ब्लगसोमबार, ६ जेठ , २०७६

‘गुर्खा’ ब्राण्डको मूल्य

कनकमणि दीक्षित

थोरै तलबमा जोखिमको रोजगारी गर्छन् नेपाली युवा, बाध्यताका कारण ।

१ जेठमा सोसल साइन्स बहाःद्वारा आयोजित केनेडियन् समाजशास्त्री एमाण्डा चिसम्‌काे प्रस्तुतिबाट नेपालीका लागि महत्वपूर्ण एक विषयबारे थप जानकारी पाइयो — निजी सामरिक/सुरक्षा कम्पनीहरूको बजार विस्तार ।

सुगौली सन्धिलगत्तै नेपालीहरू ‘कम्पनी बहादुर’ का लागि लड्न थालेका हुन् भने अहिले पनि राज्यको औपचारिक मान्यता सहित नागरिकहरू बेलायती र भारतीय सेनामा लड्छन् । देशको सार्वभौम अस्तित्वलाई यसले कति गलाउँछ भन्ने बहस व्यावहारिकताका खातिर हामी गर्दैनौं ।

सरकारी सम्झौता मुताविक भएकोले ‘गोर्खा’ र ‘गुर्खा’ (भारतीय र बेलायती) भर्ती भएकालाई ‘मर्सनरी’ जस्तो नमीठो शब्द पनि प्रयोग गर्दैनौं ।

यस्ता औपचारिक भर्ती त छँदैछन्, वितेका दुई दशकमा निजी सामरिक र सुरक्षा कम्पनीको उपस्थिति एक्कासी बढेको छ । यस्ता कम्पनीलाई प्राइभेट मिलिटरी एण्ड सेक्युरिटी कम्पनी (पी.एम्.एस्.सी) भनिन्छ जो अहिले अर्बौं डलरको उद्योग बनिसकेको छ । यी ठेकेदार कम्पनीहरु सरकार, निजी कम्पनी, अन्तर्राष्ट्रिय संस्था तथा गैरसरकारी संस्थाहरूलाई सुरक्षा दिने गर्छन् ।

काबुलमा मारिएका नेपाली सुरक्षा कामदारका परिवारसँग परामर्श गर्दै समाजशास्त्री गणेश गुरुङ । तस्वीरः न्यू योर्क टाइम्स

दोस्रो इराक युद्ध (सन् २००३) को बेला कुख्यात हुन पुगेको अमेरिकी ठेकेदार संस्था ब्ल्याक्वाटरका कामदार सशस्त्र सुरक्षाका नाममा सैनिककै भूमिकामा झैं क्रियाशील हुन थालेपछि सुरक्षा कम्पनीहरू माथि अलि नजर जान थालेको हो ।

अहिलेका पी.एम्.एस.सी.मध्ये एकेडेमी (ब्ल्याक्वाटरको नयाँ नाम), एजी डिफेन्स् सर्भिसेस् र एशिया सेक्युरिटी नामुद र ठूला नाम हुन् । धेरै नेपालीलाई (मुलुक भित्र र बाहिर) रोजगार दिने संस्था ग्रुप फोर (जी.फोर.एस) अहिले संसारकै तेस्रो ठूलो निजी रोजगारदाता संस्थामा दरिन्छ– उसका ६ लाख २० हजार कामदार छन् । तीन दशकअघि ५० बन्दूकधारी सुरक्षाकर्मीमध्ये एक जना मात्र निजी कम्पनीका हुन्थे, अहिले १० मा एक जना निजी कन्ट्र्याक्टरका कामदार छन् ।

सैनिक र अर्ध सैनिक पल्टन जस्ता सरकारी सुरक्षा निकायहरूलाई अन्तर्राष्ट्रिय कानूनले चिनेको हुन्छ, जो जसलाई एकहदसम्म मूल्य र मान्यतामा चल्नुपर्ने हुन्छ । तर निजी सुरक्षा कम्पनीको क्रियाकलाप अन्तर्राष्ट्रिय कानूनको नियन्त्रणभन्दा बाहिर छन्, दायराभित्र ल्याउन संयुक्त राष्ट्रसंघको पहल असफल रहेको छ ।

अक्सर पश्चिमा मुलुकका पूर्व सैनिक अधिकृतबाट स्थापित यी ठेकेदार कम्पनीहरू पैसा कमाउने धुनमा गम्भीर हेलचेक्र्याईं गर्न पनि पछि हट्दैनन्, विगतले देखाउँछ ।

इजरायलमा प्यालिस्टेनीहरुलाई दबाउने क्रियाकलापमा लागेको भनेर ग्रुप फोर कम्पनीले ठूलो आलोचना खेपेको छ । अफगानिस्तानमा नेपाली सुरक्षा गार्ड शोषणमा परेका कुरा नौलो होइन । राजनीतिशास्त्री एमाण्डाले यसलाई थप पुष्टि गरिन्, ‘गोरा साहेब’ हाकिमहरूले नेपालीमाथि गरिरहेको शोषण र विभेदका प्रकारहरू सुनाउँदै ।

जस्तै, पश्चिमा अधिकृत काबुलमा आफूखुशी डुल्न पाउँछन् भने नेपालीहरू आफ्नो क्याम्पभित्रै सीमित राखिन्छन् । ‘एक्स्प्याट’ भनिने पश्चिमाहरू दुई–तीन महीनाको अन्तरालमा नै छुट्टीमा जान पाउँछन् तर नेपालीहरूले दुई–तीन वर्ष कुर्नुपर्छ ।

पश्चिमाहरू आफ्नो कौशलले र नेपालीहरू वंशजले लडाकु मानिएका कारण रोजगार पाउन ‘मार्शिएल रेस्’ को पगरी राम्रै भए पनि आय र दर्जा उकास्न यसले सहयोग गर्दैन । नेपालीहरु जुन काम थाल्यो त्यहीं अड्किन्छन् ।

हामीले ‘गुर्खा’ ब्राण्डको सही प्रयोग गर्नै जानेनौं । दुई सय वर्ष पुरानो यो ब्राण्ड ‘एडिडास्’ र ‘नाइकी’ भन्दा पनि बलियो छ ।

‘तल्लो दर्जा’ को काम ढोका खोल्ने, सेक्युरिटी जाँच गर्ने, सरसफाइ गर्ने र चिया ल्याउने हुन्छन् (एमाण्डा चिसम्को शब्दमा) । हरदम हँसमुख रहिरहनुपर्ने, जहान–परिवारको दबाबका कारण घर फर्कन मन लाग्दा पनि बिरानो देशमा खटिरहनुपर्ने — आदि कारण कामदारको मानसिक स्थितिमा असर पर्छ ।

इराक होस् वा अफगानिस्तान, गोली र बमद्वारा कुनै दूतावास, विदेशी होस्टेल या शिविरमा हमला भए सबैभन्दा ठूलो क्षति नेपाली सुरक्षाकर्मीकै हुने निश्चित छ । किनकि अक्सर यस्ता परिसरमा नेपालीलाई नै ‘फस्र्ट लाइन अफ् डिफेन्स्’ मा राखिएको हुन्छ ।

आत्मघाती आक्रमणकारीसँग चेकजाँचका क्रममा शुरुमै नेपालीकै जम्काभेट हुने हुँदा ठूलो खतरा मोल्नुपर्छ । नेपाली सुरक्षा कामदारको यस्तो ‘फ्रन्टलाइन’ प्रयोग अति आपत्तिजनक छ ।

जून २०१६ को कुरा हो, काबुलस्थित केनेडियन् दूतावासमा प्रतिरक्षाका लागि केनेडियन् कन्ट्र्याक्टर कम्पनी सेबर इन्टरनेशनलले नेपालीलाई नै राखेको थियो । आत्मघाती आक्रमण भयो, १५ नेपाली मारिए ।

पछि पो थाहा भयो, त्यहाँ गोरा अधिकृतका लागि ३ लाख डलर जीवन बीमा गरिएको रहेछ, नेपालीका लागि ३० हजार । श्रीमान् गुमाएकी एक नेपाली महिलाले न्यू योर्क टाइम्स सँग भनिन्, “हामीलाई खसी–बोकाको जस्तो व्यवहार गरियो ।”

राष्ट्रिय अर्थतन्त्रको कोणबाट हेर्ने हो भने पी.एम्.एस्.सीको फैलावटले राम्रै काम गरेको देखिन्छ । ‘गुर्खा’ नामको ऐतिहासिक प्रभावका कारण अन्य देशका नागरिक भन्दा नेपालीहरूले निजी सुरक्षा कम्पनीमा सजिलो गरी काम पाउने गर्छन् ।

बसाइँसराइ र वैदेशिक रोजगारका अध्येता गणेश गुरुङ भन्छन्, “हामीले ‘गुर्खा’ ब्राण्डको सही प्रयोग गर्नै जानेनौं । दुई सय वर्ष पुरानो यो ब्राण्ड ‘एडिडास्’ र ‘नाइकी’ भन्दा पनि बलियो छ । तर, विदेशिएका हाम्रा सुरक्षा कामदारले न राम्रो तलब पाएका छन् न सेवासुविधा । यता नेपाल सरकार र सेना समेतको अग्रसरतामा राम्रो तालिम दिने हो भने यूरोप, अमेरिका र जताततै सुरक्षा विशेषज्ञको रूपमा नेपालीले मनग्गे कमाउन सक्छन् । नागरिक र राज्य दुवैको लागि यो राम्रो हो । ‘गुर्खा’ ब्राण्डको मूल्य हामीले बुझ्नुपर्‍यो ।”

प्रतिकृया दिनुहोस