कुटपिटको विरोधमा पश्चिम बंगालमा चिकित्सकहरू आन्दोलित
पश्चिम बंगालकाे कोलकातामा कनिष्ठ डाक्टरहरूमाथि भएको कुटपिटका विरुद्धमा दिल्लीका डाक्टरहरू पनि ऐक्यबद्धता जनाउँदै आन्दोलनमा उत्रिएका छन् ।
दिल्लीमा आकस्मिक सेवाबाहेक अस्पतालका सबै डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन् ।
सोमबार साँझ कोलकाताको सरकारी एनआरएस मेडिकल कलेज अस्पतालमा ७५ वर्षीय मोहम्मद सइदको हृदयाघातका कारण मृत्यु भएपछि उनका आफन्तहरूले दुई कनिष्ठ डाक्टरलाई नराम्रोसँग कुटपिट गरेका थिए ।
यस घटनाबाट एकजना डाक्टरको टाउकोमा गहिरो चोट लाग्यो । यसको विरोधमा डाक्टरहरूले मेडिकल अस्पतालमा कामकाज बन्द गरी दोषीमाथि कारवाहीको माग गर्दै धर्नामा बसेका थिए ।
कोलकातामा भएको घटनाको विरोधमा बिहीबार दिल्लीमा डाक्टरहरूले मौन प्रदर्शन गरेका थिए ।
शुक्रबार पनि डाक्टरहरू सडकमा ओर्लिएर घटनाको विरोधमा प्रदर्शन गर्ने जनाएका छन् ।
पश्चिम बंगालमा तीन दिनदेखि स्वास्थ्य संस्थाहरू ठप्प रहेका छन् । बिहीबार दिउँसो मुख्यमन्त्री ममता बनर्जी राज्यको सबभन्दा ठूलो सरकारी अस्पताल एसएसकेएम मेडिकल कलेज पुगेकी थिइन् ।
उनले त्यहाँ डाक्टरहरूलाई तुरुन्त हडताल बन्द गर्न चेतावनी दिएकी थिइन् । उनले आन्दाेलन राेक्न बिहीबार दिउँसोको २ बजेको समय दिएकी थिइन् ।
आन्दोलनकारी डाक्टरहरूले अस्पतालमा नै ममताका विरुद्ध नाराबाजी गरेका थिए ।
कोलकाताको घटनाका विरुद्धमा अन्य राज्यका डाक्टरहरूले पनि ऐक्यबद्धता जनाउँदै आन्दोलन शुरु गरेको बताइन्छ ।
–एजेन्सी