गृहमन्त्रीको जवाफ माग्दै कांग्रेसद्वारा संसद अवरुद्ध
सरकारले ल्याएको गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा गरिएको धरपकडको विरोधमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ माग्दै संसद् अवरुद्ध गरेको छ ।
सोमबार संसद बैठक सुरु भएलगत्तै कांग्रेस सांसदले गुठी विधेयकको विरोध प्रदर्शनमा आइतबार गरिएको धरपकडको विरोध गरेका थिए ।आइतबारको प्रदर्शनको क्रममा प्रहरीले प्रदर्शनकारीमाथि लठ्ठी तथा पानीको फोहोरा प्रहार गरेको थियो ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले धर्म प्रचारकको टोपी लगाएर सरकारले पुरातन संस्कृतिमाथि प्रहार गरेको आरोप लगाए ।
बैठकमा कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले शान्तिपूर्ण भेला भएका आम नागरिकमाथि बर्बरतापूर्ण आक्रमण गरेको भन्दै सो कार्यको भर्त्सना गरेका थिए ।
संविधानले धर्म संस्कृति र परम्पराको संरक्षण गर्ने प्रतिबद्धता जाहेर गरेको स्मरण गर्दै उनले गुठीसम्बन्धी विधेयकले धर्म संस्कृति परम्परा र सम्पदामाथि गम्भीर प्रहार गरेको दाबी गरे ।
सरकारले धर्म, संस्कृति, परम्परा र गुठीको अस्तित्वलाई समाप्त पार्ने ढंगले गैरउत्तरदायी ढंगले गुठीसम्बन्धी विधेयक ल्याएको भन्दै उनले घोर आपत्ति जनाए ।
भूमिसुधार मन्त्री पद्मा अर्यालले विधेयकबारे जवाफ दिदै मौलिक परम्परा र धर्म संस्कृतिमाथि असर नपर्ने गरी विधेयक ल्याइएको र यसबारे संसदमा छलफल हुने बताइन् ।
प्रहरी धरपकडबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने भन्दै कांग्रेस सांसदहरूले संसद अवरोध गरे । सभामुखले गृहमन्त्री सदनमा नभएको भन्दै समय मागे पनि प्रमुख प्रतिपक्षीले अवरोध गरिरहेपछि संसद बैठक स्थगित भएको हो ।
संसद बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।