कति राख्ने, दिमाग कस्तो बनाउने भन्ने जस्ता कुरामा विज्ञानको प्रयोग हुन थाल्नु राम्रो होइन । प्रविधिको विकास मानव जीवनको अधिकतम हितमा उपयोग गर्नुपर्छ भन्ने सोचाइ छैन । यस्ता जोखिमबाट बच्न प्रविधि विकासमा नैतिकतालाई ध्यान दिनुपर्छ । यसबारे नीति निर्माताहरु गम्भीर बन्नुपर्ने बेला आइसक्यो ।

यस्तो विकासले हामीलाई कस्तो प्रभाव पार्छ ?
धेरै नेपाली रोजगारका लागि अयोग्य हुने अवस्था आउन सक्छ, खाडी मुलुकमा काम गरिरहेका लाखौं नेपालीको रोजगारी खोसिने सम्भावना छ । आज पनि अधिकांश नेपालीले गर्ने काम शारीरिक श्रममै आधारित हो । वैदेशिक रोजगारीमा पुगेका यस्ता लाखौं युवालाई के काम दिने भनेर सरकारले विकल्पका योजना बनाउने बेला आइसकेको छ ।

आगामी दिनमा प्रविधिको विकास र प्रभाव देखिंदै जाला तर, एआईको बढ्दो प्रयोगले अहिले उपलब्ध रोजगारीका धेरै अवसर गुम्ने निश्चित छ । काम नगर्ने जनसंख्या ठूलो हुँदै गए समाजिक समस्या र द्वन्द्वको जोखिम हुन्छ ।

प्राविधिक विकास र आर्थिक शक्तिलाई सँगसँगै अघि बढाइरहेका छिमेकी देशबाट हामीले कसरी लाभ लिने ?
राजनीतिक नेतृत्वको इच्छाशक्ति र स्पष्ट योजना भयो भने विकास हुन समय लाग्दैन भन्ने पाठ हामीले चीनबाट अझै पनि सिक्न नसक्नु विडम्बना हो । अर्को कुरा उच्च पदमा निकै क्षमतावान व्यक्ति पुग्नुले पनि विकासमा प्रभाव पार्छ ।

अब केही वर्षमै ‘फाइभ जी’ को व्यावसायिक प्रयोग शुरु हुनेछ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास त मानव अस्तित्वमाथि नै चुनौती बन्दैछ । केही सूचना मात्रै फिट गर्ने हो एआईले सामान्य मानिसले कल्पना गर्नेभन्दा कैयौं गुणा चाँडो र सहज तरिकाले काम गर्छ । यो तीव्र विकासमा नैतिकता, मानवीय मूल्य–मान्यता भने बेवास्तामा परेको छ ।

सिंगापुरले प्राकृतिक स्रोत र सम्पदा नहुँदा पनि ठूलो आर्थिक फड्को मार्न सक्यो तर, हामी स्रोत र सम्पदामा धनी भएर पनि लाभ लिन सकिरहेका छैनौं । त्यसको मुख्य कारण राजनीतिक प्रतिबद्धताको कमी, सुशासनको अभाव र नीतिगत अस्पष्टता हो । 

हामीले विदेशी मुद्रा कसरी आर्जन गर्ने भन्ने स्पष्ट रणनीति बनाउनुपर्छ । पर्यटनबाट लाभ लिने भनिन्छ तर, काठमाडौं उपत्यकाको सम्पदा संरक्षण समेत सरकारको प्राथमिकतामा छैन ।

भारत र चीनबाट लाभ लिन सबैभन्दा पहिले कनेक्टिभिटी राम्रो बनाउनु पर्‍यो । सरकारको प्राथमिकता खुद्रा मसिना कुरामा बढी छ, यो राम्रो होइन । 

प्रतिकृया दिनुहोस