समाचारबिहिबार, ९ जेठ , २०७६

प्रधानमन्त्री ओलीले दिए मोदीलाई बधाई

हिमालखबर

भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभा चुनावमा उनको पार्टीले बहुमतका साथ अग्रता लिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

भारतमा सातौं चरणमा गरी सम्पन्न भएको निर्वाचनको मतगणना बिहीबार हुँदै गर्दा प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीकाे गठबन्धनले ठूलो मतान्तरसहित अग्रता हासिल गरेको छ ।

उम्मेदवार बनेका ठाउँमा मोदीले पनि भारी मतसहित अग्रता लिइरहेका छन् । मोदी र उनको दल बहुमतसहित निर्वाचनमा पुनः विजयी हुँदै गर्दा प्रधानमन्त्री ओलीले ट्वीट गर्दै बधाई दिएका हुन् ।

“प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई लोकसभा चुनाव २०१९ को निर्वाचनमा प्राप्त गरेको विजयका लागि बधाई दिन्छु’, ट्वीटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्, “आगामी दिनमा सफलताको कामना गर्छु । निकट सम्बन्धमा रहेर काम अघि बढाउन प्रतीक्षारत छु ।”

भारतीय सञ्चार माध्यममा आएको पछिल्लो परिणाममा भारतीय जनता पार्टीले एक्लै बहुमत ल्याउने देखिएको छ ।

भारतको निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको परिणाम अनुसार एनडीएले ३४०, यूपीएले ८७ तथा अन्यले ११५ स्थानमा अग्रता लिएको बताएको छ । 

प्रतिकृया दिनुहोस