जनकपुरका तीन होटलमा आगलागी हुँदा करीब ३० लाखकाे क्षति
जनकपुर उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आठवटा ग्यास सिलिण्डर विस्फोट हुँदा भएको आगलागीमा तीन होटल जलेका छन् ।
बिहान पौने ३ बजेदेखि सुरु भएको आगो ५ बजे नियन्त्रणमा आएको छ । तीन होटल जल्दा ३० लाखको क्षति भएको प्रहरीको अनुमान छ ।
आगलागीपछि ग्यास सिलिण्डर पड्किँदा छेउका दुई होटल पनि आगलागीमा परेका छन् । होटलभित्र एकै ठाउँमा राखिएका आधा दर्जनभन्दा बढी खाना पकाउने ग्यासका सिलिण्डर क्रमशः विस्फोट भएका थिए ।
विस्फोटमा मानवीय क्षति भने भएको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिएका हुन् ।
गोविन्द मिष्टान्न भण्डारमा बिजुली सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । जनकपुर र महेन्द्रनगरबाट गएका दमकलको सहयोगले आगलागी नियन्त्रणमा लिइएको थियो ।