भोलि एक घण्टा देशभरका अस्पताल बन्द हुने
नेपाल चिकित्सक संघले डा केसीका माग पूरा गराउन दबाबस्वरुप भोलि १ घण्टा देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरु बन्द गर्न आह्वान गरेको छ ।
डा केसी अनशनमा बसेको १८ औं दिनमा उनको स्वास्थ्य अवस्था नाजुक भइसकेको र राज्य लगायत सम्बद्ध पक्ष उनका मागप्रति संवेदनशिल नदेखिएको भन्दै संघले सरोकारावालालाई गम्भीर हुन आग्रह गरेको छ ।
“देशभरका सम्पूर्ण निजी एवं सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा सांकेतिक रुपमा मिति २०७३ मंसीर १६ गते विहान १० बजे देखि ११ बजेसम्म आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गरी १ घण्टा सम्बन्धित संस्थाहरुको प्रांगणमा उम्भिई नेपाल चिकित्सक संघको डा. गोविन्द के.सी. बचाउ आभियानमा सरिक हुन हार्दिक आवहान गर्दछ,” संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
डा केसीको जीवन रक्षार्थ आवश्यक कदम नचालिएमा अन्य कडा कदम चाल्न नेपाल चिकित्सक संघ बाध्य हुने संघका अध्यक्ष मुक्तिराम श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो यो बाध्यात्मक निर्णयबाट सर्वसाधारणमा पर्न सक्ने असुविधाका निम्ति नेपाल चिकित्सक संघले दुःख प्रकट गर्दै यसबाट पर्न सक्ने अनपेक्षित परिणामका निम्ती राज्यका सम्बन्धित निकायहरु जिम्मेवार हुने पनि भनेको छ ।