ब्लगशुक्रबार, ३१ जेठ , २०७६

बुद्ध र अलौकिक शक्ति

वसन्त महर्जन

ध्यान साधनाका क्रममा आम व्यक्तिभन्दा फरक अनुभूति हुनु र केही क्षमता आर्जन गर्नु अलौकिकता होइन। 

वसन्त महर्जन

समाजमा बेलाबेला विज्ञानले तत्काल ठम्याउन नसक्ने प्रकृतिका घटना हुन्छन् । जसलाई चमत्कार वा अलौकिक जस्ता विशेषण दिन हतार गरिन्छ । 

‘गुगल ब्वाई’ का रूपमा प्रचारित काठमाडौंका आदित्य दाहाल नामका बालक एउटा यस्तै उदाहरण हुन् । उनका नाममा सरकारले रु.१ करोड दिएपछि यसको औचित्यबारे प्रश्न पनि उठ्यो ।

६ महीनासम्म निराहार तपस्या बसेको भनिएका रामबहादुर बम्जन यस्तै अर्का उदाहरण हुन् । कतिले त उनलाई ‘लिटिल बुद्ध’ भन्न समेत भ्याए ।

साधारणतया पत्याउन गाह्रो हुने यस्ता घटना अन्यत्र मात्र नभई बुद्ध र बौद्ध धर्मका प्रसङ्गमा पनि छन् । कतिपय वैज्ञानिकले बौद्ध धर्मलाई आधुनिक विज्ञानसँग नजिकको धर्म भनेका कारण त्यस्ता विचित्रका कुरालाई पछि सिर्जित वा अन्धविश्वास मान्नेहरू पनि छन् ।

तर, बुद्ध र बौद्ध धर्मलाई बुझन यी कुरालाई निषेध गर्न सकिंदैन । बौद्ध धर्मदर्शनको मूल तत्व नै ‘प्रतीत्यसमुत्पाद’ हो, जसले प्राणीको जन्म र मृत्युको चक्रलाई चित्रण गर्दै त्यसको कारण बताउँछ ।

कुनै पनि घटनाको पछाडि कारण हुन्छ, त्यो कारणलाई नष्ट गर्न सके मात्र भवचक्रको अन्त्य हुने सिद्धान्त नै गौतम बुद्धको मौलिक खोज हो । यस अनुसार पूर्वजन्म र पुनर्जन्मको कुरा नकार्न मिल्दैन । 

बौद्ध धारणा अनुसार मानिसको मृत्युपछि कहिले, कहाँ र कुन योनिमा जन्म हुन्छ भन्ने कुरा उसले जीवनमा गरेको राम्रा वा नराम्रा कर्ममा निर्भर हुन्छ । पुनर्जन्मको बारेमा बेलाबेला देश–विदेशमा असाधारण प्रसङ्ग बाहिर आउँछन् ।

यदाकदा बालबालिकाले पूर्वजन्ममा म यस्तो र उस्तो थिएँ भनी वर्णन गरेका घटनाहरू पूर्वीय समाजमा मात्रै नभई पश्चिमा मुलुकहरूमा पनि पाइन्छन् ।

पूर्वजीवनमा कुनै प्रभावशाली लामा भिक्षु रहेको व्यक्तिको पुनर्जन्म भएछ भने तिब्बती बौद्ध समाजमा उसलाई ‘टुल्कु’ भनिन्छ । तर ‘टुल्कु’ हुँदैमा साधनामा विशेष अर्थ नराख्ने भएका कारण सोही समाजमा पनि यसको औचित्यमाथि प्रश्न उठ्ने गर्छ । यस्तो पुनर्जन्मलाई सामान्यतया ‘अवतारी’ भनिएको पाइन्छ, तर यो शब्द बौद्ध दृष्टिले उपयुक्त मानिंदैन ।

बौद्ध इतिहासमा ‘सिद्ध परम्परा’ चर्चित छ । मुख्यतया ८४ जना सिद्धको उल्लेख हुने गरे पनि ती बाहेक अरू सिद्ध पनि हुन्छन् । सिद्धहरूका बारेमा तिलस्मी कुरा सुनिन्छन् । हावामा उड्ने, तत्क्षण अर्को ठाउँमा पुग्ने, पूर्वजन्मको कुरा बताउन सक्ने लगायत क्षमता अलौकिक लाग्छन् ।

यस्ता घटनामा स्वयं गौतम बुद्ध पनि सरिक भएका विभिन्न प्रसङ्ग पाइन्छन् । यसलाई बौद्ध समाजमा ‘ऋद्धिप्रतिहार्य प्रदर्शनी’ भनिन्छ । गौतम बुद्ध त्रायंतीश देवलोकमा गएर माता मायादेवीलाई उपदेश दिएको, उतै तीन महीना बसेर संकास्य (भारत) झरेको घटनालाई बौद्ध समाजले अलौकिक वा तिलस्मी मान्दैन ।

‘त्रिपिटिक’ अन्तर्गतका दुई ग्रन्थ ‘थेरगाथा’ र ‘थेरीगाथा’ बुद्धकालीन प्रभावशाली भिक्षु–भिक्षुणीहरूले बुद्धको आज्ञा अनुसार बुद्धकै समक्ष गरिएको ‘ऋद्धिप्रतिहार्य प्रदर्शन’ को वर्णन हो । सबै बौद्ध सम्प्रदायका ग्रन्थहरूमा यस्ता ऋद्धिप्रतिहार्यको घटना सामान्य रूपमा उल्लेख गरिएका छन् ।

बौद्धहरू साधनाका रूपमा ध्यान गर्छन् । ध्यानका विभिन्न तह पार गर्दै जाँदा ऋद्धि (अलौकिक शक्ति) क्षमता प्राप्त हुन्छ । बुद्धत्व प्राप्ति अघि सिद्धार्थ गौतमले ध्यानकै क्रममा यस्तो ऋद्धि प्राप्त गरेको वर्णन भेटिन्छ ।

त्यसै क्रममा उनले एकपछि अर्को गर्दै अनेकौं पूर्वजन्मबारे थाहा पाएका थिए, र अन्तिममा मात्रै बुद्धत्व प्राप्त भएको थियो । साधारण भिक्षुहरूले पनि ध्यानको बलमा ऋद्धि प्राप्त गर्दै अन्ततः अर्हत्व (श्रावक बुद्ध) प्राप्त गरेको कुरा बौद्ध ग्रन्थहरूमा पाइन्छन् ।

बुद्धले भिक्षु–भिक्षुणीहरूलाई ऋद्धि जहाँसुकै प्रदर्शन गर्दै हिंड्न प्रतिबन्ध लगाएको घटना भने मननयोग्य छ । ऋद्धिको दुरुपयोग नहोस् भनेर प्रतिबन्ध लगाइएको थियो ।

तत्कालीन समाजमा बौद्ध भिक्षु तथा भिक्षुणी बाहेक अन्य सम्प्रदायमा पनि ऋद्धि प्रदर्शनको प्रचलन थियो र यसको प्रतिस्पर्धा नै चल्थ्यो । ऋद्धि क्षमता भएकाहरूले सर्वसाधारणलाई चमत्कृत पारी समाजमा वाह्वाही पाउने भएकाले थप साधनामा नलागी त्यसैमा रुमल्लिने प्रवृत्ति थियो । यसको अर्थ, साधनाको क्रममा प्राप्त हुने ऋद्धिबल ‘बाइप्रडक्ट’ मात्रै हो ।

एउटै परिवेशमा जन्मेहुर्केका मानिस पनि फरक विशेषता र क्षमताका हुन्छन् । यसलाई बौद्ध धर्मले स्वाभाविक मान्छ । तर, यही क्षमतालाई भजाएर खानु वा प्रतिष्ठाको विषय बनाउनु बौद्ध दृष्टिकोणले निष्क्रिय हुनु हो ।

ध्यान साधनाका क्रममा साधकलाई आम व्यक्तिभन्दा फरक अनुभूति हुनु अलौकिक र असाधारण कुरा होइन ।तर, समाजमा यसैलाई विशेष मानेर चर्चा गरिन्छ ।

बौद्ध तथा गैरबौद्ध समाजमा पाइने यस्ता अनौठा पात्रभन्दा कैयौं गुणा बढी क्षमता भएका धर्मगुरु र साधकहरू चुपचाप साधना गरिरहेका हुन्छन् । ल

प्रतिकृया दिनुहोस