आठ भारतीय डाँका हतियारसहित पक्राउ
जनकपुरको जानकी विहार लुट्न हतियारसहित आएका ८ जना भारतीय डाँकालाई प्रहरीले पक्राउ गरेको छ ।
गोप्य सूचनाका आधारमा उनीहरूलाई प्रदेश प्रहरी कार्यालय, संघीय प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले जानकी विहारबाट घेरा हालेर नियन्त्रणमा लिएको हो ।
विहारका महन्त नारायण शरणको वासस्थानमा नगद र मन्दिरमा रहेको सुनचाँदी लुट्ने योजना बनाएका उनीहरू लुटपाट गर्नै लाग्दा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
भारतको विहारबाट दुईवटा मोटरसाइकल र एउटा स्कुटरमा आएर लभ्ली होटलमा बसेका उनीहरू लुटपाटका लागि विहार पुगेका थिए ।
प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर भारत विहार प्रदेशका समस्तीपुर जिल्ला बस्ने २४ वर्षीय रवि मलिक डोम घाइते भएका छन् । उनले प्रहरीमाथि गोली हानेकाले जवाफी फायरमा उनी घाइते भएका हुन् । उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
घटनास्थलबाट पक्राउ पर्नेमा भारतको समस्तीपुर जिल्ला सिमरी–८ का विद्यापति नगरका २० वर्षीय साहिल रजक, सोही ठाउँका २८ वर्षीय सुजितकुमार राय, ३० वर्षीय अमितकुमार सिंह, २० वर्षीय अमितकुमार यादव, मधुवनी जिल्ला साहरघाटका ३२ वर्षीय रञ्जितकुमार भगत रहेका छन्।
भाग्दै गरेका भारत विहार मधुवनी साहरघाटका ३८ वर्षीय पप्पु भन्ने सञ्जयकुमार साह महोत्तरीको मटिहानीबाट पक्राउ परेका छन् ।
प्रहरीले घटनास्थलबाट दुई राउण्ड गोली लोड गरिएको पेस्तोल एक नाल, दुई राउण्ड एसएलआरका गोली, कटुवा पेस्तोल एक नाल, खुकरी एक थान, भारतीय नम्बर प्लेटको एउटा स्कुटर र दुईवटा मोटरसाइकल बरामद गरेको छ ।