आन्दोलनलाई देशव्यापी बनाउने एमालेको निर्णय
संविधान संशोधन विधेयक विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने नेकपा (एमाले)ले निर्णय गरेको छ ।
२० मंसिरमा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको स्थायी समिति बैठकले संशोधन विधेयक विरुद्धको आन्दोलनलाई देशव्यापी बनाउने निर्णय गरेको हो । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तीमा स्थायी समिति बैठकले संविधान संशोधन विधेयकलाई ‘राष्ट्रिय हित विपरित, असंवैधानिक र जनविरोध विधेयक’को संज्ञा दिएको उल्लेख छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले बिभिन्न जिल्लामा भइरहेका आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । यससँगै एमालेले विधेयकलाई फिर्ता लिइ सहमतिको माध्यमबाट समस्याको समाधान गर्न र चुनावको वातावरण सरकारको ध्यानाकर्षण गराएको छ ।
एमाले स्थायी समिति बैठकले ‘नेपालभित्रको कुनै पनि समस्या समाधान गर्न नेपालका राजनीतिक दल तथा जनताले आफै समाधान गर्दै मुलुकलाई अग्रगामी दिशमा अगाडी बढाउन नेपाल राष्ट्र आफै सक्षम’ रहेको उल्लेख गर्दै नेपालको हितमा विदेश मित्रराष्ट्रको शुभेच्छा अपेक्षा गरेको जनाएको छ । विज्ञप्तीमा भनिएको छ, ‘नेपालको आन्तरिक विषयहरुमा अनावश्यक चासो राख्दै, आन्तरिक मामलामा पक्षधरता तथा हस्तक्षेप गर्ने कुनै पनि काम कारवाही नगर्न वैठकले हाम्रा छिमेकी तथा अन्तर्राष्ट्रिय मित्रहरुलाई हार्दिक अपिल गरेको छ ।”