किम्फका प्रतिस्पर्धी ११ नेपाली चलचित्र
सन् २००९ मा भएको सातौं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा अविनाशविक्रम शाह निर्देशित टाइम इज परह्याप्स 'नेपाल पानोरमा' अन्तर्गत उत्कृष्ट घोषित भयो। त्यसपछि चर्चा कमाएका शाहको उक्त चलचित्र थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोट भयो।
अहिले २१ वटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कार जितिसकेको भोजराज भाट निर्देशित वृत्तचित्र सुनाकली को प्रिमियर पनि किम्फको १२औं संस्करणमै गरिएको थियो। यो वृत्तचित्रले महोत्सवमा 'जुरी स्पेसल मेन्सन–डकुमेन्ट्री' र 'बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड' जितेको थियो। १३औं किम्फ–२०१५ मा 'नेपाल पानोरमा' मै उत्कृष्ट गणेश पाण्डेको 'भाग्यले बाँचेकाहरू' ले त्यसयता एक दर्जन अन्तर्राष्ट्रिय अवार्ड भित्र्याइसकेको छ।
छैटौं किम्फ–२००८ मा चौकठ मार्फत पुरस्कृत दीपक रौनियारले त्यसपछि पछाडि फर्केर हेर्नु परेन। चलचित्र हाइवे बाट चर्चा कमाएका रौनियारको सेतो सूर्य बाटै १४औं किम्फको उद्घाटन हुने भएको छ। किम्फबाटै उदाएर थुप्रै नामले चलचित्रकर्ममा आफूलाई स्थापित गरिसकेका छन्।
अवसर र उत्प्रेरणा
निर्देशक अविनाशविक्रम शाह किम्फले देशभित्र र बाहिर चिनिने मौका दिएको बताउँछन्। त्यसयता अरु वृत्तचित्र र पटकथा लेखकको परिचय बनाएका उनी अहिले फिचर फिल्म निर्माणमा जुटेका छन्।
पाँचौं किम्फ–२००७ मा फरगिभ! फरगेट नट! वृत्तचित्रबाट अवार्ड जितेका प्रणय लिम्बू किम्फ नेपाली चलचित्रकर्मीका लागि राम्रो 'प्लेटफर्म' भएको बताउँछन्। 'धेरै दर्शकमाझ जाने मौका मिल्छ। अन्तर्राष्ट्रिय रुपमा पनि बाटो खुल्छ”, द स्पोन्सर नामक चलचित्रको प्रिमियरको तयारी गरिरहेका उनी भन्छन्।
आठौं र नवौं संस्करणमा बिरामी शहर र द डेजर्ट इट्स अस वृत्तचित्रबाट किम्फमा पुरस्कार जितेका केसाङ छेतेन हु विल वि अ गुर्खा मार्फत दशौं संस्करणमा पनि विजेता बने। छेतेनसँगै ध्रुव बस्नेत, मोहन मैनाली, हरिबहादुर थापा, दिपेन्द्र भण्डारी, रमेश खड्का, सहारा शर्मा, दिपेश खरेल, सचिन घिमिरे, पूजा गुरुङ र विभूषण बस्नेतजस्ता थुप्रै नामले किम्फ लाई केही दिएका छन्, पाएका पनि छन्।
सुनाकली का निर्देशक भाट किम्फ आफ्ना लागि 'वरदान' भएको बताउँछन्। “किम्फको एघार वर्षसम्म दर्शक भएँ, १२औं संस्करणमा अवार्ड जितें”, उनी भन्छन्, “त्यसपछि सुनाकली ले २१ अवार्ड पाइसकेको छ।” चलचित्रकर्मीका लागि किम्फ सपना पूरा गर्ने माध्यम भएको उनको भनाइ छ।
'नेपाल पानोरमा' को देन
चौथो संस्करणसम्म अन्तर्राष्ट्रिय चलचित्रसँगै बसेर एउटै विधामा प्रतिस्पर्धा गर्दै आएका नेपाली चलचित्रकर्मीले २००७ को पाँचौं संस्करणदेखि 'नेपाल पानोरमा' अन्तर्गत सहभागिताको अवसर पाएका थिए। त्यसवर्ष ७ वटा नेपाली चलचित्रले प्रवेश पाएकोमा यस वर्ष यो संख्या १६ पुगेको छ। आयोजक हिमाल एसोसिएसनका अनुसार यो वर्षको १४औं 'नेपाल पानोरमा' का १६ वटासँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १९ र अप्रतिस्पर्धी ४८ गरी देश–विदेशका ८० वटा चलचित्र प्रदर्शन गरिनेछन्।
किम्फमा चलचित्र प्रदर्शनसँगै हुने चलचित्रकर्मी, दर्शक र विश्लेषकहरूबीचको छलफलले थप ऊर्जा दिने चलचित्रकर्मीको भनाइ छ। “किम्फका अवसरमा हुने स्वदेशी–विदेशी निर्देशकहरूसँग हुने छलफलले आफ्नो चलचित्रको वास्तविकता मात्र होइन, नयाँ ज्ञानसमेत सिक्न सकिन्छ”, निर्देशक प्रणय लिम्बू भन्छन्। यसखाले महोत्सवले नेपाली चलचित्र र चलचित्रकर्मीलाई 'एक्सपोजर' को अवसर दिने पनि उनी बताउँछन्।
यसबाहेक कतिपय चलचित्रलाई किम्फ आफैंले पनि अन्तर्राष्ट्रिय महोत्सवका लागि सिफारिश गर्दै आएको छ। 'घुम्ती किम्फ' मार्फत नेपालका विभिन्न भागमा चलचित्र देखाइँदै आएको छ।
'नेपाल पानोरमा' मा प्रतिस्पर्धी फिल्म
- अ सङ फर बारपाक (प्रदीप पोखरेल)
- बारखरी लौरो (डा. घनश्याम खतिवडा)
- वियोण्ड दि ह्वाइट केन (उपेन्द्रराज पाण्डे र बद्री न्यौपाने)
- ब्लकेड (श्याम कार्की)
- चन्द्र (अस्मिता श्रीष र फतिमा अहमदी)
- दद्या (पूजा गुरुङ र विभूषण बस्नेत)
- देवकी इन सर्च अफ देवी (देवकी बिष्ट)
- हस्पिटल (केसाङ छेतेन)
- भुसको लोग्ने (ज्योतिकेशर सिंह ठकुरी)
- मेला (रघु र शिव)
- फूलसिरी (निग्मा गेलु लामा)
- राइज एन्ड फल (नवीन भट्ट)
- सिमलको भुवा जस्तै (गोविन्दप्रसाद खनाल)
- स्प्लिट इन्ड्स (राजन कठेत)
- द किड्नी एक्सन (आयुष कपर र अना महर्जन)
- विन्ड अफ चेन्ज इन लो मुस्ताङ (फिडेल देवकोटा)
- आत्मसन्तुष्टिका कारण
आत्मसन्तुष्टिका कारण
त्यसो त किम्फका शुरुआती संस्करणहरूमा केही नेपाली चलचित्र सहभागी नभएका होइनन्। तर, तिनको संख्या एकदमै न्यून थियो। एक त आवेदन नै कम पर्ने, परेकामध्ये स्तरीय छान्नै गाह्रो र छानिएकाले पनि अन्तर्राष्ट्रिय विधामै रहेर प्रतिस्पर्धा गर्नुपर्ने अप्ठेरो अवस्था थियो।
गुणस्तरीय विदेशी चलचित्रहरूसँग नेपाली फिल्मले सोझै प्रतिस्पर्धा गर्न नसक्ने महसूस भएपछि किम्फको पाँचौं संस्करण (सन् २००७) देखि हामीले 'नेपाल पानोरमा' स्थापना गर्यौं। यसखाले छुट्टै स्पर्धाले नेपाली चलचित्रको संख्यात्मक र गुणात्मक स्तर वृद्धिको आशा हामीले राखेका थियौं। यसपटकको किम्फमा अहिलेसम्मकै सबैभन्दा बढी १६ वटा नेपाली चलचित्र छानिएपछि त्यतिबेला ठीक गरेछौं भन्ने लागेको छ।
थोरै सही तर अहिले नेपाली फिल्म पनि व्यावसायिक र कलात्मक हिसाबले पनि सफल हुन थालेका छन्। भाषा र भूगोल मात्रै नेपाली बाँकी सबै बलिउडको नक्कल गर्ने फिल्मका ठाउँमा आफ्नैपनको खोजी हुन थालेको छ। संयोग के छ भने अहिले प्रशंसित चलचित्रकर्मीमध्ये धेरैसँग किम्फले सहकार्य गर्ने मौका पाएको रहेछ। दीपक रौनियार र मीनबहादुर भामजस्ता युवाको लोभलाग्दो प्रगतिलाई नै हेरौं।
यसबाहेक इन्टरनेशनल अलायन्स फर माउन्टेन फिल्मको सदस्यको नाताले किम्फले संसारभर हुने चलचित्र महोत्सवमा नेपाली फिल्मको अनिवार्य सहभागिताका लागि प्रयत्न पनि गरिरहेको छ। यसो हुनसके नेपाली चलचित्रबारे विश्वले जान्ने अवसर पाउनेथियो।