ब्लगबिहिबार, ५ आषाढ , २०७६

महिला, भोग र योग

सन्दर्भः विश्व योग दिवस (२१ जून)

डा.अरुणा उप्रेती

आफ्नो शरीर रेखदेखको लागि फुर्सद निकाल्न नसक्ने हो भने दीर्घकालीन स्वास्थ्य समस्याले गाँज्न सक्छ, त्यो बेला हामीले व्यस्त जीवनशैलीबाट गरेको कमाइको के अर्थ ? 

आफूले प्रयोग गर्ने मालसामानलाई हामी बडो जतन गर्छौं । लुगा धोएर ईस्त्री लगाउँछौं, शिशाका सामान फुट्लान् कि भनेर चनाखो बन्छौं । गाडी र मोटरसाइकलको झ्नै रेखदेख गर्छौं । मोबाइल फोनको ब्याट्री आधाउधी सकिनासाथै चार्जर जोड्न हतारिन्छौं । तर किनेका मालसामानलाई झन् बढी रेखदेख गर्ने महिलाहरूले आफ्नै शरीरलाई भने ध्यान दिंदैनन् ।

पहिरन र आभूषणबाट सजाएको शरीरको भित्री पार्टपुर्जा कस्ता छन्, हाडजोर्नी ठीक छ कि छैन, फोक्सोमा प्राणवायु पर्याप्त पुगेको छ कि छैन भन्नेमा बेवास्ता गरिन्छ ।

कमाइ बुढ्यौलीका लागि साँच्ने, घरजग्गा र पैसा छ भनेर सुरक्षित महसूस गर्ने हामी शरीरलाई सुरक्षित राख्न कति समय दिन्छौं ? यसको जवाफ आजको हाम्रो भागदौडग्रस्त जीवनशैलीले स्वतः दिइरहेको छ– आफ्नो लागि हामीसँग समय नै छैन ।

रमिता नामकी तराई मूलकी मेरी एक साथी थिइन् । महिला स्वास्थ्य सम्बन्धी काम गर्ने संस्थामा कार्यरत उनी कुर्सीबाट हलचल नै नगरी लगातार ६/७ घण्टासम्म कम्प्युटरमा खट्थिन् । बेलाबेला पानी खाने, हरेक दुई घण्टामा कुर्सीबाट उठेर केहीबेर हिंड्ने जस्ता कुरामा उनलाई वास्तै नहुँदो रहेछ । 

तस्वीर : बिक्रम राई

लगातार कम्प्युटरमा काम गर्दा स्वास्थ्य समस्या निम्तेला भनेर सजग गराउँदा उनले हाकिमलाई चाँडै रिपोर्ट बुझउनुपर्ने भएकाले फुर्सद लिनै नमिल्ने बताइन् । मैले भनें, “केही दिन ढिलो रिपोर्ट बुझए पनि फरक नपर्ला । तर टाउको, ढाड आदि दुख्ने समस्या भएर आराम गर्नुपर्दा चाहिं फुर्सद कसरी निस्किन्छ नि ?” उनले सहजै भनिन्, “त्यो बेला जे हुन्छ, हेरुँला ।”

यो कुराकानी भएको ६ महीनापछि नै रमिता ढाडको असह्य दुखाइका कारण दुई महीना ओछ्यान परिन् । स्वास्थ्यकर्मीले उनलाई फिजियोथेरापी र योग गर्न सिकाए । कुर्सीमा बस्दा मेरुदण्ड सीधा पारेर बस्न सिकाइयो । कम्प्युटर चलाउँदा बीच–बीचमा फुर्सद पनि निकाल्छिन् ।

‘अहिले त आराम गर्न फुर्सद निस्कियो है’ भनेर जिस्क्याउँदा उनी भन्छिन्, “के गर्नु, यस्तो हुन्छ भनेर पहिल्यै जानेको भए आज हैरानी खेप्नुपर्ने थिएन ।” उनले थाहा त पाएकी थिइन्, तर यस्तो समस्या आफूलाई पर्दैन होला भनेर हेलचेक्र्याइँ गरिन् । हामीमध्ये धेरैले गर्ने यही नै हो ।

योगलाई मैले विगत साढे एक दशकदेखि साथी बनाएकी छु । एक पटक काँध असाध्यै दुखेपछि फिजियोथेरापी र योग गरेरै ठीक पारेकी थिएँ । योग गर्न त्यस्तो गाह्रो छैन र फराकिलो ठाउँ पनि चाहिंदैन । हात र गर्धनको व्यायाम त गाडीमा वा घर/कार्यालयको कुर्सीमा बसेको बेला पनि गर्न सकिन्छ ।

स्वास्थ्यप्रति सचेत हुने र योग गर्नेहरू त विभिन्न समस्या भोगिरहेका हुन्छन् भने कम्प्युटर चलाएरै दिन बिताउने, घाममा बस्दै नबस्ने, बजारका ‘पत्रु खाना’ खाने आजका केटाकेटीको स्वास्थ्य कस्तो होला ?

अहिले अफिस, ब्याङ्क, विद्यालय आदिमा काम गर्ने कतिपय महिलाहरू जीउ दुख्यो, खुट्टा कटकट खायो भनेर अस्पताल जान्छन् । उनीहरूलाई त्यहाँ क्याल्सियम र भिटामिन डीदेखि अनेक चक्की दिनु त सामान्य कुरा भइसकेको छ । 

महीनावारीका बेला हुने पेट दुखाइदेखि गर्भावस्थामा स्वस्थ रहन र प्रसव व्यथा घटाउनसम्म योगले फाइदा गर्छ। गर्भावस्थामा उच्च रक्तचाप, खुट्टा सुन्निने, अति टाउको दुख्ने जस्ता जटिलता छैन र शिशु ठीक ठाउँमा बसेको छ भने साधारण योगासनले लाभ मिल्छ।

त्यसमा पनि अहिले “भिटामिन डीको कमी भएको छ, त्यसैले चक्की/क्याप्सुल खानुपर्छ” भन्ने जस्ता भ्रमपूर्ण विज्ञापन आउँछन् । स्वास्थ्यचौकीमा पनि गर्भवती महिलालाई भिटामिन, क्याल्सियमका चक्की बाँडिन्छ ।

हाम्रो भान्सामा हुने ज्वानो, भटमास, गहत, सिमी, अण्डा, दही–मोही आदिमा पर्याप्त क्याल्सियम पाइन्छ, त्यही खानुस् भन्ने सल्लाह त्यहाँ कसैले दिंदैनन् । अफिसमा दिनभरि कम्प्युटरमा काम गर्ने महिलाले ढाड दुख्यो भनेपछि उनको काम गर्ने तरिका, समय, बसाइ कस्तो छ भनेर सोधिंदैन ।

गर्भावस्थामा योग
महिलाहरूको जीवनको विभिन्न पक्षमा योगले महत्वपूर्ण भूमिका खेल्छ । तर, योगको फाइदा लिन नियमित अभ्यास गर्नुपर्छ । केही दिन गर्दैमा जादूको छडीले झैं प्रभाव देखिंदैन ।

महीनावारीका बेला हुने पेट दुखाइदेखि गर्भावस्थामा स्वस्थ रहन र प्रसव व्यथा घटाउनसम्म योगले फाइदा गर्छ । गर्भावस्थामा उच्च रक्तचाप, खुट्टा सुन्निने, अति टाउको दुख्ने जस्ता जटिलता छैन र शिशु ठीक ठाउँमा बसेको छ भने साधारण योगासनले लाभ मिल्छ ।

गर्भावस्थामा वाक्वाक् आउने, खान मन नलाग्ने जस्ता समस्या हुनु स्वाभाविकै हो । त्यो समस्या हुँदा पनि अलिअलि गरेर खाना खाने, चिल्लो पदार्थ बढी नखाने र आफूलाई उपयुक्त हुने सरल किसिमका योगले फाइदा पुर्‍याउँछ ।

धेरै बेर उभिंदा वा हिंड्दा ढाड र पिडाैंलामा हुने दुखाइ योगबाट कम हुन्छ । गर्भावस्थामा विशेष गरेर ‘पुतली आसन’ उपयोगी हुन्छ, यसले शरीरलाई लचिलो बनाउँछ र प्रसव व्यथा कम गराउँछ ।

यस्तै, गर्भावस्थामा शरीरमा लचकता ल्याउने अर्को आसन हो, मार्जरी अर्थात् बिरालो आसन । शशकासन (खरायो आसन) ले पनि शरीरलाई लचिलो बनाउनुका साथै गर्भावस्थामा हुने चिडचिडेपनका साथै तनाव, रिस घटाउन मद्दत गर्छ ।

प्रसव अवस्थापछि कतिपय महिलाहरूको शरीर मोटो हुन्छ । शिशुलाई स्तनपान गराउनुपर्ने भएकाले प्रायः खाना बढी खाइन्छ र बढी चिल्लो–गुलियो खानपानले तौल बढ्छ ।

तौल नियन्त्रण गर्न चिल्लो कम भएको खाना खाने र विभिन्न योग गरे प्रभावकारी हुन्छ । योगसँगै काम, खानपान र आरामबीचको सन्तुलन, अनुशासित जीवनशैलीले महिलाको स्वास्थ्यमा राम्रो भूमिका खेल्छ ।

योगबारे विभिन्न भ्रम पनि छन् । यसबाट महिलाको क्यान्सर निको हुन्छ, पाठेघरमा उल्टो बसेको शिशु सुल्टो हुन्छ भन्ने कुरा अफवाह मात्र हुन् । योगले जीवनमा महत्वपूर्ण प्रभाव त पार्छ, सबै रोग र समस्या निको पार्न भने सक्दैन । 

प्रतिकृया दिनुहोस