दस्तावेजआइतबार, ५ जेठ , २०७६

अनि सुरेन्द्रराज काम्न थाले

भैरव रिसाल

ठूलो होटल बनाउँदा खनिएको जगको पानी फाल्न दमकल मगाइएको त्यो युगबाट जताततै होटल र होमस्टे फैलिएको यो युगसम्म आइपुग्दाको परिवर्तन देखेर छक्क लाग्छ। 

भैरव रिसाल

२०१३ सालमा राजा महेन्द्रको राज्याभिषेकताका बागबजारमा कोरोनेशन नामको होटल खुलेको थियो । त्यसको केही वर्षअघि रूसी नागरिक बोरिस लिसानोभिचले ‘चारबुर्जा दरबार’ (बहादुर भवन) भाडामा लिई रोयल होटल चलाएका थिए ।

यद्यपि, त्यसबेलासम्म पनि नेपालमा ‘होटल’ को व्यावसायिक अवधारणा टुसाइसकेको थिएन । सरकारी अतिथि सदनहरूको पनि चलन थिएन । बोरिसले नै काठमाडौंमा राम्रो होटल बनाउने हो भने पश्चिमा पर्यटक आउने, व्यवसाय पनि हुने सुझव दिएपछि राजा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रम शाह ठूलो होटल बनाउन कस्सिएछन् ।

२०२१ सालतिर ताहाचलको औधी धान फल्ने विशाल फाँटमा ‘होटल सोल्टी’ को निर्माण शुरू भयो । ठूलो होटलको जग गहिरै खनियोे, तर पानी यति धेरै निस्केछ कि, जति झ्किे पनि आएको आयै । एउटा बुज्रुकले बुद्धि खेलाएछ– दमकल मगाउने र त्यसैबाट पानी झ्क्निे । त्यतिबेला दमकलका हाकिम थिए, सुरेन्द्रराज शर्मा । ताहाचल दरबारबाट उनीकहाँ आदेश गयो– ‘तेल भरेर दमकल पठाइदिनू ।’

प्रत्येक दिन बिहानै दमकल ताहाचल पुग्थ्यो, दिनभरि खाडलको पानी फालेर राति फर्किन्थ्यो । एवं रीतले दुई–तीन हप्ता बित्यो तर, जगको पानी सुकेन । राजा महेन्द्रले यो कुरा थाहा पाएछन् र दमकलका डाइरेक्टर सुरेन्द्रराज शर्मालाई बोलाउन लगाएछन् । राजाले बोलाएको भनेपछि के हो, कसो हो भन्ने कल्पना गर्दै शर्मा दरबार पुगेछन् । 

कान्तिपथस्थित रोयल होटल (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर दरबार) रातो घेरामा । तस्वीर : काठमाडौंस्थित अमेरिकी राजदूतावासको फेसबूकबाट

महेन्द्र सधैं गम्भीर देखिने, सारै कम हाँस्ने स्वभावका । अकस्मात् सोधेछन्, ‘फायर ब्रिगेड कहाँ छ ?’ सुरेन्द्रराजका गोडा काम्न थालेछन् । उनले दुईहात जोडेर विन्ती बिसाएछन्, ‘ताहाचलमा बन्न लागेको होटलको जगमा पानीले दुःख दियो भनी ताहाचल दरबारबाट सो पानी झिक्न पठाइ दिनु भन्ने मर्जी भएकोले ताहाचल गएको छ ।’

‘कति दिनदेखि गएको ? पेट्रोल कसले हाल्छ ? अब कति दिन पठाउनुपर्छ ?’ महेन्द्रले थप जिज्ञासा राखेछन्, ‘शहरमा ठूलो आगलागी भए के गर्छौ ?’ सुरेन्द्रराज लुगलुग कामिरहेपछि महेन्द्रले जाऊ भनी पठाइदिएछन् । शर्मा सरासर अफिस गएर सोल्टी गएको दमकल अविलम्ब फिर्ता ल्याउन अह्राएछन् र भोलिपल्टदेखि आफूले नभनुन्जेल ताहाचलमा दमकल नपठाउनू भनी आदेश दिएछन् ।

एउटा जमाना थियो एउटा अक्षर र एउटा अङ्क गाँसिएको ‘श्री ५’ भनेपछि त्यसको चमत्कारै अर्को । धेरै लामो समय नेपालमा यस्तै अवस्था रह्यो । अहिले साठी पैसट्ठी वर्षको अन्तरालमा नेपालमा होटल कति कति । काठमाडौंमा मात्र होइन देशैभर झ्न् ठूला ठूला होटल ।

होमस्टे र पेइङ गेष्ट
केही वर्षदेखि नयाँखालको पद्धति पनि प्रारम्भ भएको छ– आफ्नो घरमा पाहुना राख्ने, निःशुल्क होइन सशुल्क । ‘होमस्टे’ भनिने यो प्रचलन शुरू भएपछि आन्तरिक पर्यटनमा वृद्धि भएको छ ।

तीन–चार दशक अघिसम्म पनि नेपालमा आन्तरिक पर्यटक नगण्य हुन्थे, तीर्थयात्रामा निस्कनेको संख्या भने राम्रै हुन्थ्यो । त्यतिबेला नेपाली गृहस्थहरूमा बेलुका आएको पाहुनालाई भोकै सुताउनुहुँदैन, भोजन गराउनै पर्छ भन्ने दह्रो मान्यता थियो । खाना र आवास निःशुल्क व्यवस्था हुन्थ्यो ।

म आफैंले पनि त्यस्ता धेरै आतिथ्य ग्रहण गरेको छु । पहाड, मधेश र हिमाल जताततै थियो यो परम्परा । अब रूपान्तरण हँुदै होमस्टे बन्न थालेको छ । यस्ता प्रणालीले जातीय संस्कृति, भाषा आदिको विकासमा पनि ठूलो टेवा पुर्‍याउने रहेछ ।

पश्चिमी दुनियाँमा बेड एण्ड बे्रकफास्ट अर्थात् बेलुका सुत्न ओछ्यान (कोठा) र बिहानको खाजा खान पाइने एउटा परम्परा नै छ । नेपालमा भने यो चलन भर्खर शुरू हुन थालेको छ । युरोपतिर आफ्नो घर वा कोठा एक दिनका लागि मात्र भए पनि ‘पेइङ गेस्ट’ लाई दिने चलन कति राम्रो !

२०७२ सालको भूकम्पमा ध्वस्त भएको लाङटाङ क्षेत्र अहिले पुनस्र्थापित मात्र भएको छैन, त्यहाँका ८५ प्रतिशत भन्दा बढी घरमा स्थानीयले होटल व्यवसाय सञ्चालन गरेका छन् । होटल रोयल र त्यसपछि सोल्टी निर्माण हुँदाको त्यो युग अहिले सम्झ्ँदा छक्कै लाग्छ ।

प्रतिकृया दिनुहोस