काठमाडौंमा नेटवर्किङ व्यवसाय गर्ने ८ भारतीय पक्राउ
प्रहरीले अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
आइतबार दिउँसो बबरमहलबाट ६ र ठमेलस्थित होटेल वैशालीबाट दुई गरी आठजनालाई नियन्त्रणमा लिएको बताइएकाे छ ।
पक्राउ पर्नेमा महोमद जिया, नितिन श्रीबास्तव, रवि तिवारी, अटल त्रिपाठी, महोमद सेयाफ, नुरुलएन वारसी, तेजनारायण शुक्ला र राजेश कुमार शुक्ला रहेको बताइएको छ ।
प्रहरीले विशेष सुराकीका आधारमा ४२ लाख रुपैयाँसहित उनीहरूलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिले साइन ग्रुपकाे नामबाट गैरकानुनी नेटवर्किङ व्यवसाय गरेको बताइएको छ ।
कम्पनीमा २५ सयदेखि १० हजार डलर जम्मा गरे कम्पनीबाट ६ प्रतिशतसम्म थप गरेर अर्धवार्षिक रूपमा दिने उनीहरूले प्रलोभन दिने गरेको बताइएको छ ।
यसअघि २८ वैशाखमा पनि काठमाडौं प्रहरी परिसर, टेकुले पनि अवैध नेटवर्किङ व्यवसायमा संलग्न १२ जनालाई हाेटल याक एन्ड यतीबाट पक्राउ गरेको थियो ।
अनुसन्धान भइरहेको र दुवै समूहबीच संलग्नता हुनसक्ने बताइएको छ ।