टिप्पणीसोमबार, ६ जेठ , २०७६

दन्तबझान पत्रकारिता

शेखर खरेल

अतिथिलाई अन्तर्वार्तामा बोलाएर हिरासतमा कैदीलाई जस्तो केरकार गर्दै आफ्नै कुरो थोपर्ने प्रवृत्तिले पत्रकारितामा शिष्टता र धैर्यको अभाव देखाउँछ ।

एउटै कुरालाई प्रस्तुतिको माध्यमले कतिसम्म फरक पार्ने रहेछ भन्ने राम्रो उदाहरण हो, अन्तर्वार्ता । छापासँग गरिने कुराकानी वा अन्तर्वार्ता रेडियो (श्रव्य) र टेलिभिजन अनि यूट्यूब (श्रव्य–दृश्य) सँग गरिंदाको प्रस्तुति र हाउभाउ बिल्कुलै भिन्न हुन्छ ।

अन्तर्वार्तादाता जुन सहजताका साथ छापासँग कुरा गरिरहेको हुन्छ, त्यसभन्दा अलि असहज रेडियो र त्योभन्दा पनि धेरै असहज टेलिभिजनमा गर्न पुग्दछ, यदि अन्तर्वार्ताकार ऊसँग शिष्टतापूर्वक पेश नभए । श्रव्य–दृश्य माध्यममा हुने असहजताकै कारण शायद अन्तर्वार्तादाता बस्ने कुर्सीलाई ‘हटसिट’ भनिएको हुनुपर्छ ।

अन्तर्वार्ताका दौरान सोधिने खरा र गुह्य प्रश्नकै कारण अन्तर्वार्ताका धेरै कार्यक्रमका नामको अगाडि ‘हट’, ‘हार्ड’, ‘टफ’, ‘सीधा’, ‘यक्ष’ आदि जस्ता विशेषण झुण्ड्याइएका हुन् ।

एभिन्यूज च्यानलमा सुशील पाण्डेले लिएको अन्तर्वार्ताको बीचमै बाहिरिंदै उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव ।

टेलिभिजनको पर्दामा राजनीतिकर्मी र सेलिब्रिटीसँगका अन्तर्वार्ता समाजसेवी वा सामाजिक अभियन्तासँगका भन्दा विल्कुलै फरक अन्दाजमा गरिन्छ । किनकि, राजनीतिकर्मी र सेलिब्रिटी बहकिंदा, आवेशमा आउँदा वा चिप्लिंदा टेलिभिजन र यूट्यूब च्यानलको ‘टीआरपी’ र ‘हिट’ बढ्छ । अन्तर्वार्ताको माहोल तात्तिंदै गएको कतिपय अवस्थामा त्यो कुराकानी कम, दन्तबझान ज्यादा प्रतीत हुन्छ ।

‘हटसिट’ मा बस्नेहरू पनि कहिलेकाहीं घोचपेच र भनाभनको सीमा नाघ्दै गालीगलौज र अश्लील संकेतको अवस्थामा नपुग्ने होइनन् । तर, यस्तो परिस्थिति निम्त्याउनमा अन्तर्वार्ता दिने भन्दा पनि लिने व्यक्ति बढी जिम्मेवार हुन्छन् ।

बीबीसी, सीएनएन, अलजजिरा जस्ता ख्यातिप्राप्त टेलिभिजन च्यानलमा हामी शिष्टतापूर्वक नै अन्तर्वार्ता लिइएको देख्छौं । पाहुनालाई उत्तेजित बनाउने र मानमर्दन गर्ने भन्दा पनि ती व्यक्तिबारे यथेष्ट अनुसन्धान गरेर शिष्टतापूर्वक कुराकानीलाई रोचक बनाउने ध्येय अन्तर्वार्ताकारमा देखिन्छ । तर, यस्तो शिष्टता अधिकांश समाचार च्यानलमा देखिंदैन ।

त्यहाँ अतिथिसँग कुरा गरिएको हो कि केरकार, खुट्याउन मुश्किल पर्छ । पाहुनाका भनाइ सुन्ने भन्दा पनि अन्तर्वार्ताकार कुनै आरोप पुष्टिको ध्येयले उनीमाथि खनिएका हुन्छन् । मानौं, त्यहाँ कुराकानी वा बहस भइरहेको छैन, जित–हारको छिनोफानो गर्ने दन्तबझान प्रतियोगिता हुँदैछ ।

‘टक शो’ भनिने यस्ता अशिष्ट अन्तर्वार्ताका लागि छिमेकी भारतका समाचार च्यानलले कुख्याती नै कमाएका छन् । सामान्यतया अतिथिमाथि हावी हुने त्यहाँका वाचाल अन्तर्वार्ताकारहरू गतिलो मानिसका फेला पर्दाचाहिं लज्जावती झार झैं खुम्चिएका पनि देखिन्छन् ।

युद्धमैदानमा विपक्षीलाई एकपछि अर्को बाण प्रहार गरे जसरी एउटा प्रश्नको उत्तर पूरा हुन नपाउँदै अर्को प्रश्नको खोइरो खन्ने चर्चित पत्रकार राजदीप सरदेसाई एक वर्षअघि आफ्नो अशिष्टताको ‘वुमरेङ्’ मा परेका थिए । अतिथिका रूपमा निम्त्याएका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई एक प्रश्नको उत्तर दिइनसक्दै अशिष्टतापूर्वक बीचैमा अर्को प्रश्न सोधेका थिए ।

शान्त र गम्भीर स्वभावका मुखर्जी सरदेसाईको व्यवहारबाट बिच्किए । उनले प्रश्नकर्तालाई सचेत गराए, ‘टेलिभिजनमा देखिने मेरो कुनै लालसा होइन । तिम्रो अनुरोधमा मात्र आएको हुँ । तिमी भारतका पूर्व राष्ट्रपतिसँग कुरा गरिरहेका छौ, त्यसैले न्यूनतम शिष्टता प्रदर्शन गर ।’ मुखर्जीको खबरदारीपछि सरदेसाईले माफी माग्दै कुराकानी अघि बढाएका थिए ।

यसैगरी अर्का कुख्यात अन्तर्वार्ताकार अर्णव गोस्वामीले दुई वर्षअघिको एक ‘टक शो’ मा तृणमूल कंग्रेसकी प्रवक्ता महुवा मोइत्रालाई आफ्नो उत्तर पूरा गर्न नदिई यतिसम्म र्‍याखर्‍याख पारे, उनको अशिष्टताबाट आक्रोशित मोइत्राले माझी औंला देखाइदिएकी थिइन् ।

भारतीय टेलिभिजनमा माथि चर्चा गरिए जस्ता अन्तर्वार्ताकार मात्र देखिंदैनन् । गरम कुरालाई नरम ढंगबाट पेश गर्ने, प्रचुर हास्यचेतबाट असहज परिस्थितिलाई सम्हाल्ने, कुरोको चुरोसम्मै पुगेर अन्तर–कुन्तर उधिन्ने शिष्ट र क्षमतावान टेलिभिजन अन्तर्वार्ताकारको पनि त्यहाँ कमी छैन । प्रभु चावला, रजत शर्मा, वीर सांघवी जस्ता अन्तर्वार्ताकार आफ्ना अतिथिमाथि सम्मान दर्शाउन भुल्दैनन् ।

छिमेकी भारतको पत्रकारिताबाट सिक्न सकिने कुरा जस्तै बिर्सनलायक कुरा पनि छन् । टेलिभिजनको टीआरपी बढाउने नाममा भारतीय समाचार च्यानलमा जस्तो प्रकारको पत्रकारिता मौलाउँदैछ, त्यसको अन्ध नक्कल हामीकहाँ पनि बढ्दैछ ।

पहिले आफ्नो कार्यक्रममा आइदिन अनेकौं अनुनयविनय गर्ने र कार्यक्रम अन–एअर जानासाथ मल्लयुद्ध झैं अतिथिलाई ललकार्नु पत्रकारिता त परको कुरा, सामान्य शिष्टताको दृष्टिले समेत अशोभनीय हो ।

पछिल्लो साता एक नेपाली समाचार च्यानलमा यस्तै एउटा अप्रिय घटना भयो । अन्तर्वार्ताकार सुशील पाण्डे र अतिथि उप–प्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीचको दन्तबझान अन्ततः यादवले प्रत्यक्ष प्रसारणमा गइरहेको कार्यक्रम हठात् छोड्ने स्थितिमा पुग्यो । (हे.तस्वीर) यस घटनापछि टेलिभिजनका दर्शक र आम जनमानस प्रस्तोता र अतिथिका पक्ष–विपक्षमा विभाजित देखिए ।

बाहिर जे–जस्ता प्रतिक्रिया देखिए पनि यी दुई व्यक्तिका निम्ति यो घटना पक्कै पनि प्रीतिकर होइन । त्यसैले यस्तो परिस्थिति उत्पन्न हुन नदिन यो प्रकरणले अन्य पत्रकारलाई सचेत गर्न सक्नेछ ।

प्रतिकृया दिनुहोस