संसदलाई गृहमन्त्रीको जवाफ– “सरकारले नैतिक जिम्मेवारी लिन्छ”
गृहमन्त्री रामबहादुर थापा बादलले गुठियारमाथि भएको प्रहरी धरपकड सम्बन्धी घटनाको संसदलाई जवाफ दिने क्रममा घटनाको नैतिक जिम्मेवारी लिने बताएका छन् ।
प्रतिनिधिसभामा सम्बोधन गर्दै गृहमन्त्री बादलले शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
२६ जेठमा गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकविरुद्ध माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हान्नुका साथै धरपकड गरेको थियो ।
त्यस क्रममा केही घाइते भएका थिए । प्रमुख प्रतिपक्षका सांसदहरुले घटनाबारे गृहमन्त्रीकाे जवाफ नआई संसद चल्न नदिने बताएका थिए ।
गृहमन्त्री थापाले मंगलबार संसदमा जवाफ दिदै भने, “सरकारले नैतिक जिम्मेवारी लिन्छ । जे कमी कमजोरी भएको छ, त्यसको छानविन हुन्छ । महानगरीय प्रहरीले छानविन पनि गरिरहेको छ ।”
‘प्रदर्शनकारीबाट पनि बल प्रयोग भएको र प्रदर्शनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको पनि गृहमन्त्रीले बताए ।
“शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाइन्छ तर सुरक्षाकर्मीलाई ढुंगा हान्ने, इँटा हान्ने र उनीहरूको मुखलाई क्षतविक्षत गर्ने अधिकारलाई हामी लोकतान्त्रिक अधिकार त भन्दैनौं”, गृहमन्त्रीले भने ।
गृहमन्त्रीको जवाफपछि कांग्रेस प्रमुख सचेतक बालृकष्ण खाँणले पक्राउ गरिसकेपछि पनि प्रहरीले लात्तैलात्ताले किन हानेको भन्ने प्रश्न गरे भने समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले प्रहरीले अनावश्यक बल प्रयोग गर्दै टाउकोमा किन हानेको भन्ने प्रश्न गरेका थिए ।