किन फुल्न छाड्यो सत्खलुवामा ‘रातो कमल’
हुमकुमार चौधरी
“परागसेचन, इकोसिस्टम तथा न्युट्रेसनको कमी, पानीको बेस, गहिराइ सामान्य बुझाइमा त्यहाँका वनस्पतिलाई चाहिने सूक्ष्म किसिमको हावापानी फेरबदल भयो भने पनि वनस्पति लाेप हुन सक्छ ।”
बर्दियाको बारबर्दिया–९ मा पर्ने सत्खलुवा तालमा केही वर्ष पहिलेसम्म ताल नै ढपक्कै ढाक्नेगरी फुल्ने दुर्लभ र आकर्षक रातो कमलको फूल फुल्न छाडेको छ ।
रातो कमल थारु समुदायको संस्कृतिसँग जोडिएको छ । बिहेमा खाना खाने भाँडोको रूपमा प्रयोग गरिने कमलको पात त्यही तालबाटै टिपिन्थ्यो । आफ्नो संस्कृतिसँग जोडिएको कमल देखिन छाडेपछि स्थानीयहरू थारु समुदाय पनि चिन्तित छन् ।
स्थानीय समाजसेवी बालकृष्ण चौधरी रातो कमलको फूल हुने ठाउँमा नाग देवताको वास हुने बताउँछन् । उनले थानमा गएर पूजा गर्दासम्म फूल फुलिरह्योे । स्थानीयले पूजा गर्न छाडे पछि फुल्न छाड्यो भनेर धर्मसँग जोडेका छन् ।
उनले कमलको पात टिपेर भोज–भतेर लगायत ठाउँमा प्रयोग मात्र गरियो तर, यसको संरक्षणमा ध्यान नदिइएको पनि बताए । बर्दियाको सत्खलुवा सीमसार क्षेत्र करीब ३ सय हेक्टर जमिनमा फैलिएको छ । सीमसार क्षेत्रमा सत्खलुवा र यसका सहायक ताल सपदुवा र सतन्ची ताल रहेका छन् । यो सिमसार क्षेत्रमा तालमात्रै ४५ हेक्टर क्षेत्रफलमा फैलिएका छन् ।
सत्खलुवा र अन्य ताल वरपर पाइने जलचर तथा वनस्पतिका बारेमा ताल संरक्षणका अध्यक्ष सुनिल चापागाईं भन्छन्, “यस सीमसारमा जलचर, थलचर र उभयचर तिनै प्रकारका प्राणी र विभिन्न खालका वनस्पति पाइन्छन् । यसमा जलकुम्भी र रातो कमलको फूल पनि पाइन्थ्यो ।”
स्थानीय बासिन्दाका अनुसार पहिले सत्खलुवा ताल रातो कमलले ढपक्कै ढाकेको हुन्थ्यो । फूल फुल्न छोडेपछि तालको पर्यटकीय महत्व समेत घट्न थालेको छ । चापागाईका अनुसार विसं २०७० सालसम्म सत्खलुवा तालमा रातो कमल फूल आफै फुल्थ्यो । तर, विस्तारै फुल्न छोडेको छ ।
२०७३ सालमा रातो कमल फूलको बोट उम्रेपछि संरक्षणका लागि अनेक प्रयास गरेको बताउँछन् वन तथा ताल हेरालु सोमप्रसाद थारू । उनले रातो कमलको फूल बचाउनका लागि धेरै कोसिस गरेको पनि बताए ।
“गएका दुई\तीन वर्षमा पानीभन्दा बाहिर उम्रिएका कमलका बोटलाई बचाउन पानी हाल्ने गरियो । यही वर्ष पनि दुईवटा बोट उम्रेका थिए । फूल बचाउनका लागि त्यसलाई बारको घेरा हालेर पानी हाल्दा पनि बचाउन सकिएन ।”
सत्खलुवा तालमा रातो कमलको फूल लोप हुन लागेकोमा कमलको फूल संरक्षणमा भएका पहलबारे सुनिलकुमार चापागाईंले यसले सबैलाई चिन्तित बनाएको बताए । कमलले सत्खलुवा तालको शोभा बढाएको, कमलको फूलको पात विवाहमा र फूल औषधिको रूपमा प्रयोग गर्दा धेरै फाइदा भएको अतीतलाई स्मरण गरे ।
“अहिले हामीले त्यो पाउन सकेका छैनौँ । डिप बोरिङको व्यवस्था गरेर भएपनि
तालमा पानीको सतह एकनासको बनाउन प्रयास गरिरहेका छौं ।”
कमल हराउनुको कारण के हुन सक्छ ?
वनस्पति विज्ञ विनोदकुमार बस्नेत पानीमा इकोसिस्टम हुने र विशेषगरी परागसेचन त्यहाँ वरिपरिका किरा र मौरीबाट हुने बताउँछन् । यी कुराको विनाश भए पनि यस्तो किसिमको समस्या आउने उनी बताउँछन् । फूलमा परागसेचन भएन भने बीउ बन्न नसक्ने र यसले गर्दा वनस्पतिको इकोसिस्टम, सक्रिय प्रणाली अथवा प्राकृतिक अवस्था बिग्रियो भने पनि फूल उम्रन र फुल्न नसक्ने उनले बताए ।
बस्नेतले कमललाई माक्रो न्युट्रिएसन, नाइट्रोजन फास्फोरस अलि बढी चाहिने र कहिलेकाहीँ बोरन, म्याग्नेजजस्ता तत्व पानीमा सन्तुलित नभएमा पनि कमल फुल्न नसक्ने बताए ।
“न्युट्रेसनको कमी, पानीको बेस, गहिराइ सामान्य बुझाइमा त्यहाँका वनस्पतिलाई चाहिने सूक्ष्म किसिमको हावापानी ‘माइक्रोकलानेटिभ कन्डिसन’ फेरबदल भयो भने पनि वनस्पति लोप हुन सक्छ । हावापानी, इकोसिस्टममा परिवर्तन हुँदा वा आहार प्रणाली, चाहिने पोषक तत्वको कमीले, तालको वरिपरिका रुखको छायाँ जस्ता कारणले पनि हुन सक्छ ।”
कमलको रातो फूल नेपालको बर्दियाबाहेक इलामको सन्तपुर गाउँपालिका–१ मा रहेको माइपोखरीमा पनि पाइन्छ । त्यहाँ यसलाई संरक्षण गरिएको छ ।
इलाम जिल्लाको सन्तपुर गाउँपालिका–१ का वडाध्यक्ष नन्दकुमार राईले आफू विसं २०१८ सालमा जन्मेको र त्यति बेलादेखि नै इलामको माईपोखरीमा रातो, कलेजी किसिमको कमलको फूल फुल्ने गरेको सुनाए ।
“तालको पानीमा पातपतिंगर बस्न थाल्यो । त्यसलाई हटाएपछि अहिलो राम्रोसँग फुलिरहेको छ । कमलको जरामा गानो हुँदो रहेछ । धेरै मुनि त्यसको गानो बन्दो रहेछ । पछि त्यो माथि आएर झांगिदो रहेछ । हामीले सौन्दर्यका लागि जोगाई राखेका छौँ । त्यसलाई गोडमेल चाहिँदैन । पानी कमल हो पानी चाहिन्छ । पानी सुक्न दिनु भएन ।”
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–९ खैरेनीका स्थानीय बासीले रातो कमलको फूल संरक्षण अभियान थालेपछि स्थानीय सरकारले पनि चासो देखाएको छ ।
तालमा रहेको जैविक विविधता संरक्षणमा चासो दिँदै बर्दियाको बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारूले बारबर्दिया नगरपालिकाले सत्खलुवा तालको जैविक विविधता संरक्षणका लागि तालमा माछापालन गर्ने गरेको बताउँछन् ।
तर, ताल ठेक्का लिने ठेकेदारले ताल सुकाइदिने र खनजोत गर्नाले त्यहाँको जैविक विविधता नासिन गएको बताए । हाल सबैले संरक्षणमा चासो राखेको, संरक्षित क्षेत्र घोषणा र तारबार गर्ने कुरामा आफूले पनि पहल गरिरहेको उनी बताउँछन् ।
अहिले ताल विभिन्न किसिमका जंगली जनावर र चराचुरुंगी लगायतको वासस्थान बनेको र यसको योजनाबद्ध किसिमले संरक्षण गरिने पनि उनले बताए ।
“दुर्लभ र आकर्षक वनस्पति जोखिममा रहेकाले त्यसको संरक्षणका लागि विज्ञ टोली बनाएर अगाडि बढ्न नेपाल पर्यटन बोर्ड र राष्ट्रिय प्रकृति संरक्षण कोषलाई पनि भनेको छु । अध्ययन टोली र राष्ट्रिय प्रकृति संरक्षण कोषको सल्लाह अनुुसार के गर्नुपर्छ भन्ने कुराको आधार मानेर स्थानीय सरकारबाट बजेट विनियोजन गरेर त्यसै अनुसार जानेछ ।”
उनले तालमा कमलको फूल फुल्ने ठाउँमा सोही अनुसारको वातावरण तयार गरेर अन्तैबाट रातो कमलको फूलको बीउ खोजेर भए पनि फूलको संरक्षण गरिने बताए ।
–यो फिचर एन्टेना फाउण्डेशन नेपालको रेडियो कार्यक्रम नेपाल चौतारीमा पनि सुन्न सकिन्छ ।