गुठी विधेयक विरुद्ध गृहमन्त्रीकाे राजीनामा माग्दै मसाल जुलुस
गुठी सम्बन्धी विधेयकको विरोध प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै काठमाडौंमा मसाल जुलुस निकालिएको छ ।
आज बेलुकी काठमाडाैंकाे लगनबाट शुरु भएको मसाल जुलुस बसन्तपुर पुगेर काेण सभामा परिणत भएको थियो।
जुलुसपछि आयोजित कोणसभामा गुठीयारहरुले गृहमन्त्रीको राजीनामा माग गरेका थिए ।
कोणसभामा बोल्दै नेवा: देय् दबूका अध्यक्ष नरेश ताम्राकारले सरकारले गुठी विधेयकबाट नेपालको धर्म संस्कृतिमाथि प्रहार गरेको आरोप लगाए । “सरकारले नेपालीपन नामेट पार्ने प्रयास गरिरहेको छ। यसको विरुद्ध हामी सशक्त संघर्ष गर्छौं”, उनले भने ।
प्रदेश ३ का प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठले यो विधेयक ल्याएर सरकारले राजनीतिक रुपमा नै भ्रष्टाचार गर्न खोजेको आराेप लगाए ।
सरकारले संघीय संसदमा दर्ता गराएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आज दिउँसो माइतीघरमा प्रर्दशन गरिएको थियो ।
उक्त प्रदर्शनमा प्रहरीले दमन गरेको बिरोधमा बेलुका गुठीयारहरुले मसाल जुलुस निकालेका हुन् ।