प्रधानमन्त्री ओलीले श्रम सङ्गठन सम्मेलनलाई सोमबार सम्बोधन गर्ने, आजै लण्डन जाने कार्यक्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सोमबार नै प्रधानमन्त्री ओलीले स्वीस सरकारका वरिष्ठ अधिकारी तथा सम्मेलनमा सहभागी विभिन्न देशका नेतासँग भेटवार्ता गर्नेछन् ।
जेनेभाका विभिन्न कार्यक्रमपछि प्रधानमन्त्री ओली सोमबार नै संयुक्त अधिराज्यको औपचारिक भ्रमणका लागि लण्डन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच प्रधानमन्त्री ओली राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।
प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् ।
यसअघि यूरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा शुरुमा प्रधानमन्त्री ओली आइतबार कतारको दोहाबाट जेनेभा आइपुगेका हुन् ।