हिसान शिक्षा मेला बिहीबारदेखि
आगामी बिहीबारदेखि उच्च शिक्षा तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को आयोजनामा हिसान शिक्षा मेला हुने भएको छ ।
नेपालमै सञ्चालित शिक्षालयले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाबारे जानकारी गराउन मेला आयोजना गर्न लागिएको हिसानका अध्यक्ष रमेश सिलवालले जानकारी दिएका छन् ।
गुणस्तरीय शिक्षा खोज्दै विदेश गइरहेको बेला नेपालमा नै गुणस्तरीय शिक्षा पाइन्छ भनेर मेला आयोजना गर्न लागिएको उनले बताए ।
“वार्षिक एक लाख १२ हजार विद्यार्थी वैदेशिक अध्ययनमा विदेश जान्छन्”, उनले भने, “यसरी विदेश जाँदा वार्षिक अर्बौ रुपैयाँ बाहिर गइरहेको छ, ती विद्यार्थीलाई रोक्नका लागि मेला आयोजना गरिएको हो ।”
चार दिनसम्म भृकृटीमण्डपमा सञ्चालन हुने मेलामा नेपालमा सञ्चालित शिक्षालयले दिने गुणस्तरीय शिक्षाबारेमा उचित जानकारी र परामर्श, कुन विषय किन पढ्ने, विषयको छनोट कसरी गर्ने विषयमा जानकारी गराइने छ ।
साथै माध्यमिक विद्यालयदेखि विश्वविद्यालयकास्तरका उच्च शिक्षाका बारेमा जानकारी गराइने छ । १५० भन्दा बढी शैक्षिक संस्था सहभागी मेलामा नेपालका सबै विश्वविद्यालयमा र प्राविधिक तथा व्यावसायिक तालीम केन्द्र (सिटीईभीटी) मा पढाइ हुने विषयका बारेमा समेत जानकारी गराइने छ ।