चालु आर्थिक वर्षमा ७.१ प्रतिशतको आर्थिक वृद्धिः विश्व ब्याङ्क
विश्व ब्याङ्कले चालु आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने आकलन गरेको छ ।
आज नेपाल डेभलपमेन्ट अपडेट जारी गर्दै विश्व ब्यांकले सेवा र कृषि क्षेत्रको विस्तारका कारण आर्थिक वृद्धिदर सकारात्मक हुने अनुमान गरेको हो ।
केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षमा ६.८ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।
विश्व ब्याङ्कले सेवा क्षेत्रको विस्तार एवं रेमिटेन्सको वृद्धिदरका कारण आगामी वर्षहरुमा औसत ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान पनि गरेको छ ।
पूर्ण शिक्षा र स्वास्थ्यको मानक कायम गरे नेपालले दीर्घकालमा कुल गार्हस्थ उत्पादनलाई दोब्बर पार्ने सम्भावना रहेको पनि उल्लेख गरेको छ ।
काठमाडौंमा प्रतिवेदन सार्वजनिक गर्दै विश्व ब्याङ्कका वरिष्ठ अर्थशास्त्री डा. केन इजेमेनारीले शिक्षा, स्वास्थ्यसहित मानव विकासमा सरकारले पर्याप्त लगानी बढाए नेपाल मध्य आय भएको मुलुकको लक्ष्यभन्दा पनि अगाडि जानसक्ने बताए ।
नेपालले मानव पुँजीमा लगानी गरेर उत्पादकत्व वृद्धि र श्रमको प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिवेदनले रेमिटेन्स घट्नसक्ने जोखिमलाई नेपाली अर्थतन्त्रको प्रमुख चुनौतिका रुपमा उल्लेख गरेको छ ।
खाडी क्षेत्रमा भू राजनीतिक तनाव तथा तेलको मूल्यको अनिश्चितता कायम रहे त्यसले नेपालको रेमिटेन्सलाई जोखिमपूर्ण बनाउने विश्व ब्याङ्कको अनुमान छ ।
रेमिटेन्स घटेमा घरपरिवारको खर्च गर्ने क्षमता कमजोर हुने, ब्याङ्कमा तरलता अभाव हुने तथा लगानीको लागि रकम अभाव हुने जोखिम हुन्छ ।
त्यस्तै, जलवायु सम्बन्धित विपत्ति र जोखिमहरुलाई विश्व ब्याङ्कले नेपाली अर्थतन्त्रका लागि अर्को चुनौती भएको उल्लेख गरेको छ ।
वित्तीय संघीयताको कार्यान्वयनको सुस्तता र अपर्याप्त क्षमतालाई पनि विश्व ब्याङ्कले चुनौतिपूर्ण मानेको छ ।
ब्याङ्कले लगानी क्षमता विस्तारका लागि रिफर्मका काम निरन्तर अघि बढाउन लागि पनि सरकारलाई सुझाव दिएको छ ।