अन्तर्वार्ता/विचारबुधबार, २२ जेठ , २०७६

‘सीपीडी कार्यक्रमःचिकित्सकको व्यावसायिक विकासमा कोसेढुंगा’

रामु सापकोटा

चिकित्सकहरूको व्यावसायिक क्षमता र व्यक्तित्व विकास गर्न नेपाल मेडिकल काउन्सिलले लागू गरेको सीपीडी कार्यक्रमले समग्र स्वास्थ्य सेवाको गुणस्तर सुधार्न सहयोग पुर्‍याउने अपेक्षा छ। सीपीडी कार्यक्रम, यसले स्वास्थ्य सेवामा ल्याउने परिवर्तन र चुनौतीबारे हिमाल खबरपत्रिकाले गरेको राउण्ड टेबलको सारः  

सीपीडी कार्यक्रम किन लागू गर्नुपरेको हो ?

डा. धर्मकान्त बाँस्कोटा
अध्यक्ष, नेपाल मेडिकल काउन्सिल
चिकित्सकले स्नातक वा स्नातकोत्तर तह अध्ययनका क्रममा हासिल गरेको ज्ञानलाई ‘अपडेट’ गर्ने व्यवस्था थिएन । यसले गर्दा चिकित्सा विज्ञानका नवीनतम उपलब्धि सर्वसाधारणसम्म पुगिरहेको छैन ।

त्यसैले काउन्सिलले लामो समयको तयारीपछि सीपीडी कार्यक्रम लागू गरेको हो । अस्पतालमा हुने ‘मेडिकल इरर’ कम गर्न र चिकित्सकलाई व्यावसायिक आचरणभित्र रहेर अभ्यास गराउन पनि यो कार्यक्रम ल्याइएको हो ।

डा. सुशील कोइराला
पूर्व अध्यक्ष, नेपाल डेन्टल एशोसिएसन

चिकित्सकहरूले एकपटक एमबीबीएस वा बीडीएस तहको अध्ययन पूरा गरेर लाइसेन्स लिएपछि आजीवन काम गर्न पाइने व्यवस्था थियो । चिकित्सा विज्ञानमा पाठ्यक्रमको विषय मात्र पढेर हुँदैन, व्यावहारिक र सामाजिक ज्ञान पनि चाहिन्छ । सामाजिक उत्तरदायित्वलाई समेट्दै पेशालाई मर्यादित गराउने भएकाले सीपीडी चाहिएको हो ।

डा. राजेन्द्र कोजू
डीन, स्कूल अफ मेडिकल साइन्सेज
काठमाडौं विश्वविद्यालय

बिरामीलाई राम्रो सेवा दिन चिकित्सकको व्यावसायिक विकास हुनु जरुरी छ । सीपीडी कार्यक्रमले चिकित्सकको क्षमता विकास गर्छ, जसले अन्ततः बिरामीलाई फाइदा पुर्‍याउँछ । 

डा. सविना भट्टराई
भाइस प्रिन्सिपल, काठमाडौं मेडिकल कलेज

चिकित्सा विज्ञान अध्ययनमा पाठ्यक्रम परिमार्जन भएर नयाँ–नयाँ कुरा आइरहेका छन् । संसारभर विभिन्न औषधिबारे अनुसन्धान र आविष्कार हुने गर्छ ।

नयाँँ उपचार विधि पनि विकास भइरहेको हुन्छ। नयाँ औषधिबारे जानकारी दिई कुन विधिबाट उपचार गर्ने भनेर निर्णय लिन सक्ने क्षमता विकास गराउन सीपीडी चाहिएको हो ।

डा. ढुण्डीराज पौडेल
वरिष्ठ उपाध्यक्ष, नेपाल चिकित्सक संघ
चिकित्सकहरूको व्यक्तित्व विकास गरी गुणस्तरीय सेवा प्रदान गर्न सीपीडी आवश्यक छ । यस कार्यक्रमले चिकित्सकले आफैंलाई सुधार्न धेरै सघाउँछ ।

डा. भगवान कोइराला
वरिष्ठ कार्डियाक सर्जन, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर

सीपीडी कार्यक्रम मुलुकको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र विकासको महत्वपूर्ण पाटो हो। मेडिकल काउन्सिलबाट लिएको लाइसेन्स कहिल्यै नवीकरण गर्नु नपर्ने परिपाटीका कारण चिकित्सकको सीपमा क्षयीकरण र बिरामीको सुरक्षामा प्रश्न उठिरहँदा सीपीडीले त्यसलाई न्यूनीकरण गर्छ ।

तर, सीपीडी शुरु गर्नासाथ सबै कुरा एकैचोटि ठीक नभई विस्तारै सुधार आउँछ ।

डा. अरुणा उप्रेती
जनस्वास्थ्यविद्
युवा चिकित्सकमा बिरामी र सहकर्मीसँग कसरी संचार र समन्वय गर्ने भन्नेमा कम ज्ञान छ ।

बिरामीका आफन्त र डाक्टरबीच हुने द्वन्द्वको प्रमुख कारण राम्रो संचार क्षमताको अभाव पनि हो । यो विषय सीपीडीले समेट्न सक्यो भने द्वन्द्व कम हुनेछ ।

के सीपीडीले चिकित्सकलाई कानूनी विषयमा पनि ज्ञान दिन्छ ?

डा. धर्मकान्त बाँस्कोटा
सीपीडी कार्यक्रममा सात वटा ‘मोड्युल’ छन् । बिरामीको उपचार गर्ने क्रममा हुने त्रुटि–कमजोरीबारे विश्लेषण गर्दा चिकित्सकबाट नराम्रो व्यवहार भएको पनि देखिन्छ ।

त्यसैले कार्यक्रममा चिकित्सकको नैतिक आचरण र अन्य कानूनी विषय समेटिएका छन् ।

सीपीडीका बलिया पक्ष के के छन् ?
डा. सुशील कोइराला
निजी अस्पताल र नर्सिङ होममा ज्ञान आदानप्रदान भन्दा पनि ‘सेल्स’ कसरी बढाउने, लक्ष्य अनुसार कसरी कारोबार गर्ने जस्ता आर्थिक बैठक बढी हुन्छन् । सीपीडीले यस्ता गतिविधिमाथि प्रहार गर्छ ।

तोकेको विषय पढेपछि मात्र प्रत्येक चिकित्सकको पाँच–पाँच वर्षमा लाइसेन्स नवीकरण हुने भएकाले यो ठीक कार्यक्रम हो ।

डा. राजेन्द्र कोजू
कतिपय चिकित्सक देशका अति दुर्गम ठाउँका जिल्ला अस्पतालदेखि प्राथमिक स्वास्थ्य केन्द्रमा बसेर काम गरिरहेका छन् । उनीहरूलाई चिकित्सा विज्ञानमा आएका नयाँ विषयबारे सिक्ने वातावरण छैन ।

क्षेत्रीय र अञ्चल अस्पतालमा पनि यस्तो वातावरण नहुन सक्छ । यस्तै, निजी अस्पतालमा काम गर्ने चिकित्सकहरूको पनि आफ्नै समस्या छ । त्यसैले दुर्गमका चिकित्सकदेखि शहरका मेडिकल कलेजमा काम गर्ने चिकित्सकसम्मलाई एकै खालको ज्ञान प्रदान गर्नु सीपीडीको बलियो पक्ष हो ।

डा. सविना भट्टराई
मेडिकल कलेजले विद्यार्थीलाई पढाउने, बिरामीलाई सेवा दिने र अनुसन्धान गर्ने गरी तीन वटा क्षेत्रमा काम गर्छ । सीपीडीले यी तीन वटै क्षेत्रलाई समेट्नु ठूलो कदम हो । तर, सीपीडीलाई कसरी दीर्घकालसम्म लागू गर्ने भन्ने विषयमा तयारी गर्नुपर्ने देखिन्छ ।

चिकित्सक उत्पादन गर्ने मेडिकल कलेजहरूमै भौतिक पूर्वाधार अभाव रहेको भन्ने कुरा आइरहेका बेला सीपीडी कार्यक्रम लागू गर्न चाहिने पूर्वाधार र वातावरण तयार भइसकेको छ त ?

डा. धर्मकान्त बाँस्कोटा
यो कार्यक्रम संचालन गर्न मेडिकल कलेजहरूमा छुट्टै पूर्वाधार चाहिंदैन । एउटा भवन र ‘बेसिक लाइफ सपोर्ट’ तथा ‘कार्डियाक–पल्मोनरी रिससिटेसन’ ९सीपीआर० भए पुग्छ । काउन्सिलको मेडिकल कलेज संचालन सम्बन्धी मापदण्ड अनुसार प्रत्येक कलेजमा ‘स्किल ल्याब’ अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

यसले सीपीडी कार्यक्रम संचालन गर्न सकिन्छ । ‘सिमुलेसन ल्याब’ जस्ता थप पूर्वाधारको व्यवस्था मिलाउन काउन्सिलले कलेज संचालकलाई निर्देशन दिइसकेको छ ।

सीपीडीको अर्को महत्वपूर्ण विषय डाक्टरहरूको आचारसंहिता भएकाले हरेक मेडिकल कलेज तथा अस्पतालमा ‘इथिकल’ समिति बनाउन भनेका छौं ।

डा. भगवान कोइराला
मेडिकल कलेजमा पूर्वाधार अभाव हुँदैमा सीपीडी कार्यक्रम रोकिंदैन । कलेजहरूमा पूर्वाधार लगायतका समस्या भए पनि त्यहाँबाट उत्पादित चिकित्सकलाई ‘रि–ओरियन्टेसन’ गर्न सीपीडी कार्यक्रम ल्याइएको हो ।

तर, मेडिकल कलेजको पठनपाठन राम्रो नहुँदा अध्ययन गर्न छुटेका विषयलाई सीपीडीले परिपूर्ति भने गर्दैन । यस्तै, सीपीडी कार्यक्रम कम स्रोतसाधनबाट संचालन गर्न सक्ने बनाउन आवश्यक छ ।

डा. राजेन्द्र कोजू
सीपीडी कार्यक्रम चलाउन धेरै व्ययभार पर्दैन । केयू अन्तर्गतका सबै मेडिकल कलेजमा कार्यक्रम संचालन गर्न चाहिने ‘स्किल ल्याब’ छन् ।

यस्तै, एमबीबीएस अध्ययन पूरा गरेका विद्यार्थीलाई इन्टर्नसिपको समयमा ‘बेसिक लाइफ सपोर्ट’ को तालिम दिने व्यवस्था छ । सीपीआर जस्ता आधारभूत पूर्वाधार सबै मेडिकल कलेजमा भएकाले समस्या पर्दैन ।

चिकित्सकले सीपीडी कार्यक्रम मार्फत आफ्नो व्यावसायिक क्षमता त विकास गर्लान्स तर, त्यसपछि उनीहरूले आचारसंहिता अनुसार नै अभ्यास गर्छन् भन्ने आधार के छ ?

डा. ढुण्डीराज पौडेल
चिकित्सा विज्ञानमा एकपटक प्राप्त ज्ञानले सधैंभरि काम दिंदैन भनेर सीपीडी मार्फत ‘अपडेट’ गर्न खोजिएको हो । डाक्टरहरू राम्रो सोचले आफैं अभिप्रेरित भएर सीपीडी कार्यक्रममा सहभागी हुनुपर्छ । यसो भयो भने मात्र चिकित्सकको नैतिक आचरण सुध्रिन सक्छ ।

डा. भगवान कोइराला
पक्कै पनि सीपीडी मार्फत राम्रो कुरा जान्दैमा चिकित्सकले राम्रो काम गर्छन् भन्न सकिंदैन । सिकेका कुरालाई व्यवहारमा कत्तिको लागू गर्छन् भन्ने कुरामै गुणस्तरीय स्वास्थ्य सेवा निर्भर गर्छ ।

सीपीडी कार्यक्रमसँगै सबै चिकित्सकलाई आचारसंहिताको दायराभित्र राखेर चिकित्सकीय अभ्यास गराउने जिम्मेवारी पनि मेडिकल काउन्सिलकै हो ।

डा. अरुणा उप्रेती
सीपीडी मार्फत सिकेका कुरा आचारसंहिताभित्र रहेर लागू हुन्छ या हुँदैन भन्नेमा डाक्टरहरूको मात्र भूमिका हुँदैन । व्यापार गर्ने उद्देश्यले खुलेका अस्पताल र क्लिनिकहरूका कारण पनि विकृति निम्तिएको हो ।

बिरामीलाई तत्काल गर्नै नपर्ने एमआरआई, सिटी स्क्यान जस्ता परीक्षण गर्न लगाउने प्रवृत्ति बढेको छ । यस्ता अनैतिक क्रियाकलाप रोक्न सीपीडीले सहयोग गर्ला त भन्ने टड्कारो प्रश्न छ । जबसम्म सरकारले यस्ता गतिविधि नियन्त्रण गर्न कदम चाल्दैन, तबसम्म अनैतिक अभ्यास भइरहन्छन् ।

डा. धर्मकान्त बाँस्कोटा
सीपीडी कार्यक्रममा सहभागी नभएर अटेरी गर्ने चिकित्सकको लाइसेन्स खारेज हुन्छ । कार्यक्रम मार्फत नयाँ कुरा सिकेपछि चिकित्सकीय अभ्यासमा स्वाभाविक रूपमा परिवर्तन आउँछ ।

यस्तै, सीपीडीले मेडिकल कलेज तथा विश्वविद्यालयका फ्याकल्टी प्रवद्र्धनमा पनि सहयोग पुर्‍याउने भएकाले यो शिक्षण पेशामा आवद्ध व्यक्तिलाई पनि आकर्षणको विषय हो ।

डा. ढुण्डीराज पौडेल
सीपीडीले चिकित्सकलाई आचारसंहिता र अनुशासनभित्र रहेर काम गर्न प्रेरित गर्छ । देशमा ८० प्रतिशत डाक्टर निजी अस्पताल तथा क्लिनिकमा काम गर्छन् ।

उनीहरूले एमबीबीएस तह अध्ययन गर्दा रु।४० लाखदेखि रु.५० लाखसम्म खर्चने भएकाले आचारसंहिता विपरीत काम गर्ने सम्भावना अधिक हुन्छ । त्यस्ता डाक्टरको व्यक्तित्व विकास हुन आवश्यक छ ।

डा. राजेन्द्र कोजू
कुनै समय चिकित्सा पेशा विशुद्ध सेवा मात्र थियो । त्यसैले मानिसहरू डाक्टरलाई ‘भगवान’ कै स्वरूप मान्थे ।

समय क्रममा सेवा दिने संस्था सरकारीभन्दा निजी बढी भए, व्यवसायीकरण स्वतः बढ्यो । सीपीडीले व्यापारमुखी चिकित्सकलाई आचारसंहिताभित्र बसेर काम गर्न मद्दत पुर्‍याउँछ ।

दुर्गम भेगमा काम गर्ने चिकित्सकहरू सीपीडी कार्यक्रममा समेटिन गाह्रो पर्ने चिन्ता प्रकट भइरहेको छ । यसमा के भन्नुहुन्छ ? 

डा‍. धर्मकान्त बास्कोटा
सीपीडीका पाँच मोड्यूलका लागि पाँच वर्षभित्र पाँच दिनको समय मात्र दिए पुग्छ । जुनसुकै ठाउँका चिकित्सकले पनि उक्त समय छुट्याउन सक्छ ।

यस्तै, सात प्रदेशमा विभिन्न सेन्टर हुने भएकाले सबै चिकित्सक मेडिकल काउन्सिलमा आउनै पर्दैन । कसैले वर्षमा पाँच दिन निकाल्न सक्दिनँ भन्छ भने त्यो बहानाबाजी मात्रै हो ।

डा. भगवान कोइराला
जुम्ला जस्ता विकट ठाउँमा बसेर डाक्टरहरूले रात–दिन काम गर्ने हो भने त सीपीडी नै चाहिंदैन । ग्रामीण क्षेत्रमा काम गर्ने चिकित्सक आधा वर्ष छुट्टी लिएर काठमाडौं बसिरहेका हुन्छन् । उनीहरूले सीपीडी कार्यक्रममा सहभागी हुन अप्ठ्यारो पर्छ भन्नु गलत हो ।

डा. सुशील कोइराला
गाउँमा गएर मेडिकल वा डेन्टलको शिविर चलाउने चिकित्सकले पनि सीपीडी मार्फत दुई अंक पाउँछन् । त्यसैले उनीहरूलाई त यो कार्यक्रममा सहभागी हुन झनै सजिलो छ ।

डा. राजेन्द्र कोजू
अनलाइन मार्फत पनि सीपीडीमा सहभागी हुनसक्ने व्यवस्था मिलाउन लागिएकाले दुर्गमका डाक्टर पनि समेटिनेछन् ।

बिरामीको उपचार नर्स, पारामेडिक्स, हेल्थ असिस्टेन्ट लगायतका जनशक्तिको सामूहिक प्रयासमा गरिने भए पनि चिकित्सकका लागि मात्र सीपीडी कार्यक्रम लागू गरिएको छ । अन्य क्षेत्रका जनशक्तिका लागि यो कति महत्वपूर्ण छ ? 

डा. भगवान कोइराला
सीपीडी औषधोपचारमा सहभागी अन्य जनशक्तिलाई पनि आवश्यक छ । बिरामीको जटिल केसहरू हेर्नुपर्ने भएकाले उपचार प्रक्रियामा सहभागी हुने जनशक्ति एकापसमा जोडिएका हुन्छन् । नर्सले समयमा इन्जेक्सन नदिंदा बिरामीको ज्यानै जाने सम्भावना हुन्छ । त्य

सैले सीपीडी सबैका लागि लागू गर्नुपर्ने बेला भएको छ । त्यसका लागि नर्सिङ परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् लगायतका अन्य सरोकारवाला निकायले अग्रसर हुनुपर्छ ।

डा. धर्मकान्त बास्कोटा
बिरामी जाँच्ने काम समूहमा गरिने र त्यसको नेतृत्व चिकित्सकले गर्ने भएकाले सबैभन्दा पहिला चिकित्सक सक्षम हुनुपर्छ । चिकित्सक सक्षम भएपछि समूहका अन्य सदस्यलाई पनि जिम्मेवार बनाउन अभिप्रेरित गर्छ ।

सिकाउने पनि चिकित्सककै दायित्व हो । मेडिकल काउन्सिलले सीपीडी शुरू गरेपछि स्वास्थ्य क्षेत्रका अन्य काउन्सिललाई पनि यो कार्यक्रम थाल्ने बाटो खुलेको छ । 

डा. सुशील कोइराला
जनशक्तिको क्षमता विकास गर्ने कामको थालनी डाक्टरबाटै गर्नुपर्छ । यसका साथै, डाक्टर जतिसुकै सक्षम भए पनि समूहका अन्य सदस्य सक्षम भएनन् भने उपचार क्रममा निम्तिन सक्ने संक्रमण नियन्त्रण गर्न गाह्रो हुन्छ ।

त्यसैले ‘साइड इफेक्ट’ छैन र हामीले गरेका सबै काम राम्रो हुन् भन्ने आयुर्वेदिक काउन्सिलले समेत सीपीडी लागू गर्नुपर्छ ।

डा. राजेन्द्र कोजू
चिकित्सक बाहेक अन्यलाई पनि सीपीडी आवश्यक छ । यसो भयो भने उपचारका क्रममा जटिलता निम्तियो भने सजिलै समाधान गर्न सकिन्छ ।

डा. सविना भट्टराई
छाला सम्बन्धी रोगको उपचारमा आयुर्वेदिक भन्दै डाक्टरको सिफारिश विना औषधि बिक्री गर्ने प्रवृत्ति बढिरहेको छ । यस्तो अभ्यासले स्वास्थ्यमा थप जटिलता निम्तिन सक्छ । त्यसैले डाक्टर बाहेक स्वास्थ्य क्षेत्रका अन्य जनशक्तिलाई पनि सीपीडी तालिम दिएमा तिनको दक्षता र सीप वृद्धि हुन्थ्यो ।

सीपीडी कार्यक्रम संचालन गर्न मेडिकल काउन्सिल पूरै तयार भइसकेको हो त ?

डा. धर्मकान्त बाँस्कोटा
सीपीडी कसरी लागू गर्ने भन्नेबारे काउन्सिलले चार वर्षदेखि तयारी गरिरहेको थियो । अहिले भने अस्पताल निर्देशकहरूलाई बोलाएर सीपीडी लागू भइसकेको जानकारी गराइरहेका छौं । काउन्सिलले वेबसाइट मार्फत सीपीडीबारे सम्पूर्ण जानकारी दिने व्यवस्था मिलाइरहेको छ । 

 

पढ्नुहाेस् 
अब डाक्टरहरूले पनि पाँच/पाँच वर्षमा तालिम लिनुपर्ने, उत्तीर्ण भएमात्र लाइसेन्स नवीकरण 

प्रतिकृया दिनुहोस