ब्लगशनिबार, १८ जेठ , २०७६

मन्त्री प्रस्ताव आउँदा लुकेछन् भुवनलाल

भैरव रिसालको स्तम्भ ‘भोगेको, देखेको, सुनेको’

भैरव रिसाल

२००७ सालको क्रान्तिका एक योद्धा थिए, भुवनलाल प्रधान । राणाशासन विरोधी अभियानमा योगदान गरेका यी प्रजातन्त्रप्रेमी, पञ्चायती व्यवस्थाको शुरूआती घडीमै मन्त्री बन्न पुगे ।

१ पुस २०१७ मा ‘कु’ गरेपछि राजा महेन्द्रले १३ पुसमा आफ्नै अध्यक्षतामा गठित नौ सदस्यीय मन्त्रिमण्डलमा भुवनलाललाई शिक्षा, स्वास्थ्य, कानून, न्याय र संसदीय प्रबन्ध सहायक मन्त्री बनाएका थिए । १८ असार २०१९ मा पुनर्गठित मन्त्रिमण्डलमा उनी कृषि र वनको फुलमन्त्री बने । त्यसपछि पनि उनले २०२३ सालसम्म लगातार विभिन्न मन्त्रालयको नेतृत्व सम्हाले ।

सात सालको राजनीतिक परिवर्तनपछि सत्र सालसम्म नागरिकको अधिकारसँगै कर्तव्य पालनामा भुवनलाल संस्था खोलेरै जुटेका थिए ।

संस्कृतिविद् र इतिहासकारको परिचय समेत बनाएका उनी मन्त्री बन्दाको प्रसंगदेखि सरकारबाट बहिर्गमन हुँदासम्मका प्रसंग कम्ती रोचक छैनन्!

सैनिक आउँदा घ्याम्पोमा गायब
महेन्द्रले ‘कु’ गरेर विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्रीत्वको सरकार विघटन मात्र गरेनन्, प्रधानमन्त्रीदेखि मन्त्रीहरू, सांसद र राजनीतिक दलका नेताहरूलाई पक्राउ गरेर थुन्न थाले । यसले देशैभर त्रास फैलियो ।

शासन आफ्नो हातमा लिएपछि राजालाई मन्त्री बनाउन राजनीतिक मानिसहरू पनि चाहिने नै भयो । त्यसै क्रममा भुवनलालको पनि खोजी भएछ । सेना उनको घर पुग्यो ।

सशस्त्र सेनाको टोली आफ्नो घरतिर आएको सुराक पाएपछि भुवनलाललाई कसो गरूँ कता जाऊँ भयो । उनी घरकै बुइँगलमा भएको रित्तो घ्याम्पोभित्र लुकेछन् । सेनाले खोजतलास गर्दा नभेटेपछि आजित हुँदै घरका सदस्यहरूलाई भनेछ, “हामी उहाँलाई पक्रन होइन, मन्त्री हुनका लागि लिन आएका ।”

त्यो कुरा थाहा पाएपछि बल्ल उनी घ्याम्पोबाट निस्केछन् । नभन्दै १३ पुसमा गठन भएको मन्त्रिमण्डलमा उनी सहायक मन्त्री बनाइए ।

भुवनलालले पनि त्यो रकमबाट बबरमहलमा एउटा घर किने । साजसज्जा पनि गराए । तर, त्यति गर्दा पनि राजाबाट पाएको रु.१ लाख पूरै खर्च भएनछ । शालीन र इमानदार भुवनलालले बाँकी पैसा राजालाई फिर्ता दिने विचार गरे ।

२०२० सालतिरको कुरा हो, राजा महेन्द्रले काठमाडौंमा घर नहुने मन्त्रीहरूलाई घर किन्न रु.१/१ लाख दिएछन् । शायद महेन्द्रले मन्त्री हुनेहरूलाई चिटिक्कको आफ्नै घर नभई चित्त नबुझ्दो रहेछ भन्ने मनोविज्ञान बुझेर त्यस्तो सुविधा दिएका थिए ।

भुवनलालले पनि त्यो रकमबाट बबरमहलमा एउटा घर किने । साजसज्जा पनि गराए । तर, त्यति गर्दा पनि राजाबाट पाएको रु.१ लाख पूरै खर्च भएनछ । शालीन र इमानदार भुवनलालले बाँकी पैसा राजालाई फिर्ता दिने विचार गरे ।

एकदिन मन्त्रिमण्डलको बैठक सकिनासाथ उनले बचेको रकम राजाको अगाडि टेबलमा राखिदिंदै भनेछन्, “यति पैसा उब्रियो सरकार !” राजाले यसलाई घरको सिंगारपटारमा खर्चिन अह्राएछन् ।

भुवनलालले फेरि थपेछन्, “सबथोक गरिसकें, टेबुल–मेच पनि हालिसकें, तैपनि यति जगेडा भो ।” धनप्रति उनमा लोभ नदेखेपछि राजा प्रभावित भएछन् । प्रायः गम्भीर देखिने उनी मुसुक्क हाँसे रे !

मन्त्रिमण्डलबाट बहिर्गमन
मन्त्रिमण्डलबाट भुवनलालको बहिर्गमन पनि रोचक छ । २०२२ सालको मंसीर महीना, एक दिन २ बजेतिर क्याबिनेट सचिव शोभाजंग थापा नहर तथा विद्युत् मन्त्री भुवनलालजीको कार्यालयमा आएछन् र भनेछन्, “मन्त्रीजी घर जानुपर्‍यो !”

तर, मन्त्रीले शुरूमा त कुरै बुझेनन् । उनले छक्क पर्दै सोधेछन्, “किन जाने घर ? यहाँ यत्ति धेरै काम छ । अहिले घर किन जानु ?”

तब क्याबिनेट सचिवले मुखै फोरेर भन्नुपरेछ, “अहिले साढे २ बजेको रेडियोको समाचारमा मन्त्रीज्यूको राजीनामा स्वीकृत भएको समाचार बज्नेछ ।” बल्ल उनी घर गए रे !

नभन्दै घर पुग्दा रेडियो नेपालले ‘श्री ५ महाराजाधिराजबाट भुवनलाल प्रधानले मन्त्री पदबाट दिनुभएको राजीनामा स्वीकृत भयो’ भनेछ । 

यो त उतिबेलाको बजार हल्लामा सुनेको कुरा हो । यसबारे पुष्टि गराउन खोज्दा भुवनलालका छोरा भिक्टरले भने, “त्यसो होइन, बुबाले राजीनामा दिएकै हो, स्वीकृत हुन ढिला भएको मात्र हो । बरु, राजाका प्रमुख सचिव सरदार हंसमान सिंह हाम्रो घरमै आएर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । तर, बुबाले मान्नुभएन ।” 

 

प्रतिकृया दिनुहोस