मस्कोमा विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु
रुसको राजधानी मस्कोमा एउटा हवाई जहाजमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ ।
रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन्।
मस्कोको शेरेमेत्यवो विमानस्थलबाट मरमास्क जाँदै गरेको सुखोइ सुपरजेट–१०० विमानमा आगलागी भएको हो ।
स्थानीय समय अनुसार आइतबार साँझ (६ मे) उडेको विमानमा केहीबेरमै प्राविधिक समस्या देखिएकाे थियाे । समस्या देखिएपछि फर्काएर आकस्मिक अवतरण गर्दागर्दै इन्जिनमा आगो लागेको बीबीसीले जनाएकाे छ ।
चालक दलका ५ सदस्य र ७८ यात्रु रहेको विमानमा आगो लागेपछि केही यात्रुले आपत्तकालीन द्वारबाट यात्रुहरू निस्केर ज्यान जोगाउने प्रयास गरेका थिए ।
आगलागीमा परी अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विमानस्थलबाट उडेको केहीबरेमै चालक दलका सदस्यले आपत्कालीन सङ्केत जारी गरेको समाचार संस्था इन्टरफ्याक्सले जनाएको छ ।
आपतकालीन अवतरणको पहिलो प्रयास असफल भएपछि पुन अवतरण गर्दा विमान उडेको आधाघण्टा भइसकेको थियो । तर किन आपतकालीन अवतरण गरियो र कसरी आगलागी भयो भन्ने कारण भने अस्पष्ट नै छ।
रुसको सरकारी कम्पनी एयरोफ्लोटले आफ्नो वेबसाइटमा दुर्घटनामा जीवित ३३ जना व्यक्तिहरुको नामावली प्रकाशित गरेको छ । कम्पनीले घाइतेहरुका परिवारलाई निःशुल्क मस्को पुर्याइने जानकारी पनि दिएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई घटनाका वस्तुस्थितिबारे अवगत गराइएको बताइएको छ र उनले पीडितका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।