'कालिज मारी पछुतो'
–नारायण विश्वकर्मा, स्याङ्जा
स्याङ्जाको गल्याङ–६ चितुङका तिलबहादुर फुङजालीको लास पाँच महिनाअघि कालीगण्डकी किनारमा जलाउन लाग्दा प्रहरीले नियन्त्रणमा लियो ।
कालिज चोरी शिकारीमा तिलबहादुरको संलग्नता देखिएकाले प्रहरीले लास नियन्त्रणमा लिएको थियो । तिलबहादुरले कालिज मारेका थिएनन् । कालिज मार्नका लागि प्रयोग गरिएको भरुवा बन्दुक अचानक पड्किएपछि उनको मृत्यु भएको थियो ।
घटनामा उनी एक्लै संलग्न थिएनन् । कालिज मार्नका लागि स्थानीय रोमबहादुर थापा र तिलबहादुरलाई त्यो भरुवा बन्दुक अर्का स्थानीय भिमबहादुर थापाले दिएका थिए ।
भिमबहादुर भन्छन्, “बाँदर धपाउन भनेर मेरो बन्दुक दुई दिन अगाडि रोमबहादुरले लगेका थिए । उनीहरू त कालिज मार्न पो गएछन् ।”
रोमबहादुर र तिलबहादुर सँगसँगै घरबाट निस्किएका थिए ।
दुईजनाले भिमबहादुरलाई बाँदर धपाउने र दाउरा पनि ल्याउने भनेका रहेछन् । तर, बन्दुक खेलाउने क्रममा पड्केर तिलबहादुरलाई लाग्यो ।
रोमले दाजु भिमलाई फोन गरे । भिमबहादुर हतार हतार दुर्घटनास्थल पुग्दा तिलबहादुर बेहोस थिए । गल्याङ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भयो।
घटना गत मंसिर १९ गतेको हो । त्यो दिन तिलबहादुर साथीहरूसहित कालिजको शिकार गर्न गएका थिए । भरुवा बन्दुक जीपको सिटमुनि राख्न लाग्दा पड्किएको रहेछ ।
प्रहरीका अनुसार घाइते फुङजालीलाई गल्याङ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । तर, मलामीहरूलाई भने फुङजालीको मृत्यु भीरबाट लडेर भएको हो भनियो ।
स्थानीय एकनाराण तिवारी भने शव जलाउन चितामा राख्दै गर्दा शंका लागेर मलामीले नै प्रहरीलाई खबर गरेको बताउँछन्।
तिवारीका अनुसार भीरबाट लडेको भनेर लास घाटतर्फ लगियो । तर, जलाउन लागेको लास हेर्दा शंका लागेर प्रहरीलाई खबर गरेपछि प्रहरीले चिताबाटै लास नियन्त्रणमा लिएको थियो ।
इजाजत नलिईकन भरुवा बन्दुक राख्ने र त्यसले अवैध शिकार गर्ने क्रम स्याङ्जामा नौलो होइन । विशेषगरी भरुवा बन्दुकले कालिज मार्ने घटना स्याङ्जामा भइरहन्छ । प्रहरीका अनुसार कानूनी साक्षरताको अभावमा यस्तो हुनेगर्छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी उपरीक्षक राजकुमार लम्साल भन्छन्, “भरुवा बन्दुक आफैमा अवैधानिक होइन, लाइसेन्स लिएर कसैैले प्रयोग गरेको छ, जिल्ला प्रशासन कार्यालयले अनुमति जारी गर्छ, प्रमाण छ भने जायज हो । तर, विनाअनुमति भरुवा बन्दुक बोक्नु, मुलुकी अपराध संहिता २०७४ दफाको १०० बमोजिम अवैधानिक हो ।”
लम्सालका अनुसार अनुमतिविना भरुवा बन्दुक बोकेमा पाँच वर्षसम्म कैदको सजाय र ५० हजारसम्म जरिवानाको सजाय छ।”
त्यसमाथि तिलबहादुरले त अवैध कालिज शिकारका लागि भरुवा बन्दुक प्रयोग गरेका थिए ।
डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख अजय कार्की भन्छन्, “वन ऐन २०४९ को दफा ४९ को ढ अनुसार कालिजको शिकार खेल्न प्रतिबन्धित गरिएको छ । राष्ट्रिय वनमा र अन्य कुनै पनि वनमा शिकार खेल्न पाइँदैन, र त्यो कसुर गरेवापत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको दफा २६, ६ बमोजिम १० हजार रुपैयाँसम्म जरिवाना र दुई वर्षसम्म कैद हुन सक्छ वा दुवै सजायको व्यवस्था गरेको छ ।”
तर, जिल्ला प्रहरी प्रमुख लम्साल भन्छन्, “कानूनी अज्ञानताका कारण स्याङ्जामा कालिजको चोरी शिकारी हुने गर्छ ।” प्रहरी प्रमुख लम्साल बाक्लो जंगल र जंगली जनावरको आतंकबाट जोगिन पनि स्याङ्जामा धेरैले भरुवा बन्दुक राख्ने गरेको बताउँछन् । र, उनले चेतनाको अभावमा स्थानीयले अनुमति नलिईकनै बन्दुक राख्ने गरेको पनि बताए ।
कालिज समुद्री सतहबाट २४५ देखि तीन हजार ५० मिटर सम्मको उचाइमा पाइने कुखुरा प्रजातिको जंगली पक्षी हो । स्याङ्जामा कालिजलाई वनकुखुरा पनि भन्ने गरिन्छ । भाले कालिज कालो र पोथी कालिज खैरो रङको हुन्छ ।
डिभिजन वन कार्यालय स्याङ्जाका प्रमुख अजय कार्कीका अनुसार जिल्लामा पाँच प्रकारका कालिज छन् । हालसम्म कसैले गणना नगरेपनि स्याङ्जा जिल्लाका प्रत्येक वनमा कालिज पाइन्छ ।
कालिजको अवैध तस्करी, वासस्थान परिवर्तन, वासस्थानमा अवरोध, र जलवायु परिवर्तनका कारण कालिजको संख्या घट्ने सम्भावना हुन्छ । यसै कारणले पनि सरकारले कालिजको चोरी शिकारी गर्न प्रतिबन्ध लगाएको छ ।
कानूनी साक्षरताको अभावमा स्याङ्जामा कालिजको चोरी शिकारी हुने गरेको छ । जिल्लाकै चण्डीस्थान सामुदायिक वनमा पनि कालिजको पहिलेको र अहिलेको अवस्थामा खासै भिन्नता छैन । स्थानीय वन उपभोक्ता होमबहादुर थापा चोरी शिकारी गर्दा कानुनी कारबाही भोग्नुपर्छ भन्ने ज्ञान नहुँदा कालिजको संख्यामा कुनै परिवर्तन नआएको बताउँछन् ।
खानपानको सोखले पनि मानिसले कालिजको अवैध शिकार गर्ने गरेका छन् । चितुङका स्थानीय एकनारायण तिवारी भन्छन्, “तिलबहादुरसँगै कालिज मार्न जानेहरू कोही जेलमा छन्, कोही कता । कालिज खाने सोखले उनीहरूले त दुःख पाए पाए हामीले पनि दुःख पाउनु परेको छ ।”
मंसिरमा भएको घटनाका एकजना आरोपी रोमबहादुरका नातेदार फगतबहादुर राना भन्छन्, “भाइहरूलाई त्यस्तो होला भन्ने पनि सोचिएन । भइसकेपछि पछुतो मानेर के गर्ने ।”
कालिजले वनजंगलको शोभामात्र बढाउँदैन वातावरण पनि राम्रो हुन्छ । यसको चोरी शिकारीले वातावरणमा पनि ठूलो असर पारेको हुन्छ । कालिजको संख्या बढाउन डिभिजन वन कार्यालय स्याङ्जाले वन्यजन्तु संरक्षण कार्यक्रम अन्तर्गत गाउँगाउँमै गएर समुदायसँग तथा सामुदायिक वनमा सचेतनाका कार्यक्रम गर्ने गरेको छ ।
जिल्ला डिभिजन वन कार्यालयका प्रमुख अजय कार्की समुदायसँगको सहकार्यका बारेमा भन्छन्, “कालिज मात्र नभईकन, अन्य जुनसुकै जनावरको संरक्षणमा समुदायको साथ चाहिन्छ । उहाँहरूले हातेमालो नगरीकन संरक्षणको प्रयास सफल हुँदैन । त्यसैले सबैको सहयोगमा हामी कालिज संरक्षणमा पनि त्यत्तिकै लागेका छौं ।”
–यो फिचर एन्टेना फाउण्डेशन नेपालको रेडियो कार्यक्रम नेपाल चौतारीमा पनि सुन्न सकिन्छ ।