विद्यालय, अदालत र मिडिया क्षेत्रमा नेपाली भाषामा एकरूपता ल्याइने
विद्यालय, अदालत र मिडिया तीनै क्षेत्रमा नेपाली भाषामा एकरूपता ल्याइने भएको छ ।
नेपाली भाषाको प्रयोगमा विविधता आएको भन्दै नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित दशौंँ संस्करण ‘नेपाली बृहत् शब्दकोश’अनुसार सबै क्षेत्रमा भाषामा एकरूपता ल्याउन लागिएको हो ।
भाषामा एकरूपता ल्याउने विषयमा प्रतिष्ठानले सबै क्षेत्रमा गोष्ठी तथा छलफल अघि बढाइरहेको प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले बताए ।
“राष्ट्रिय परीक्षा बोर्डले पनि आफ्ना मातहतका सबै तहमा परिपत्र पठाइसकेको छ”, उनले भने । नयाँ प्रकाशन हुने नेपाली पाठ्यपुस्तक शब्दकोशको वर्णविन्यासानुसार तयार गरिने बताइएको छ ।
उनी थप्छन्, “नेपाली विषय पढाइ हुने सबै निजी र सरकारी विद्यालयका पाठ्यपुस्तकमा नेपाली भाषामा एकरूपता ल्याइन्छ ।” शैक्षिक क्षेत्रमा एकरूपता ल्याउन शिक्षा मन्त्रालयले परिपत्र जारी गरिसकेको छ ।