रिपोर्टआइतबार, १९ जेठ , २०७६

कर्मको क्रूर खेल: एक्लै जले दीपेन्द्र

१९ जेठको राजदरबार हत्याकाण्ड (हिमाल–आर्काइभ)

रुपा जोशी

दुई रातपछि फेरि आर्यघाटमा अर्को चिता बल्यो। तर टुहुरै, एक्लै बल्यो। दीपेन्द्रलाई दागबत्ती दिँदा उनको लागि रुने परिवारजन कोही बाँकी थिएनन्। ती त अघि नै त्यही घाटमा खरानी भइसकेका थिए।

तस्वीरः किरण पाण्डे

आधारातसम्म ड्वाङ–ड्वाङ गरेर मिनेटैपिच्छे पड्केको तोपले मुटुमा नेल गाड्दै गयो । छैनन्, अब तिम्रा राजारानी छैनन्, भन्दै नेल ठोक्दै ।

२० जेठको दिनभरिको अन्यौल र सन्त्रासलाई साँझ्मा टेलिभिजनको पर्दाको प्रत्यक्ष प्रसारणले छर्लङ्ग पारिदिइसकेको थियो । तर मनले भने आँखालाई टेर्न खोजेकै थिएन । ५६ तोपले उपत्यका थर्काएपछि मन पनि थर्कियो, र यथार्थ स्वीकार्न बाध्य तुल्यायो ।

तर, यथार्थ स्वीकार्नु कसरी ? कसरी पत्याउने आफ्नै बाबु मार्न छोराको हात तम्सिन्छ भनेर ? कसरी पत्याउने आफ्नै कोखमा ९ महिना पालेको ज्यानले आफैँलाई नै गोली हान्छ भनेर ?

कसरी चित्त बुझाउने एउटा दाइले आफूसँगै स्नेहपूर्वक हुर्केका बहिनी र भाइलाई गोलीको वर्षाले खत्तम पार्छ भनेर ? अनि आफ्नै फुपू, काका र फुपाजू ? कसरी ? किन ?

घटनाबाट अलि टाढा बस्ने हामी आम मानिसलाई त यस्ता प्रश्नले पिरोले र तथ्यको अभावमा ‘अरे’ का भरमा छामछाम छुमछुम गर्न बाध्य तुल्याए भने दरबारभित्र र सैनिक अस्पतालभित्र के हाल भयो होला ?

आफूले अति आदर गर्ने राजारानी र शाही परिवारलाई विभत्स मृतअवस्थामा रगतको पोखरीमा आफ्नो सामुन्ने देख्दा ती डाक्टर, ती सैनिक, ती नातेदारले आफूलाई कसरी सम्हाले होलान् ? कसरी स्थिति सम्हाल्ने मनस्थिति र जाँगर आयो होला ?

त्यो रक्ताम्मे रातले कत्तिको आपत र अन्यौल ल्यायो भन्ने कुरा त शाही शवयात्राले नै दर्शायो । सबैको मनमा परेको बज्रपातले उब्जाएको अलमल देखिन्थ्यो त्यहाँ । ध्यानदृष्टिको कमी देखियो, योजनाको कमी ।

शाही परिवारको मुहार हेरिसक्नु बनाइदिने तर्फ समयमै ध्यान नपुगेको छर्लङ्गै देखियो । राजाको त्यो सदैव मन्द मुस्कान छर्ने ओठ रणभूमिमा प्राण त्याग गरेको सैनिकको जस्तो प्याक्क खुलिरहेको । रानीको त्यो अति सुन्दर नयन अन्यौलमा ट्वाल्ल टोलाइरहेको ।

त्यो आपतकालीन समयमा डाक्टरहरूले पनि कसलाई हेर्न भ्याए होलान् ? कसलाई ध्यान दिने उनीहरूले ? मरेकाको अनुहार अलि गतिलो तुल्याउने कि बाँचेकालाई उपचार गर्ने ? फेरि एक जना भए पो ! शाही परिवार स्वात्तै मृत, अर्धमृत र घाइते अवस्थामा परेपछि वरपरकाको होस कसरी रहन्थ्यो होला ?

आफ्ना प्यारा राजारानीको शवको अगुवाई गर्दै हिँडेका सिपाहीहरूका गोडा निस्तेज भएर लर्बराइरहेका थिए । चालै नमिलेको, तालै नमिलेको । पुलमाथिबाट जाने कि पुल तलबाट जाने भनेर शवयात्रा अल्मलियो । अनि गल्ड्याङगुल्डुङ खेतको आली हुँदै, गन्हाउने विष्णुमतीको पानी तर्दै भिरालो बगर चढाए राजारानीलाई ।

कसैले पनि हात लगाउन नमिल्ने बडामहारानीको गोरो सुकोमल पाखुरी ब्राह्मणहरूले च्याप्प समाएर, तुर्लुङ्ग झुण्डायाएर चिता परिक्रमा गराए। त्यत्रो सम्मानसाथ हुर्केका राजाको चिता दन्काउन असनबाट भर्खरै किनेर ल्याइएको जस्तै मामुली टिनबाट घ्यू खन्याइयो।

हतारहतारमा तयार पारिएको चिताले पनि निकै समस्या उब्जायो । घुम्ने ठाउँको कमीले गर्दा फूलको थुङ्गा जस्तो गरेर स्याहारिएका कोमल शाही शरीरहरूलाई ब्राह्मणहरूले च्याकुलझयाइँ पारेर चिताको परिक्रमा गराए ।

त्यो लरबरमा शाही सलामीमा फुर्तिसाथ ठडिने राजाको नाङ्गो हात कात्रोभित्रबाट फुत्त–फुत्त तल झ्थ्र्याे । त्यो सुकोमल तर निर्जीव हातमा रातो चुरा कत्ति खुलेको रानीको !

तर कसैले पनि हात लगाउन नमिल्ने बडामहारानीको गोरो सुकोमल पाखुरी ब्राह्मणहरूले च्याप्प समाएर, तुर्लुङ्ग झुण्डायाएर चिता परिक्रमा गराए । त्यत्रो सम्मानसाथ हुर्केका राजाको चिता दन्काउन असनबाट भर्खरै किनेर ल्याइएको जस्तै मामुली टिनबाट घ्यू खन्याइयो ।

कस्तो विडम्बना, कर्मको कस्तो क्रूर खेल । यति जनाको ज्यान गएको कि आर्यघाटमा जलाउनलाई राजपरिवारले पनि पालो कुर्नु परेको । भाइ निराजन भस्म भएपछि मात्र दिदी श्रुतिलाई जलाउने ठाउँ भएको ।

एकएक गरी राजारानी र अरूको चिताको आगो दन्कियो । सैनिकहरूले हतारहतारमा सङ्लो पार्न सफल भएको बागमतीको पानीमा चिताहरू प्रतिबिम्बित हुन थाले । आत्माले त्यागेका शाही शरीरहरू क्रमैसँग भस्म हुँदैगए ।

त्यसको दुई रातपछि फेरि आर्यघाटमा अर्को चिता बल्यो । तर टुहुरै, एक्लै बल्यो । आफ्नो परिवारको भन्दा व्यवस्थित थियो दीपेन्द्रको चिता । सजावट अझैं राम्रो थियो । चिता अझैं शोभनीय र परिक्रमा गर्न सजिलो बनाइएको थियो ।

तर दागबत्ती दिँदा उनका लागि रुने परिवारजन कोही बाँकी थिएनन् । ती त अघि नै त्यही घाटमा खरानी भएर बागमतीमा बगिसकेका थिए ।

नवघोषित राजा ज्ञानेन्द्रको राजगद्दी आरोहण गर्दाको मुहारमा शाही परिवारले खेपेको आलो बज्रपात झल्कन्थ्यो । । श्रीपेचले थिचिएको शिर, मलिन मुहार, गडेका, थाकेका नयन, छिनछिनमा तानेको लामो सास ।

एक्लै छन् हाम्रा नयाँ राजा । आफ्ना अग्रज–अनुज सब गए । दाजु गए, दिदीहरू गए, भाउजू गइन् र भाइ पनि गए । दुःख, सुख, हाँसो, आँशु बाँड्ने आफन्तहरू एकै पलको पागलपनमा अमर्यादित मृत्युको मुखमा होमिए ।

न उनीहरूको मृत्युमा शोक मनाउन पाएका छन्, न घाइते श्रीमती र बहिनीसँग बस्न पाउँछन् । न सुत्न पाउनु, न थकाइ मार्न पाउनु, न त डाँको छोडेर आम मानिसले जस्तो मनको भक्कानोलाई हलुका पार्न पाउनु ।

शाही औपचारिकताको च्यापमा परेका हाम्रा राजा आफ्नो व्यक्तिगत समस्यालाई थान्को लगाएर जनता सामु खडा हुन बाध्य भएका छन् । नयाँ आयामको बोध गराउँदै उपत्यका फेरि थर्कियो १०१ तोपको गर्जनले ।

प्रतिकृया दिनुहोस