उदयपुरमा टिप्पर दुर्घटना, दुईजनाको मृत्यु
उदयपुरको कटारी नगरपालिका १४ घुर्मी–कटारी सडकको लामीडाँडामा आज बिहान टिप्पर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
साँघुरो सडकमा ब्याक गर्ने क्रममा बा ४ ख ७००० नम्बरको टिप्पर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा टिप्परका सहचालक सिन्धुली दुधौली नगरपालिका ११ का लिलाबहादुर सार्की (२०) र टिप्परमा सवार कटारी नगरपालिका ५ भोर्लेका माइलो भनेर चिनिने युवकको मृत्यु भएको छ ।
टिप्पर चालक सिन्धुली दुधौली नगरपालिका ११ का हर्कबहादुर सार्की (४०) लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।