कला/साहित्यशनिबार, १८ जेठ , २०७६

घाटुको शक्ति

सेवा भट्टराई

नाच्ने क्रममा संगीतकै तालमा अचेत भएर घण्टौं झुम्ने र ब्युँझने घाटु नाच अन्तर्गतको सती घाटुले अचेत अवस्थामा पुर्‍याउने भएकाले जहाँसुकै देखाइँदैन।

नाल्मा, लमजुङमा ४ जेठ, बुद्धपूर्णिमाको दिन भएको घाटु नाच । तस्वीरः झुमा लिम्बू

लमजुङको बेसीशहर नजिकैको नाल्मा गाउँमा बुद्धपूर्णिमाको बिहानै बाक्लो चहलपहल छ । महिलाहरू गाउँको प्रवेशद्वार छेउको टाशी छ्योलेन गुम्बा पुगेर आशीर्वाद लिन्छन् र गाउँको बीचमा रहेको सामुदायिक भवन ‘ठाँटीघर’ पुग्छन्, घाटु नाचको तयारी गर्न । 

खासगरी गुरुङ समुदायमा प्रचलित घाटुको तयारी श्रीपञ्चमीमा विशेष पूजापछि शुरू गरिन्छ र बुद्धपूर्णिमाको दिन नाच शुरु भएर ६/७ दिनसम्म चल्छ । नयाँ घाटुसरी (घाटु नाच्ने बालिका) छनोट गर्ने बेला रजस्वला नभएका, घाउ–चोट नलागेका र कपाल समेत नकाटेका बालिकाहरूलाई राखेर गीत गाइन्छ । जुन बालिकालाई घाटुले ‘छोप्छ’, तीमध्ये दुई जनालाई घाटुसरीका लागि छानेर बुद्धपूर्णिमासम्म अभ्यास गराइन्छ ।

बाह्रमासे, कुसुण्डा र सती घाटु गरी तीन प्रकारका घाटु हुन्छन् । घाटुमा राजा पश्रामु र रानी यम्बावतीको कथा प्रदर्शन गरिन्छ । यसमा दुई बालिकामध्ये एकलाई राजा र एकलाई रानीको भेषमा सजाइन्छ र वनमा शिकार, राजारानीको विवाह, प्रेम, पुत्रलाभ, युद्धमा राजाको मृत्यु र रानी सती गएको प्रसंग गीत मार्फत प्रस्तुत गर्दै नचाइन्छ । घाटुसरीलाई गाउँका पुरुषहरूले मादल बजाएर गीत गाउँदै साथ दिन्छन् ।

नाच शुरु हुने अघिल्लो दिन राति सामूहिक दर खाएपछि गाउने–बजाउने र नाच्ने गुरु र घाटुसरीहरू उपवास बस्छन् । उनीहरू भोलिपल्ट दिनभर फलफूल मात्र खान्छन् । गुरुङ भेषभूषामा सजिएका दुई बालिकालाई दिउँसो विधिपूर्वक पूजा गरेपछि घाटु नृत्य शुरु हुन्छ । बालिकाहरूले धानको लावा र फूलबाट बनाइएको मुकुट लगाउँछन् ।

त्यसपछि पुरुषहरू गीत गाउँछन्– ‘दही अक्षता चढाइदियो, गुनकेसरी फूल शिरमा लगाइदियो...’ आदि । गीतकै शब्द अनुसार केही महिलाले ती घाटुसरीलाई दही अक्षता चढाउने, फूल लगाइदिने गर्छन् । 

घाटुका प्रत्येक खण्डलाई डाँडी भनिन्छ । धान रोप्ने, बिरुवा सार्ने जस्ता डाँडी मार्फत परम्परागत ज्ञानहरू नयाँ पुस्तामा हस्तान्तरण गरिन्छ । हरेक डाँडीको आफ्नै सामग्री हुन्छन्, जुन प्रत्येक वर्ष गुरुहरूले बनाउँछन् ।

पश्रामुलाई चिनाउने सानो घोडा, यम्बावतीलाई चिनाउने काइँयो र ऐना, शिकार खेल्ने धनुबाण जस्ता सामग्री कथावस्तु अनुसार बोकेर घाटुसरीहरू अभिनय गर्छन् । सती घाटु डाँडी अन्तर्गत रानी यम्बावती सती गएको अभिनय गरेसँगै यो नाच सकिन्छ ।

सती घाटुका क्रममा बालिकाहरू घण्टौंसम्म अचेत अवस्थामा संगीतको सुस्त तालमा नाचिरहन्छन् ।

गुरुङ समुदायका साथै मध्य नेपालको गण्डक र आसपासका क्षेत्रमा मगर, दुरा, बलामी र कुमाल समुदायले पनि घाटु नाच नचाउने गर्छन् । यसको उत्पत्ति कसरी भयो भन्नेबारे भने अन्योल छ ।

इतिहासमा राजा पश्रामु र रानी यम्बावतीको उल्लेख नभए पनि गुरुङ जातिले किंवदन्तीका रुपमा यी राजारानीसँग सम्बन्धित विभिन्न घटनाक्रमलाई सांस्कृतिक धरोहर मान्दै आएका छन् ।

नाल्मा गाउँका घाटुनाचका गुरु जंगबहादुर गुरुङ यो नाच बाजे–बराजुको पालादेखि नाचिंदै आएको र कसरी शुरु भयो भनेर पुर्खाहरूले नभनेको बताउँछन् । “तर यो यही क्षेत्रको कथा हो भन्ने मान्यता छ” उनी भन्छन्, “राजा पश्रामु लमजुङका गुरुङ राजा थिए भन्ने जनविश्वास छ ।”

घाटु नाचमा प्रयोग गरिने सामग्रीहरु ।


घाटुमा गाइने गीतको भाषा ठ्याक्कै कुन हो भनेर खुट्याउन सकिएको छैन । विभिन्न अध्ययनले यो भाषा भोजपुरी र थारु भाषासँग मिल्दोजुल्दो देखाएको छ । शिकार खेल्न जाने क्रममा राजा पश्रामुले निकै टाढा यम्बावतीलाई भेटेको आधारमा उनी मधेशकी थिइन् भन्ने एकथरीको धारणा छ ।

तर गुरुङ समुदायमा सतीको प्रचलन नहुनु र गीतको भाषा पनि फरक हुनु लगायत कारणहरू विश्लेषण गरेर केही विज्ञले फरक निष्कर्ष निकालेका छन् । घाटुबारे अनुसन्धान गरेका लोकसंगीत विज्ञ किशोर गुरुङ भन्छन्, “नेपालबाट डेढ सयदेखि दुई सय वर्षअघि भारतीय र ब्रिटिश सेनामा गएका लाहुरेहरूले यो नाच भित्र्याएको हुनुपर्छ । त्यसैले यो गीतको भाषा पनि उतैको छ ।” 

यो नाचको नाम ‘घाटु’ को अर्थ के हो भन्ने पनि स्पष्ट खुलेको पाइँदैन । प्राध्यापक युवराज गुरुङको बुझाइमा भने यो नाचले सतीको मानसिक घाउ सिउने काम गर्छ । उनका अनुसार ‘घा’ भन्नाले घाउ र ‘टु’ अर्थात् सिउनु हो । सती घाटुमा रानी यम्बावतीले राजाको मृत्युपछि काखे छोरालाई छाडेर सती जानुपर्ने र राजकाज अरुलाई नै जिम्मा लगाउनुको पीडा देखाइन्छ । अन्तिम क्षणमा यम्बावती काम्दै नाचेको दृश्य मार्मिक हुन्छ ।

घाटुको अर्थ र गीतको भाषाबारे विभिन्न मत भए पनि यसको संगीतको शक्तिका बारेमा भने विज्ञहरू एकमत देखिन्छन् । घाटुसरीहरू संगीतकै तालमा अचेत भएर घण्टौं झुम्छन् र ब्युँझन्छन् ।

घाटुको बारेमा वृत्तचित्र बनाइरहेकी लोकसंगीत अनुसन्धानकर्ता झुमा लिम्बू भन्छिन्, “नाच्ने घाटुसरीहरूलाई अक्सर कथा थाहा हुँदैन । संगीतसँगै उनीहरूको भावना बग्छ । त्यसैले संगीतकै माध्यमबाट यो नाच सम्भव भएको हो ।” 

नाच्ने बालिका र हेर्ने दर्शकलाई भावनात्मक रुपमा उद्वेलित पार्ने र शान्त तुल्याउने शक्ति त्यही लोकसंगीतमा हुन्छ । घाटुसरी ओमिका गुरुङ भन्छिन्, “सुस्तरी संगीत बजिरहँदा आँखा खोल्न त मन लाग्छ, तर खोल्नै सकिंदैन ।”

घाटुसरीहरू घण्टौं अचेत भएर नाचेपछि तितेपातीले आँखामा पानी छम्किने गरिन्छ, त्यस क्रममा उनीहरूलाई आँखा खोल्न जति समय पनि लाग्न सक्छ । उनीहरूलाई संगीत मार्फत नै ब्युँझाइन्छ र ब्युँझिन ढिलो भए कसैले छोएर वा अरु उपायबाट उठाउन मिल्दैन । अनुसन्धानकर्ता लिम्बू भन्छिन्, “भावनामा उतारचढाव ल्याउन सक्ने यस्तो शक्तिशाली संगीतको अभिलेखीकरण र संरक्षण गर्नु आवश्यक छ ।”

घाटु नाचमा सबै विधिविधान पुर्‍याउनुपर्ने भएकाले यसलाई निश्चित समयमा मात्रै मञ्चन गरिन्छ । समुदायमा विवाह, व्रतबन्ध जस्ता कार्यमा मनोरञ्जनका लागि घाटुको शुरुआती खण्ड वा बाह्रमासे घाटु नाच्न सकिन्छ । तर अचेत अवस्थामा पुर्‍याउने सती घाटु जहाँसुकै नाचिंदैन ।

अझ एक पटक घाटुसरी बनिसकेका बालिका जीवनको जुनसुकै समयमा त्यो संगीत सुनेमा अचेत अवस्थामा पुग्न सक्ने भएकाले अरु बेला बजाउनै नमिल्ने र रेकर्ड गरेर प्रसारण गर्न समेत नमिल्ने नाचका गुरुहरू बताउँछन् ।

“घाटुमा ठूलो शक्ति हुन्छ, त्यसैले यसलाई हामी जुनसुकै बेला गाउने, बजाउने र नाच्ने गर्दैनौं”, घाटुको संरक्षणमा लागेका युवा राजु गुरुङ भन्छन् । तर, यो विशिष्ट परम्परामा युवाहरूको रुचि घट्दै जानु चिन्ताको विषय भएको उनी बताउँछन् । 

प्रतिकृया दिनुहोस