कसले पहिले सम्बोधन गर्ने भन्ने विवादले संसद बैठक स्थगित
प्रतिनिधिसभा बैठकलाई कसले पहिले सम्बोधन गर्ने भन्ने विषयले संसद बैठक अवरुद्ध भएको छ ।
मंगलबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यूरोप भ्रमण, गुठी विधेयक लगायत समसामयिक विषयमा बोल्ने कार्यक्रम थियो ।
यूरोप भ्रमणपछि प्रतिनिधिसभाको बैठकमा पहिलो पटक उपस्थित हुन लागेकाले कांग्रेसले पनि संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्न पाउनुपर्ने माग गरेको थियो ।
प्रमुख प्रतिपक्षले समय मागेपछि सभामुख महराले देउवालाई सुरुमा बोल्न दिने, त्यसपछि १० मिनेटका लागि संसद स्थगित गरेर प्रम ओलीलाई बोल्न दिने वचन दिएका थिए।
प्रधानमन्त्री ओली असहमत देखिए । सभामुखसँग पहिले आफूले समय मागेकाले आफूले पहिले बोल्न पाउनुपर्ने प्रम ओलीको दाबी थियो ।
प्रतिनिधिसभा संसदमा मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि प्रतिपक्षी दलका मागका कारण १२ बजेमात्र सुरु भएको थियो।
कांग्रेसले सभामुख कृष्णबहादुर महरालाई भेटेर संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीभन्दा पहिला बोल्न दिनुपर्ने माग गरेको थियो।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले गुठी विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा संसदीय दलका नेताले सदनमा बोल्न पाउनुपर्ने माग सभामुखलाई भेटेरै जानकारी गराएको बताइन्छ ।
बैठक सुरु हुनासाथ प्रधानमन्त्रीलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेर 'संसदीय मर्यादा कायम गर' भन्दै नाराबाजी गरेका थिए ।
पटकपटक सभामुखले प्रधानमन्त्रीकाे कुरा सुन्न आग्रह गर्दा पनि कांग्रेस सांसदले बैठक अवरुद्ध गरेपछि बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएकाे छ ।