चामडाँडामा रोकियो भूस्खलन, अम्रिसो बन्यो वरदान
–सस्मिता पन्त, गोरखा
पाँच वर्ष अगाडिसम्म वनमाराले ढाकेको स्याउली चामडाँडा चउर अहिले अम्रिसोले हराभरा भएको छ ।
पहिरो गइरहने चामडाँडा अम्रिसो खेती गर्न थालेपछि हराभराका साथै भूस्खलन रोकिएको हो ।
अम्रिसो खेतीबाट स्थानीयले काम र दाम दुवै पाउन थाले । अब त न पहिरोको डर भयो, सँगसँगै आम्दानीको स्रोत पनि खुल्यो ।
गोरखा जिल्लाको स्याउली चामडाँडा चउर पुग्न गोरखा बजारबाट आधा घण्टा लाग्छ । बजारबाट १६ किलोमिटर दूरीमा पर्ने स्याउली चामडाँडामा अवस्थित माझिखोला सिम्रेडाँडा सामुदायिक वनमा अम्रिसोको खेती नहुँदो हो त यो ठाउँ उराठलाग्दो भिरालो पाखामात्र हुने थियो ।
स्थानीय सुमित्रा अर्याल भन्छिन्, “तर अहिले त्यहाँ पाखाभरि अम्रिसो खेती गरिएको छ । यसले गर्दा पहिरो नि जान्न र अलिअलि आम्दानीले गर्जो टारेको छ ।”
विगत पाँचवर्ष अघिसम्म स्याउली चामडाँडामा पहिरोले दुःख दिएकैले स्थानीयले त्यहाँ अम्रिसो खेती गर्ने सोच बनाएका हुन् ।
सुमित्रा अर्यालका अनुसार पहिरोले धेरै नै दुःख दिएपछि त्यसबाट बच्ने उपाय स्वरूप सबभन्दा पहिले स्थानीयले स–साना अदुवाका ठुसाजस्ता बिउ रोपे । त्यसैबाट बिस्तारै अम्रिसो उम्रियो ।
अम्रिसो पहिलो वर्ष घाँसका लागिमात्र काम आयो । दोस्रो वर्षदेखि कुचोसमेत बन्न थाल्यो । अहिले त प्रशस्तै अम्रिसो उत्पादन हुन्छ ।
माझिखोला सिम्रेडाँडा सामुदायिक वनमा अम्रिसो खेती हुन थालेको पाँचवर्ष भयो ।
त्यहाँको अम्रिसो खेती अहिले स्थानीयका लागि गतिलो आम्दानीको स्रोत भएको छ । अम्रिसो खेती आम्दानीको स्रोत मात्र होइन, पहिरो नियन्त्रणको आधार पनि बनेको छ ।
गोरखा नगरपालिका–१२ स्याउलीको चामडाँडामा स्थानीयले सामूहिक रूपमा अम्रिसो खेती गर्नुअघिसम्म पाखाभरि वनमाराले ढाकेको थियो ।
माझिखोला, सिम्रेकाँडा सामुदायिक वन उपभोक्ता समितिकी सदस्य लक्ष्मी अर्याल भन्छिन्, “सामुदायिक वन सानो भएकाले पनि ५०\६० घर उपभोक्ता मिलेर वनमारा झार फँडानी गरेर धेरै नै दुःख गरेर अम्रिसो खेती शुरु गरिएको हो ।”
त्यसरी दुःख गरेर लगाएको अम्रिसो खेतीमा माझिखोला सिम्रेडाँडा सामुदायिक वन उपभोक्ता समितिको दिनरातको मिहिनेत र पसिना बगेको छ । अम्रिसोका बिरुवाहरू समेत जिल्लामा पाइँदैनथे ।
बिरुवा लिनकै लागि स्थानीयहरू पाल्पा जिल्लासम्म पुगे । तर, अहिले उनीहरू आफै बिरुवा उत्पादन गर्छन् । अम्रिसो खेतीले वातावरण राम्रो भएको छ । सामुदायिक वनको आम्दानीको स्रोत पनि बलियो भएको छ ।
अम्रिसोबाट कुचो उत्पादन गरेर पहिलो खेप बेच्दा नै उनीहरूलाई मनग्गे फाइदा भयो । यसले झन हौसला थपियो ।
लक्ष्मी अर्यालका अनुसार उनीहरूले उत्पादन गरेको अम्रिसो पहिलोपटक तनहुँको खैरेनीमा आएर बेच्दा अत्यन्त खुशी भएका थिए ।
रातदिनको मिहिनेतले हुर्काएको अम्रिसो खेतीले पहिलो खेपमै मनग्गे आम्दानी दियो । बेच्नका लागि पहिलोपटक बजार खोज्दै हिंडका स्थानीयले दोस्रो पटकदेखि बजार खोज्न हिंड्नु परेन ।
व्यापारीहरू आफै घरआँगनमा पुगेर कुचो किन्न थाले । यसले आम्दानी त बढ्यो, सँगसँगै अम्रिसो खेतीले पहिरो र भूस्खलन पनि रोकियो ।
स्थानीय प्रकाश पोखरेल भन्छन्, “कुचो यहीँ पाइन्छ, घाँस यहीँ पाइन्छ र कुचो खोज्दै व्यापारीहरू यहीँ आउँछन् । वातावरण पनि स्वच्छ छ ।”
प्रकाश पोखरेलका अनुसार सबभन्दा महत्वपूर्ण कुरा त पहिरो रोकिएको छ । पहिरो रोकिएपछि वन उपभोक्ता समूहको मिहिनेत नाफामा गएको छ।
गोरखाको स्याउलीका स्थानीयले सामूहिक रूपमा गर्न थालेको अम्रिसो उत्पादनको प्रयासलाई सघाउन नगरपालिका पनि अघि सरेको छ ।
अम्रिसो खेतीले एकातिर पहिरो र भूस्खलनबाट स्थानीयलाई जोगाएको छ भने कमबेसी आम्दानीको स्रोत पनि बनेपछि यसलाई अझ व्यवस्थित बनाउन र बजार खोज्न सघाउन गोरखा नगरपालिका–१२ पनि अघि सरेको छ ।
वडा नं १२ का वडाध्यक्ष डिलबहादुर थापा त्यहाँ कम्पाउण्डिङ गर्न, समूहगत रूपमा व्यावसायिक खेती गर्न र उपभोक्तालाई सघाउनका लागि वडाका तर्फबाट थप सहयोग गर्न समेत प्रतिबद्ध भएको बताउँछन् ।
–यो फिचर एन्टेना फाउण्डेशन नेपालको रेडियो कार्यक्रम नेपाल चौतारीमा पनि सुन्न सकिन्छ ।