डेंगु परीक्षण गर्ने किटमा कालोबजारी
लामखुट्टेले टोकेका बिरामीलाई डेंगु लागे वा नलागेको भनेर परीक्षण गर्नका लागि प्रयोग गरिने किट बिक्रीमा कालोबजारी भएको पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ असारमा विज्ञप्ति जारी गर्दै डेंगुको प्रकोप फैलिएका ठाउँ पूर्वका केही मेडिकल कलेज तथा अस्पतालहरूले करीब रु.४०० पर्ने किटलाई रु.१८०० देखि रु.२४०० सम्ममा बिक्री गरेको जनाएको हो ।
बढी मूल्यमा किट बिक्री भइरहेको बारे गुनासो आएको भन्दै मन्त्रालयले त्यसो गरेको पाइएमा कालोबजारीको कसुरमा कारबाही गरिने जानकारी गराएको छ ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बढी मूल्यमा किट बिक्री गरेको गुनासो आएलगत्तै अनुगमन टोली खटाइएको बताएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेल किट मार्फत लामखुट्टेले टोकेको सात दिनभित्र जाँच गर्दा १५ देखि २० मिनेटभित्र डेंगु भाइरस लागे वा नलागेको थाहा हुने बताउँछन् ।
ईडीसीडीले देशभरका स्वास्थ्य संस्थामा निःशुल्क किट वितरण गर्दै आइरहेको छ ।
अघिल्ला वर्षहरूमा मनसुन सकिएपछि छिटपुट देखिने डेंगुको संक्रमणले यस वर्ष मनसुन अगावै धरानमा महामारीको रूप लिएपछि २९ जेठमा स्वास्थ्य कार्यालय सुनसरीले धरानलाई ‘डेंगु प्रकोप क्षेत्र’ घोषणा गरेको थियो ।
गएको एक महीना (३० वैशाख–२९ जेठ) मा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य अस्पतालमा परीक्षण गरिएका बिरामीमध्ये ५४८ जनामा डेंगुको संक्रमण फेला परेको थियो ।
२९ जेठसम्म इटहरी नगरपालिकामा ७ जना र मोरङ जिल्लाका ९ जनामा पनि डेंंगुको संक्रमण पाइएको थियो ।
यसरी पूर्वी क्षेत्रमा डेंगु रोगले महामारी लिइरहेको मौका छोपेर व्यापारीहरूले ६ गुणा बढी मूल्यमा किट बिक्री गरिरहेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार एडिस एजेप्टाइ र एइ.अल्बोपिक्टस जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट डेंगु भाइरसको संक्रमण हुन्छ ।