नेपाली किशोरको कमाल, जिते एसीसी यू–१६ इस्टर्न रिजन उपाधि
नेपाली अण्डर–१६ टिमले एसियन क्रिकेट काउन्सिल (एसीसी) इस्टर्न रिजन प्रतियोगिताको उपाधि जितेको छ ।
नेपालले आइतबार थाइल्याण्डमा भएको फाइनल खेलमा मलेसियालाई ५९ रन अन्तरले पराजित गर्यो ।
नेपाल यो प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । सन् २०१७ मा थाइल्याण्डमै भएको यो प्रतियोगितामा नेपालले सिंगापुरलाई ७१ रनले हराएको थियो ।
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ९ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।
नेपालका लागि प्रशान्त महतले सर्वाधिक ४० रन बनाए भने दिपक बोहराले २३ र बिशाल विक्रम केसीले १७ रन मात्र जोडन सके । अर्का निखिल कुमार सिंहले १३ रन बनाउँदा बाँकी ब्याट्समेनले दोहोरो रन स्कोर गर्न सकेनन् ।
१४१ रनको लक्ष्य लिएर मैदान ओर्लिएको मलेसिया ८१ (३४.५ ओभर) रनमै अलआउट हुनपुग्यो ।
मलेसियाका लागि मोहम्मद हाजिक ऐमानले सर्वाधिक १८ रन बनाए ।
औसत रन लक्ष्यमै मलेसियालाई रोक्न एकपटक फेरि नेपाली बलिङ आक्रमण प्रभावशाली रह्यो । नेपालका विशालकुमार पटेलले सर्वाधिक ४ विकेट र दिपक बोहराले ३ विकेट लिए ।
निखिलकुमार सिंह र क्रिस कार्कीले एक, एक विकेट लिए । मलेसियाका लागि सचिनु हेटिगेले सर्वाधिक ३ विकेट लिएका थिए।