‘अमेरिका र इरानबीच मध्यस्थता गराउन इराक तयार’
इराकी संसदका अध्यक्ष मोहमद हलबुसीले बगदादलाई प्रस्ताव गरिए अमेरिका र इरानबीच मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।
हालै इरानी विदेशमन्त्री मोहम्मद जवाद जरिफको दुईदिने इराक भ्रमणका क्रममा शनिबार अध्यक्ष मोहमद हलबुसीले सरकारी टेलिभिजन मार्फत बताएको समाचार संस्था एपीले जनाएको छ ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि सन् २०१५ मा भएको परमाणु सम्झौताबाट अमेरिका अलग भएपछि इरान र अमेरिकाबीच तनाव बढ्दै गएको छ ।
इरानसँगको बढ्दो वैमनस्यका कारण अमेरिकाले मध्यपूर्वमा पेट्रियट मिसाइल, बमवर्षक यूएस बी ५२, युद्धपोतलगायत पठाएको छ ।
रक्षा विभागले मध्यपूर्वमा रहेका आफ्ना अमेरिकी सेनालाई इरानको सम्भावित खतराबाट बचाउन उसले यो कदम उठाएको बताएको छ । तर, कस्तोखाले खतरा हो यसबारेमा उसले केही खुलाएको छैन ।
इरानले अमेरिकाको यो कर्तुतलाई मनोवैज्ञानिक युद्ध बताएको छ । यसको उद्देश्य इरानमा त्रास फैलाउनु रहेको पनि बताएको छ ।
यसैबीच अमेरिकाले इरानलाई चेतावनी दिदै भनेको छ– हमला गरेमा तुरुन्तै जवाफ पाउने छौ ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले इरानप्रति आरोप लगाउँदै भनेका छन्, “इरानका पछिल्ला कदम र बयानबाजीले तनाव बढाएको छ । अमेरिका र उसका सहयोगी युद्ध चाहँदैनन् ।”
इरानलाई चेतावनी दिदै पोम्पियोले भनेका छन्– उसले कुनै अमेरिकी हित विपरीत वा नागरिकमाथि हमला गर्छ भने उसलाई तुरुन्तै जवाफ दिइनेछ ।
–एजेन्सी