राहुल गान्धीको राजीनामा प्रस्ताव अस्वीकार
१७ औं लोकसभा निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसले व्यहोरेको हारपछि पार्टी अध्यक्ष राहुल गान्धीले कांग्रेस कार्य समितिको बैठकमा दिएको राजीनामा प्रस्ताव समितिले अस्वीकार गरेको छ ।
पार्टी प्रवक्ता रणदीप सुरजेवालाले लोकसभा चुनाव २०१९ को जनादेशलाई विनम्रतापूर्वक समितिले स्वीकार गरेको पनि बताएका छन् ।
कांग्रेसले ५४२ स्थानको लोकसभामा जम्मा ५२ सिटमात्र ल्याएपछि पार्टीअध्यक्ष गान्धीले पदबाट राजीनामा दिने बताएका थिए ।
समाचारमा जनाइएअनुसार राहुल राजीनामा दिन जोड दिइरहेका थिए । सोनिया गान्धी तथा प्रियंका गान्धीले यसलाई राहुलको व्यक्तिगत निर्णय बताएका थिए ।
तर, कार्यसमितिका सबै सदस्यले सर्वसम्मति र एक स्वरमा राजीनामा अस्वीकार गरे । उनीहरूले राहुल गान्धीलाई नै अध्यक्ष पद सम्हाल्न आग्रह गरे । यद्यपि राहुल आफ्नाे अडानमा अडिक रहेकाे बताइन्छ ।
पार्टीको प्रतिकूल तथा चुनौतीपूर्ण परिस्थितिमा पार्टीलाई राहुलकै नेतृत्व र मार्गदर्शनको आवश्यकता बताएको जनाइएको छ ।
–एजेन्सी