मुगुमा ‘चिस्तिम’ संरक्षणको माग
–अच्युत राज भण्डारी
मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा मृतकको सम्झनामा बनाइएका मन्दिर जस्तै देखिने ससाना ढुंगा र माटोले बनेका चिस्तिम संरक्षण गर्नुपर्ने माग उठेको छ ।
लामा जातिका आफन्तको मृत्युपछि सम्झनास्वरूप घरनजिकै बनाइएका यस्ता चिस्तिम पुस्तौंदेखि अलपत्र अवस्थामा रहेकाले संरक्षण गर्नुपर्ने स्थानीयले माग गरेका हुन् ।
आफन्तको मृत्युपछि उसको सम्झनामा सबैको ओहोर दोहोर हुने मूल बाटोमा चिस्तिम बनाइन्छ । बाटो नजिकै बनाइँदा आफन्तहरू घरदेखि टाढा जाँदा वा बाहिरबाट घर फर्किंदा चिस्तिममा एक फन्को घुमेर जाने परम्परा रहेको छ ।
यसरी घुमेर फन्को मार्दा आफन्तको सधैँ सम्झना भइरहने र आफूलाई पनि पुण्य प्राप्त हुने मुगुम कार्मारोङ– ५ रिउस गाउँका ग्यालजन लामा बताउँछन् । घुमेर जाँदा मृतात्माको स्वर्गवास हुने विश्वास पनि रहेको लामा बताउँछन् ।
मृतक आफन्तको सम्झनामा यस्ता चिस्तिम बनाउने गरेको मुगुम कार्मारोङ गाउँपालिका–७ मह गाउँका शशांक लामाले बताए । “यिनीहरू मृत आफन्तको सम्झनामा र उसको स्वर्गवासका लागि बनाइने गरिन्छ”, उनले भने ।
धार्मिक आधारमा यस्ता चिस्तिम बनाउँदा लामा बोलाएर पूजापाठ गरी आफन्त बोलाई खानपिनसमेत गराउने चलन रहेको पनि उनले बताए ।
धार्मिक परम्परा र इतिहास तथा संस्कृति बोकेका यस्ता गुम्बा चिस्तिमहरूको संरक्षणमा कसैको ध्यान नपुगेको लामाहरू बताउँछन् ।
बौद्ध धर्मावलम्बीहरूमा आफन्तको मृत्यु हुँदा लामा हेराउने परम्परा छ । लामाले ज्योतिष शास्त्र हेरेपछि हरेक मृतकको राशि, ग्रह, वर्ग र नक्षत्र अनुसार र आत्माको स्वर्गवासका लागि यस्ता चिस्तिम बनाइने संस्कृति रहेको मुगुम कार्मारोङ गाउँपालिका– २ मुगुगाउँका ७२ वर्षीय आङ्गेल लामाले जनाए ।
उनले आमा, बुवा, हजुर बुवा र अन्य मृत आफन्तको नाममा चिस्तिम बनाएर पूजा गर्ने गरेको बताए । यस्तो पूजा विशेष गरेर औंसी र पूर्णिमाको दिनमा गरिने पनि आङ्गेलले बताए ।
मन्दिर, गुम्बाजस्तै शैलीमा बनाइने यस्ता चिस्तिमको सुरुका दुई\तीन महीनासम्म नियमित पूजा गर्ने चलन रहेको स्थानीय बताउँछन् ।
घरनजिकै बनाइएका धेरैजसो चिस्तिमभित्र मृतकको अस्तुक सानो हड्डीसमेत राखिएको हुन्छ । अस्तुकसँगै अन्य बहुमूल्य बस्तुसमेत राखेर पूजा गर्ने लामा जातिको पुख्र्यौली परम्परा छ ।
लामा जातिको बाहुल्य रहेको यस गाउँपालिकाका ९ वडामध्ये ८ वडाका १२ वटा गाउँमा यस्ता चिस्तिमहरू लहरै भेटिन्छन् । गाउँपालिका अन्तर्गतका मुगु, चितै, डोल्फु, ताखा, खारी, कात्ति, किम्री, दाउरा, शेरोग, पुअ, रिउस, मह, मांग्री लगायत गाउँमा करीब १ हजार २ सय हाराहारीमा यस्ता चिस्तिम रहेको स्थानीय बताउँछन् ।
मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले चिस्तिम परम्परालाई संरक्षण गर्नुपर्ने बताउँछन् । आगामी वर्षको कार्यक्रममा चिस्तिम संरक्षणमा समेत बजेट व्यवस्थापन गरिने लामाले बताए ।
चिस्तिम मुगुको दाउरा गाउँमा मात्रै १ सय बढी रहेको स्थानीय ग्यालजन लामाले बताए । आ–आफ्नो क्षमता र दक्षता अनुसार २०\२५ हजारदेखि एक\दुई लाख रुपैयाँसम्मका चिस्तिम बनाएर पूजा गरिने यहाँको संस्कृति रहेको उनले बताए ।