चिठ्ठा परेको भन्दै ठगी गर्ने पक्राउ
चिठ्ठामा रु २५ लाख परेको भन्दै ठगी गर्ने दुईजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–११ बस्ने २३ वर्षीय निरज मरिक र मोरङ धनपालथान गाउँपालिका–६ बस्ने ३६ वर्षीय श्रवण मलहालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले इलाम जिल्ला इलाममाई नगरपालिका–८ बस्ने पासाङ शेर्पालाई ‘इमो’ मार्फत चिठ्ठा परेको छ भन्दै सन्देश पठाई रु एक लाख २० हजार ठगी गरेका थिए ।
शेर्पालाई चिठ्ठा परेको भन्दै दस्तुर (कर) वापत पटक–पटक गरी मरिकको नाममा रु ४५ हजार र रु ७५ हजार गरी रु एक लाख २० हजार विराटनगरको एक बैंकको खातामा रकम पठाएपछि मरिक सम्पर्कविहीन भएका थिए ।
पक्राउ परेका मलाहा यसअघि विसं २०७५ पुस २६ गते यसरी नै ठगीमा पक्राउ परी जिल्ला अदालत मोरङबाट रु दुई लाख धरौटीमा छुटेका थिए ।
मुलुकी अपराध संहिता, २०७४ बमोजिम ठगीसम्बन्धी कसूरअन्तर्गत उनीहरूलाई अनुसन्धान तथा कारवाही पक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।