कला/साहित्यशुक्रबार, ६ आषाढ , २०७६

‘जीवन जुन श्यामश्वेत होइन’

हिमालखबर

लामो समय मैले विदेशमा बसेर काम गरें । त्यो अझै जारी छ । तर मेरो सोच नेपाल हो । मेरो काम नेपालका लागि नै होस् । ढिलोचाँडो मेरो फिर्ती नेपालमै होस् । देश गरिब हुँदा अन्य मुलुकमा जस्तै सेवासुविधा पाइएन होला । तर मलाई यहाँसम्म पुग्ने जग आखिर मेरै देशले हालिदिएको न हो । अनि त्यही देशलाई कसैले गाली गर्दा एक नेपालीका रुपमा मेरै मन कुँडिन्छ र खिन्न हुन्छ । 

- डा. कमल लामिछाने 

म जस्तै लाखौं मान्छे परिस्थितिवश बिदेसिनुपरेको छ । थोरै रहर र धेरै बाध्यता छन्, त्यहाँ । धेरै मानिस आफू भौतिक रुपले बिदेसिए पनि आफ्नो मन र मुटुमा नेपालकै माया साँच्ने गर्छन् । थोरै भए पनि आफूले सकेको नेपालकै लागि गरेका छन् । नेपालीपन नहराओस् भनेर आफ्ना सन्तानलाई नेपालीपन र मनसँग अभ्यस्त गराइरहेका छन् ।

म झन्डै १७ वर्ष विदेश बसें । यस अवधिमा अफ्रिका र एन्टार्कटिकाबाहेक सबै महादेश भ्रमण गरें । कामकै सिलसिलामा विभिन्न मुलुकमा पुग्दा कहिलेकाहीँ नेपालीहरुसँग भेट हुन्छ । कतिपय नेपालीले विदेशबाटै भए पनि नेपालका लागि सकारात्मक काम गरेका छन् । कोही नेपालीलाई अनलाइन भोटिङ गरेर जिताउनुपर्‍यो भने उनीहरु ज्यान फालेरै लाग्छन् ।

२०७२ सालको भूकम्पले नेपाललाई हल्लाउँदा त्यसरी विदेशमा बसेका नेपालीको मन पनि सँगसँगै हल्लिएको थियो । बिदेसिएकाहरुले सके जति मन फुकाएरै भूकम्पपीडितलाई सहयोग गरे ।

कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेहरुले एकीकृत बस्ती निर्माणको कार्यक्रम अगाडि बढाउँदा स्वदेशबाट मात्र होइन, यिनै विदेशमा पसिना बगाएकाहरुले दह्रो साथ दिए । मैले थोरै भए पनि ५० हजार रूपैयाँ हस्तान्तरण गरें । घरका सदस्यलाई समेत लिएर गिरानचौरमा श्रमदान गरेर साङ्केतिक नै भए पनि त्यस्तो सराहनीय काममा ऐक्यबद्ध हुने मौका पाएँ ।

एकथरीलाई यसरी आफ्नो माटोको मायाले आकर्षण गरिरहँदा अर्काथरी चाहिँ मानौं, नेपाललाई गाली गर्नकै लागि विदेश आएझैं गर्छन् । कुनै भेटघाट या जमघट होस्, उनीहरुको अधिकांश समय नेपाललाई गाली गरेरै बित्छ । तर नेपालबाट कुनै नेता आए भने तिनीहरुलाई भेटेर समुद्र छेउछाउमा गई सेल्फी खिच्दै सामाजिक सञ्जालमा छाउने हतारो उनैलाई हुने गर्छ ।

अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीले भनेका थिए, “देशले तिमीलाई के गर्न सक्छ भन्दा पनि तिमीले देशलाई के दिन सक्छौ भनेर सोच !” त्यसै त यसो भनेका होइनन् । हो, नेपाल यावत् सम्भावनाका बाबजुद असल राजनेता नपाउँदा सधैंजसो अस्थिर बन्दै आयो । छिमेकीहरु हामीमाथि खेलिरहे । हामी जनता पनि केही हदसम्म त्यसमा जिम्मेवार छौं ।

थाहा छ— यी कुनै चीज स्थिर होइनन् । सबैले एकअर्कालाई विस्थापित गर्दा रहेछन् । हाम्रो जीवन जस्तै यी पनि आउनु र जानुको नियममा बाँधिएका रहेछन् । यसरी हेर्दा, दिगो त न्याय, सत्य र समताको बाटो नै रहेछ । नैतिकता र इमानदारीले नै त्यस्तो बाटो तय गर्न सजिलो बनाउँदो रहेछ ।

हामी बिदेसिएकाहरुले जतिसुकै आफूलाई विदेशी मुलुककै रहनसहन र आनीबानीमा ढाल्ने प्रयास गरे पनि र स्वयम् विदेशकै नागरिकता लिए पनि नेपाली मूलको फलानो देशको नागरिक न हौं । त्यसैले नेपालको अपमान गरेर आफ्नो बेग्लै पहिचान बनाउन कहिल्यै सकिन्न । बरू भएको पहिचान पनि धराशायी हुन्छ । तसर्थ सके आफूले सिकेको सीप र ज्ञान मातृभूमिका लागि लगाउने र नसके मुलुकलाई गाली नगरी आफ्नो काम गर्न सक्नुपर्छ ।

अनेकौं सम्भावनाका बाबजुद आफ्नो मातृभूमि विकास एवम् समृद्धिमा पछाडि पर्दा मुटु चस्कन्छ नै । तर क्षितिजपारिबाट नेपालप्रति निराशा प्रकट गर्दैमा त्यस्तो दुखाइ घट्ने होइन । गाडीका चालक खराब भए भने दुर्घटना हुन सक्छ । यो बेला गाडीलाई गाली गर्ने कि चालकलाई ? अनि चालक फेर्ने कि गाडी ? मुलुक हाँक्नेहरु असल नभएकामा मातृभूमिमाथि किन दोषारोपण ? आफूले पनि सच्चरित्रवान् बन्ने अनि त्यस्तै नेतालाई मात्रै समर्थन गर्न सकियो भने सुधारका सङ्केत पक्कै देखिनेछन् ।

हामीले विभिन्न मुलुकमा बसेर त्यहाँको विकासलाई नजिकबाट नियालेका छौं । अरुको विकासबाट सिक्ने एवम् त्यसलाई आफ्नो देशको वस्तुस्थितिअनुरुप लागू गर्न सघाउने र सुझाउने मात्रै गर्न सकियो भने पनि हामीलाई सन्तुष्टि मिल्छ ।

मुलुकलाई चाहिने दृष्टिकोण तयार पार्ने गरी आ-आफ्नो विज्ञता एवम् क्षेत्रअनुसार विभिन्न देशमा छरिएर रहेका नेपालीबीच ग्लोबल पोलिसी डाइलग सुरू गर्ने हो र तटस्थ भएर नेपालका सबै दललाई ती नीतिहरुबारे बताउने हो भने कुनै दिन तिनको पनि घैंटोमा घाम लाग्नेछ ।

हरेक नागरिकले आफ्नो जिम्मेवारी इमानदारीसाथ बहन गरिदिने हो भने सबथोक रहेछ नेपालमा । यो मैले त्यत्तिकै भनेको होइन । विदेशमा काम गरेका अनुभवका आधारमा उनीहरुले हासिल गरेको सफलतालाई महसुस गरेरै हो । म अनुभूत गर्न सक्छु— डा. तारानाथ शर्माले किन बेलायती हिउँसँग नेपालको हिउँ दाँजेर यी पङ्क्ति लेखे होलान्— यो हिउँ मेरो थियो, मेरो मुटुको थियो, हिमाली हार्दिकता बोकेको र चहकिलो थियो।

अप्ठ्यारो अवस्थामा जुटाएको साहस, विश्वास एवम् सकारात्मक सोचको जगमा अँध्यारो परिवेशबाट सुरू भएको मेरो जीवनयात्रा उकाली चढ्दै आयो । मैले जीवन जे रहेछ, त्यस्तै जिउने प्रयास गरेको छु । सबैले झैं मैले अँध्यारो पनि भोगेको छु । उज्यालोको राप पनि पाएको छु ।

मैले खुसी पाएँ । दुःख पनि भोगें । पेटभरि खाने पैसा नहुँदा कति रात भोकै या आधा पेट खाएरै पनि बिताएँ । सुखको अनुभूति पनि गरें । हाँसो र आँसुको साथ पनि पाएँ । दृष्टिविहीनले के गर्न सक्लान् र भन्ने सोचाइबीच मेरो व्यक्तित्व निर्माण हुँदै गयो ।

आर्थिक रुपले आत्मनिर्भरताको बाटो पनि समाएँ । तर थाहा छ— यी कुनै चीज स्थिर होइनन् । सबैले एकअर्कालाई विस्थापित गर्दा रहेछन् । हाम्रो जीवन जस्तै यी पनि आउनु र जानुको नियममा बाँधिएका रहेछन् । यसरी हेर्दा, दिगो त न्याय, सत्य र समताको बाटो नै रहेछ । नैतिकता र इमानदारीले नै त्यस्तो बाटो तय गर्न सजिलो बनाउँदो रहेछ ।

मैले सहजतामा अवसर र सम्भावना खोजिनँ । समस्या, कठिनाइ अनि असहजतबाट भाग्न जानिनँ । मलाई थाहा छ— अवसर पनि तिनीहरुमै छ।

त्यसैले कसैले अपमानित गर्दा, कमजोर बनाउन खोज्दा अनि विभेदका जालमा पार्न खोज्दासमेत म डगमगाइनँ । बरू तिनलाई परास्त गर्ने बाटा खोज्दै गएँ । मेरो व्यक्तित्व निर्माणमा जसले मलाई सहयोग गरे, उनीहरुप्रति नतमस्तक छु । जसले थोरै विभेद र नकारात्मकता राखे, उनीहरुको पनि मेरो व्यक्तित्व निर्माणमा भूमिका छ ।

यो पुस्तकमा मैले जेजति व्यक्तिको नाम लिएको छु, त्यो कसैको नहुँदो प्रशंसा र कसैप्रति आग्रहपूर्वाग्रह राखेर होइन । उनीहरुले खास प्रवृत्तिको प्रतिनिधित्व गर्छन् । म कसैप्रति नकारात्मक सुनिएझैं लाग्यो भने यो नठान्नुहोला, म ती व्यक्तिप्रति नकारात्मक छु ।

अहँ, होइन । म त उनीहरुले प्रतिनिधित्व गरेको त्यो प्रवृत्तिसँग सहमति या विमति राख्छु । जीवनमा सङ्घर्ष गर्दै गर्दा मान्छेलाई फुर्सदै हुँदो रहेनछ । चुनौती पार गर्ने चुनौतीसामु त्यसलाई जित्नैपर्ने दबाब हुँदो रहेछ ।

मलाई मेरा अप्ठ्यारा क्षणमा आँसु झार्ने फुर्सद पनि भएन । आँसुका लागि पनि कि त फुर्सद चाहिँदो रहेछ, कि यात्रा बीचैमा रोकिएको हुनुपर्दो रहेछ । बरू यो पुस्तक लेख्दै गर्दा आफ्ना विगत सम्झिएर धेरै पटक भावुकतामा हराएँ र आँसुसँगै रमाएँ पनि ।

जीवनमा पूर्ण खुसी र सन्तुष्ट हुनेहरु सायदै होलान् । खुसी र सन्तुष्टि सापेक्ष हुन्छ । हिजोभन्दा आज राम्रो भएकामा खुसी र सन्तुष्टि मानेर भोलि अझ राम्रो हुनेमा आशावादी भई राम्रो गर्ने प्रतिज्ञा र प्रतिबद्धतासहित जीवनको प्रक्रिया चलेको म ठान्छु ।

समानता र विभेदलाई तुलनात्मक या सापेक्षतामा हेरिनुपर्छ ।

तपाईं मप्रति पूर्वाग्रही बन्न सक्नुहोला; म पनि तपाईंप्रति उत्तिकै आग्रही बन्न सकुँला । जतिसुकै पूर्वाग्र्रही बने पनि कानुनद्वारा भेदभाव गर्ने छूट छैन । राज्यका तर्फबाट सबै नागरिकलाई समान अधिकार र समावेशी सहभागिता हुनैपर्छ । तर पूर्वाग्रही र भेदभाव गर्नेहरुबाट टाढिएर र उनीहरुलाई बहिष्कार गरेर हामीले आत्मसम्मानको अनुभूति गर्न सक्दैनौं । सँगै रहेर उनीहरुलाई बदल्न सक्नुमै हाम्रो दिगो आत्मसम्मान र पहिचान स्थापित हुन सक्छ ।

म कहिलेकाहीँ आफैंसँग अलिअलि गुनासो गर्छु, ताकि हिजोभन्दा आज राम्रो गर्न प्रेरणा मिलोस् । खास उद्देश्य प्राप्तिमा म आफैंसित बढी कठोर छु। कुनै काम म गर्दै छु भने त्यसका लागि सबभन्दा बढी प्रतिबद्ध मै हुनुपर्छ ।

मैले अलिअलि भए पनि जीवन बुझें, जुन श्यामश्वेत होइन रहेछ । यो त आगो र आइसबीचको औसत अर्थात् स्ट्यान्डर्ड डेभिएसन जस्तो रहेछ ।

सम्भव असम्भव अनि चुनौती र जोखिममा आफूलाई नगुमाउँदाको मज्जा बेग्लै हुन्छ । मैले अरुप्रति कहिल्यै आशा राखिनँ । राखें त केवल आफैंसँग । भरोसा मैले आफैंलाई गरें । विश्वास मैले धेरैलाई गर्नुपर्छ । त्यो मेरो सबल र कमजोर दुवै पक्ष हो । तर फेरि पनि भरोसाचाहिँ म आफैंलाई गर्छु । किनभने विश्वासभन्दा माथि भरोसा रहन्छ ।

आफूले आफैंलाई इज्जत गर्न नसक्नेहरु, आफूले आफैंलाई स्विकार्न नसक्नेहरु अनि आफूले आफैंलाई माया नगर्नेहरुले अरुका निम्ति केही गर्न सक्लान् भन्ने मलाई लाग्दैन । आफैं उत्प्रेरित हुन नसक्नेहरुले अरुलाई उत्प्रेरित गर्छन् भन्ने पनि म ठान्दिनँ ।

म जन्मजात दृष्टिविहीन हुँ । यो नै मेरो जीवनको सत्य हो । भ्रम नहोस्, आँखा देख्नुको दाँजोमा नदेख्नु ठीक भनिएको हुँदै होइन । हातखुट्टालगायत सबै अङ्ग सबल हुनुको दाँजोमा नहुनु ठीक भनिएको पनि होइन ।

तर नहुनु पनि जीवनको यथार्थ हो । यही नहुनुको बीचमा केही न केही हुनु हुँदोरहेछ । मेरो दृष्टिविहीनताले व्यक्ति, घर र समाजलाई नियाल्ने अवसर दियो । मैले अलिअलि भए पनि जीवन बुझें, जुन श्यामश्वेत होइन रहेछ । यो त आगो र आइसबीचको औसत अर्थात् स्ट्यान्डर्ड डेभिएसन जस्तो रहेछ ।

समस्याले सपना देख्न सिकायो । त्यही आजको सपना भोलिको प्राप्ति बन्न सक्छ । ... तर भोलिको मेरा लागि आजको मैले देख्ने सपना महत्वपूर्ण हुन्छ ।

त्यसका लागि म आफ्नो तुलना अरुसँग गर्दिनँ । आफैंसँग प्रतिस्पर्धा गर्छु । र हिजोको मसितै आजको मेरो तुलना गर्छु । परिकल्पनाका लागि मनमा ठाउँ हुनैपर्छ ।

त्यही परिकल्पनाले सपना देखाउँछ । मैले न्याय, समानता र समताको सपना देखें । मैले सहअस्तित्वसहितको सबैको पहिचानको सपना देखेको छु, जहाँ एकअर्काबीचमा हार्दिकता होस्, आत्मीयता नमरोस् अनि विश्वासको डोरी बलियो बनोस् ।

 - प्रकाशन संस्था फाइनप्रिन्टद्वारा  प्रकाशित ‘अन्तर्दृष्टि’ आज शनिबार लोकार्पण हुँदैछ । 

प्रतिकृया दिनुहोस