ब्लगशुक्रबार, २० बैशाख , २०७६

दरबारबाट बीपीलाई फर्काइँदा

भैरव रिसाल

- भोगेको, देखेको, सुनेको

जनमतसंग्रहको नतिजा आएको सात महीनापछि राजा वीरेन्द्रको जन्मोत्सव समारोहमा निम्त्याइएका बीपी कोइराला ‘औपचारिक पोशाक’ मा नजानुको कारण के हुँदो हो ? 

भैरव रिसाल

राजा वीरेन्द्रको ३७औं जन्मोत्सव मनाउन १४ पुस २०३७ मा नारायणहिटी राजदरबारको दक्षिण पटाङ्गिनीमा विशेष समारोह आयोजना गरिएको थियो । राजाको जन्मोत्सवमा विभिन्न नेता, कूटनीतिज्ञ लगायत विशिष्ट पाहुनालाई निमन्त्रणा गर्ने चलनै थियो ।

त्यसै क्रममा समारोहमा नेपाली कांग्रेसका शीर्षनेता तथा पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला पनि देखिए । तर, उनलाई फर्काइएको मैले प्रत्यक्ष देखें । राष्ट्रिय समाचार समिति (रासस) बाट समाचार संकलनका निम्ति म पनि त्यहीं थिएँ । ‘ड्रेस कोड’ नमिलेर उनलाई फर्काइएको रहेछ ।

निमन्त्रणा पत्रमै ‘औपचारिक पोशाक’ अर्थात् दौरा, सुरुवाल र कोटमा आउनुपर्ने भनेर लेखिएको थियो । तर बीपी कोट, पाइन्ट, सर्ट र टोपीमा सजिएका थिए । टाई भने बाँधेका थिएनन् । बीपीसँग फर्काइएको विषयमा प्रतिक्रिया लिन मन थियो । तर, दरबारभित्रको शिष्टता र अनुशासनका कारण सम्भव भएन ।

दरबारमा बीपी आएको देखेर त्यहाँ रहेका स्वदेशी विशिष्ट व्यक्तित्वहरूदेखि विदेशी कूटनीतिज्ञहरूसम्म अचम्भित भए जस्तो देखिन्थ्यो । हुन पनि, २०१७ सालमा बीपी प्रथम निर्वाचित प्रधानमन्त्री रहेकै समयमा राजा महेन्द्रले सरकार भंग गर्दै उनी सहितका नेताहरूलाई कैदमा राखेर निर्दलीय पञ्चायती व्यवस्था शुरू गरेका थिए । यति मात्र होइन, २०३६ सालको जनमतसंग्रहको बेला आन्दोलन हुँदा उनलाई आफ्नै निवासमा नजरबन्द गरिएको थियो ।

समारोहस्थलको छेउमा बीपी पुग्नासाथ नजिकै गएर धेरैले अभिवादन गरे । केहीबेर क्षेम–कुशल सोधखोज चल्यो । बीपी उही परिचित हँसमुख भावमा भलाकुसारी गरिरहेका थिए ।

त्यही अवस्थामा दरबारका प्रमुख सचिवहरू एकैछिन एकान्तमा सल्लाह गरेर बीपी भएको ठाउँमा पुगे । राजदरबार प्रमुख समारोह प्रबन्धकले उनीसँग केही कुरा गरे । कुराकानीको माहोल अलि गम्भीर जस्तो देखिन्थ्यो ।

त्यसपछि विश्वेश्वरप्रसाद फर्किए । त्यति बेलासम्म राजपरिवारका कोही पनि आइसकेका थिएनन् ।

बीपी औपचारिक समारोहको मर्म र पोशाकको गरिमाबारे नबुझने व्यक्ति पक्कै थिएनन् । थाहा पाईपाई उनी अनौपचारिक पहिरनमा किन राजदरबार पुगे त, जिज्ञासा हुन सक्छ । शायद उनी राजासँग भेट्न चाहँदैनथे कि ?

अर्कातिर, उनी निकटका व्यक्तिहरूले औपचारिक पोशाक चाहिंदैन भन्ने सल्लाह दिए कि ? पूर्वप्रधानमन्त्री टङ्कप्रसाद आचार्यले बीपी धेरै वर्ष जेल र प्रवासमा बसेका कारण औपचारिक पोशाक नहुन पनि सक्छ भन्ने टिप्पणी गरे रे !

जनमतसंग्रह र कूटनीतिक खेल
२०१६ सालपछि राजाको जन्मोत्सव समारोहमा बीपीलाई निम्ता गरिएको संभवतः त्यो नै पहिलो पटक होला ।

‘सुधार सहितको पञ्चायत कि बहुदल’ रोज्ने जनमतसंग्रहको परिणाम १ जेठ २०३७ मा आउँदा बहुदलले ५ लाखभन्दा बढी मतले हारेको थियो । बीपीलाई त्यस समारोहमा बोलाउनुको अन्तर्य बहुदलले हारेको अनुभूति गराउने राजाको मनसाय लुकेको हुनसक्छ ।

२०३६ सालमा घोषणा भएको जनमतसंग्रहमा पञ्चायतलाई जिताउन कुनै बदमासी गर्न बाँकी राखिएन । त्यसबेला वन सम्पदा ठूलो परिमाणमा विनाश गरेको, सर्पको छाला समेत बेचेको जस्ता चर्चा गरिए पनि कसैलाई कारबाही भएन । सो धनराशि पञ्चायतलाई जिताउन प्रयोग गरियो भन्ने व्यापक आवाज उठेको थियो । तर, बीपीले त्यसको विरोध गरेनन् ।

उनले सप्तरीको राजविराजमा २३ चैत २०३६ मा आयोजित गोष्ठीमा जनमतसंग्रहमा धाँधली गरी पञ्चायतलाई जिताइए आफूलाई मान्य नहुने अभिव्यक्ति दिएका थिए । तर, मतदानको दिन साँझ् प्रतिक्रिया दिंदै ‘कर्मचारीले कर्तव्यपरायण र निष्पक्ष भएर देखाए, जो सराहनीय छ र प्रजातन्त्रको हितमा छ’ भने । 

पञ्चायती सरकारले पञ्चायतलाई जिताउन ज्योतिष विद्याको पनि दुरुपयोग गराएको थियो । ज्योतिषी गोविन्दराम जोशीको सभापतित्वमा ३१ जना ज्योतिषीको समूहले सुधार सहितको निर्दलीय पञ्चायतले ५५ प्रतिशतभन्दा बढी मत प्राप्त गर्छ भन्ने भविष्यवाणी गराइएको थियो ।

जनमतसंग्रहको नतिजा घोषणा गरिएपछि बीपीले नै ‘जनमतसंग्रहको घोषित परिणाम जस्तोसुकै अप्रत्यासित र व्याख्या गर्न सकिने भए तापनि म स्वीकार गर्छु’ भनेर विरोध गर्नेहरूको मुख थुनेका थिए।

बीपीको व्यक्तित्व आकर्षक थियो । दरबारको समारोहबाट औपचारिकता नपुर्‍याएको भनेर फर्काइँदा पनि उपस्थित व्यक्तिहरूको आँखा उनैमाथि परिरहेको थियो । जेल पर्दा, औषधोपचारका निम्ति विदेश जाँदा र स्वदेश फर्कंदा पनि उनीप्रति मानिसहरूको उत्सुकता र आकर्षण देखिन्थ्यो ।

राजनीतिमा एउटा विशिष्ट स्थान बनाउनुका साथै नेपाली साहित्यमा पनि योगदान पुर्‍याएका उनी सधैं आकर्षणको केन्द्रमा रहे । खासमा यस्तो दुर्लभ अवसर सबैले पाउँदैनन् ।

प्रतिकृया दिनुहोस