थली–साँखु सडक तत्काल स्तरोन्नति गर्ने सहमतिपछि आन्दोलन फिर्ता
काठमाडौंको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति गर्ने सहमतिपछि आन्दाेलन फिर्ता भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा नगरपालिका र संघर्ष समितिको सहमतिपछि आन्दोलन फिर्ता भएको हो ।
चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक लामो समयसम्म नबनेपछि मंगलबार बिहान बन्दको आह्वान गर्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए ।
सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका स्थानीयवासीले सडक खण्डको विभिन्न ठाउँमा टायर बाल्दै आन्दोलन गरेका थिए ।
स्थानीयवासीको आन्दोलनपछि भएको छलफलमा संघर्ष समिति र नगरपालिकाबीच तीनबुँदे सहमति भएको छ ।
तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत सहज बनाउने र चाँडोभन्दा चाँडो सडक निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको छ ।