कला/साहित्यशनिबार, ११ जेठ , २०७६

पहिचानका प्रमाण

सेवा भट्टराई

धन्न, मन गुरूङ जस्ता चित्रकार छन्, जसले कलाका माध्यमबाट हामीले गुमाउँदै, भुल्दै गइरहेका हाम्रो पहिचान / संस्कृतिको जगेर्नामा मन दिएका छन् । 

क्यानभासमा तेलकै प्रयोग भए पनि मन गुरुङ पुराना तस्वीरमा आधारित आफ्ना चित्रकलामा गाढापन दिन रुचाउँछन् । उनका चित्र अहिलेका होइनन्, पुराना काल र निर्दोष समय सम्झाउने खालका छन् । जस्तो कि, उनका पात्र महिलाहरु अझै पनि फरिया चोली लगाउँछन्, अनि पुरुष पटुकी र ढाका टोपी ।

गुरुङको दोस्रो एकल चित्रकला प्रदर्शनी बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा गएको २६ वैशाखदेखि चलिरहेको छ । एक महीनासम्म चल्ने यो प्रदर्शनीको शीर्षक नै ‘लस्ट इन ट्रान्जिसन’ छ । प्रदर्शनीमा राखिएको गुरुङका अधिकांश तेल चित्रकला नै छन्, तर केही भने ग्राफिटी र मसी चित्र पनि छन् ।

दोस्रो प्रदर्शनीसम्म आइपुग्दा गुरुङमा विषयवस्तुको फरकपन प्रष्ट देखिन्छ । उनको पहिलो एकल प्रदर्शनी ‘पावर, पोलिटिक्स एण्ड वार’ (शक्ति, राजनीति र युद्ध) शीर्षकमा केन्द्रित थियो । तर, अहिलेको प्रदर्शनीमा सामाजिक परिवर्तनको दृश्यात्मक चित्रण देखिन्छ ।

चित्रकार काठको ठेकीहरू सहित उभिएकी महिलालाई चित्रण गर्छन्, जुन अहिले प्लाष्टिकका कोकमा परिणत भएका छन् । परम्परागत पोशाक त लगाएका छन् तर खुट्टामा भने प्लाष्टिकका आधुनिक चप्पल छन् । 

उनी संस्कारमा पूर्वपरिचित ढ्याङ्ग्रो बनाउँछन्, जसको प्रयोग अहिले खुम्चिंदै गएको छ । पुरानो रेकर्ड प्लेयर, जुन अहिले पुरानो जमानाको भइसकेको छ ।

गुरुङले यी पोट्रेट आफ्नो घर गोरखाको खोर्ला गाउँबाट खिचेका हुन्, जुन छोटो समयको अन्तरालमै आधुनिकताको चपेटाको विस्थापनमा पर्दै गएको छ । त्यसैले पनि गुरुङका यी चित्रकलाले मुलुकको वर्तमान बोलेको छ ।

युवाहरु बसाइ सरिरहेका बेला गाउँमा बुढापाकाहरु मात्र बचेका छन्, जसका लागि परम्परागत जीवनशैली जोगाउनु युद्धसरह भइरहेको छ । गुरुङ आफूले पहिचानको अन्तिम पुस्तालाई आफ्नो कलामा समेटेको बताउँछन् । नयाँ पुस्ताले पश्चिमा संस्कृतिमै गर्व गइरहेका बेला उनको यो दाबी पनि अनौठो लाग्दैन । 

“मादलको ठाउँमा बक्स स्पिकर, रोधीको ठाउँ एमपीथ्री प्लेयर्स, हातले बुनेका झोलाको साटो पोलिथिनका झोला, हाते लुगाका ठाउँमा पोलिस्टर जस्ता आधुनिक वस्तुले कब्जा जमाइसकेका छन्” चित्रकार गुरुङ भन्छन्, “हामी विस्तारै पुराना पुस्तासँगै सयौं वर्षअघिदेखिका पहिचान, परम्परा तथा संस्कृति गुमाइरहेका छौं ।” गुरुङका कलाले हामीलाई आफ्ना मौलिक पहिचान र तिनको संरक्षणबारे सोच्न बाध्य तुल्याउँछ ।

साँच्चै भन्ने हो भने गुरूङको यो प्रदर्शनी हाम्रो पहिचानको प्रमाण हो, जसलाई हामीले गुमाउँदै, भुल्दै गइरहेका छौं । यी यस्ता शक्तिहीन सम्पदा हुन्, जसको खातिर कसैले ध्यान दिएको छैन । धन्न, मन गुरूङ जस्ता चित्रकार छन्, जसले कलाका माध्यमबाट संस्कृतिको जगेर्नामा मन दिएका छन् । 

प्रतिकृया दिनुहोस