ब्लगआइतबार, २९ बैशाख , २०७६

‘तू गंगा की मौज, मैं जमुना का धारा’

कनकमणि दीक्षित

सानै छँदा बम्बैमा हेरेको/सुनेको ‘बैजू बावरा’ को यो गीतको धुन र शब्द आजसम्म गुञ्जिरहेछ...

हिउँद याममा चन्द्रशमशेरकी कान्छी बुहारी, रानी जगदम्बाको भारत प्रवास हुने गर्थ्याे, कहिले बनारसको लहुराबीर त कहिले कलकत्ताको रासबिहारी एवेन्यू अथवा बम्बैको मलाबार हिल ।

मेरा हजुरबुवा/हजुरआमा केदारमणि र विद्यादेवी रानीसाहेवको नजिक भएकोले सानै छँदा मलाई पनि उहाँको सवारीमा जाने मौका मिलेथ्यो, र उपनिवेशबाट भर्खर स्वतन्त्रता पाएको त्यसबेलाको भारतको ‘एलिट’ रहनसहन बाल्य आँखाले भए पनि देख्न पाएथें ।

सन् १९६२–६३ हुनुपर्छ, म ६–७ वर्षको हुँदो हुँ, बम्बै सफरमा निजी स्क्रिनिङ्ग हलमा ‘सिनेमा’ हेर्ने मौका जु्‍र्‍यो । रानीसाहेवका पर्सनल फिजिशियन थिए त्यहाँका नामुद डा. जे.के. मेहता, प्रख्यात संगीतकार नौशादका पनि चिकित्सक र मित्र ।

यही मित्रताकै कारण हुनुपर्छ, हामीले त्यो निजी सिनेमा हलमा प्रवेश पायौं । फिल्म थियो – ‘बैजू बावरा’ (सन् १९५२), ‘सुपरहिट’ जसले मीना कुमारीको ‘करिअर’ अगाडि बढाइदियो ।

म सम्झन्छु, फिल्ममा कुनै अप्रिय प्रसङ्ग आयो कि डरकामारे फुत्त हलबाट बाहिर निस्केर केहीछिन लबीमा बसेको र फेरि हलभित्र पसेको । सिनेमा विधाको प्रभाव मैले पहिलो पटक महसूस गर्दै थिएँ, जो पूरै भारतमा फिंजिसकेको थियो । लाहोरबाट शुरु भएको दक्षिण एशियाली फिल्म उत्पादन यात्रा भारत–पाकिस्तान बंटवारापछि कलकत्तालाई छाडेर बम्बैमा केन्द्रित भइसकेको थियो ।

कता कता संगीतकार नौशाद स्वयं त्यो विशेष स्क्रिनिङ्गमा उपस्थित भए जस्तो लाग्छ । ‘बैजू बावरा’ को सफलता पटकथा भन्दा फिल्मका गीतकार शकिल बदायूंनीको शब्दमा नौशादले दिएको शास्त्रीय संगीतमा आधारित गीतहरू नै हुन् ।

फिल्मको कथा बैजू नामका एक साधारण गायक र मुगल सम्राट अकबरका ‘नवरत्न’ मध्येका उस्ताद तानसेनबीचको काल्पनिक प्रतिस्पर्धा हो, जो उत्कृष्ट एक जुगलबन्दीद्वारा ‘क्लाइम्याक्स्’मा पुग्छ । हल भित्र/बाहिर गरिरहने मलाई कथाको त्यति चासो भएन, तर शास्त्रीय गीतका शब्द पूरै नबुझ्दा, संगीतको ज्ञाता नहुँदा पनि ‘बैजू बावरा’का गीतहरूले आजैसम्म पछ्याइरहेछन्ः

‘मन तडपत हरी दर्शन को आज’ (मालकोश रागमा आधारित)

 

‘ओ दुनिया के रखवाले’ (राग दरबारी),

 
‘तू गंगा की मौज’ (राग भैरवी), र अन्य ।

यी गीतहरू बम्बैका उदीयमान फिल्म जगतका तीन महानकर्मीका उपलब्धि थिए– गीतकार बदायूंनी, संगीतकार नौशाद र गायक मोहम्मद रफी ।
‘तू गंगा की मौज’ शुरू हुन्छ रफीको स्वरमा लामो तान सहितको आलापबाट, ‘हो जी हो... !’

गीतमा नदी किनारमा रहेका बैजू (कलाकार भारत भूषण) ले डुंगामा टाढिंदै गएकी प्रेमिका (मीना कुमारी) लाई बोलाउँदै छन्, र शेरमा अनेक पानी, खोला र डुंगा सयरको बिम्व प्रयोग गर्दै भाव व्यक्त गर्दछन् — ‘तिमी मबाट टाढिनै सक्दिनौ म जसरी पनि तिमी नजिक भइछाड्नेछु, किनकि तिमी गंगाको छाल (मौज), म जमुनाको धारा... ।’

गीतमा फारसीको ‘मौज’ लाई संस्कृतको ‘धारा’ सँग मिसाइएको छ भने नायक (गायक) धारा हुन्छन्, नायिका मौज । दुई धार नमिसिई धरै छैन भन्छन् गीतकार । गीतमा ‘धारा’ र ‘मौज’ का साथै अन्य जलजन्य शब्दहरू पनि प्रस्तुत छन् — सागर, पतवार, खिवैया, भँवर, तुफान र किनारा ।

हालै यूट्यूबमा ‘तू गंगा की मौज’ फेला पारेपछि मैले फेरि यस गीतको तलाउमा डुबुल्की मारें । रफीको ‘हो जी हो ... !’ तर्फ फेरि कान थापें अनि यही गीतमा अन्य गायकका प्रस्तुति पनि पत्तो लगाएँ, जस्तै पञ्जाबका निजाम अली खान र बंगालका टुनटुन फकिर । तर सबैभन्दा मन परे, बंगलादेशी युवा टोमल हुसैन । यी सब गीतहरू यूट्यूबमा पाइन्छन् नै ।

बम्बैको त्यो सानो हलमा गंगाको छाल र जमुनाको धारासँग मेरो चिनारी भयो । भाषा (उर्दू, हिन्दी, संस्कृत, फारसी) अझै बुझ्ने भए र संगीत (लोक, शास्त्रीय, नेपाली आधुनिक) को ज्ञान थोरै मात्र पनि भैदिएको भए जीवन अझ रसमय बन्नेथियो होला !


सूचना
सन्दर्भ शास्त्रीय संगीतको पनि भएकोलेः कमल दीक्षित संरक्षक रहेको ‘यलमाया क्लासिक’ शास्त्रीय संगीत शृंखलाको तेह्रौं वार्षिक कार्यक्रम २ जेठ २०७६, ठीक चार बजे, पाटनढोकास्थित यलमाया केन्द्रमा मञ्चन हुँदैछ । विद्वत् प्रवचनः काठमाडौं विश्वविद्यालयका संगीत विभाग प्रमुख तथा संगीत अध्येता लोचन रिजाल ।

त्यसपछि सांगीतिक प्रस्तुतिः धनराज तामाङ (गायन), मिलेश तण्डुकार (तबला), श्री केसी (हार्मोनियम), ज्ञानुराधा गोर्खाली (सितार), विकासनाथ योगी (बेला), बैंकटेश ढकाल (तबला) । हरेक महीनाको २ गते मञ्चन हुने यलमाया क्लासिक शृंखलाको यो १५६ औं प्रस्तुति हो । शास्त्रीय संगीतप्रेमी सबैलाई स्वागत !

प्रतिकृया दिनुहोस