उपराष्ट्रपति पुन आज अष्ट्रिया जाँदै
उपराष्ट्रपति नन्दबहादुर पुन आज अष्ट्रिया भ्रमणमा जाँदैछन् ।
जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुनका लागि उनी त्यसतर्फ जान लागेका हुन् ।
उपराष्ट्रपति पुन बिहान ९ः२० मा कतार एयरवेजको विमानमार्फत दोहा हुँदै अष्ट्रियातर्फ प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।
सम्मेलन १४ जेठमा भियानामा हुँदैछ । सम्मेलनलाई सम्बोधन गर्दै पुनले जलवायु परिवर्तन सम्बन्धमा नेपालको धारणा राख्नेछन् ।
संयुक्त राष्ट्रसङ्घको दीगो विकास लक्ष्य र पेरिस सम्झौताका जनादेश हासिल गर्न सहयोग हुने गरी हरेक वर्ष 'आर–२० विश्व शिखर सम्मेलन' हुने गरेको छ । सम्मेलनमा विभिन्न मुलुकका राष्ट्रपति, उपप्रमुख तथा प्रधानमन्त्री सहभागी हुनेछन् ।
सचिवालयका अनुसार उपराष्ट्रपति पुनले अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनसँग शिष्टाचार भेट पनि गर्नेछन् ।
सम्मेलन अघि १३ जेठमा उपराष्ट्रपति पुन भियाना अन्तराष्ट्रिय केन्द्रको ४० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनेछन् ।
अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा अष्ट्रियास्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा पनि उनी सहभागी हुने उनले अष्ट्रियामा रहेका नेपालीहरुसँग अन्तरक्रिया समेत गर्ने कार्यक्रम छ ।
भ्रमणमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत लगायत रहने जनाइएको छ ।
उपराष्ट्रपति सहितकाे टाेली १८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ ।