आज डा.केसी र सरकारबीचको सम्झौतामा हस्ताक्षर हुने
२२ दिनदेखि अनशनरत डा.गोविन्द केसीको अनशन तोडाउने सरकारी प्रयास सफलता नजिक पुगेको छ । आज डा.केसी र सरकारी टोलीबीच सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापाको उपस्थितिमा १८ मंसिर दिनभर भएको वार्तामा पनि निष्कर्ष निस्किन सकेको थिएन । चिकित्साशास्त्र अध्ययन संस्थानको डीनमा डा.जेपी अग्रवालको नियुक्ति भए पनि डा.केसीले त्रिविका उपकुलपति प्रा.डा. तीर्थ खनियाँको राजीनामामा हुनु पर्ने बताउदै आएका छन् । उपकुलपति खनियाको राजीनामाको विषयले सहमित हुन सकेको थिएन ।
दुवैतर्फका वार्ता टोलीले तयार गरेको १२ बुँदे सहमतिको मस्यौदा तयार भइसकेको र आइतबार सहमतिपत्रमा हस्ताक्षर हुने वार्तामा सहभागी डा.जीवन क्षेत्रीले जानकारी दिएका छन् ।
उनले १८ मंसिर राति अबेरसम्म भएको वार्तामा सबै विषयमा सहमति भएको र त्यसलाई आइतबार अन्तिमरुप दिने तयारी गरिएको बताए । आज डा.केसीको अनसनको २२ औं दिन हो । उनको स्वास्थ्य गम्भीर बन्दै गएको चिकित्कहरुले बताएका छन् ।