व्यक्तित्वशुक्रबार, १३ बैशाख , २०७६

चैत–चेतना

देशकै पहिली महिला प्रहरी चैतमाया डंगोलको संघर्षको कथा

हिमालखबर

करीब सात दशकअघि अनायासै प्रहरी सेवामा प्रवेश गरेकी चैतमाया डंगोलले बनाएको गोरेटो अहिले फराकिलो सडक बनिसकेको छ।

- लक्ष्मी बस्नेत

 

७ फागुन, २००७ सालमा प्रजातन्त्र स्थापनासँगै आएको खुलापनले थोरै भए पनि महिलालाई छुँदैथियोे । अगुवा महिलाहरूले राज्यका निकायमा सहभागिताका कुरा उठाउन थालेका थिए । गृहमन्त्री थिए, बीपी कोइराला ।

छोरीलाई पढाउने खासै चलन नरहेको त्यो बेला चाबहिलका किसान तरिमाया र कान्छा डंगोलकी छोरी चैतमाया घर नजिकैका साथीहरूसँग गफिंंदै थिइन् । “वैशाख–जेठतिर हुनुपर्छ, जाडो गइसकेको थियो” उतिबेलाका कुरा सम्झ्ँदै चैतमाया भन्छिन्, “केही महिला छोरीहरू पनि स्कूल जानुपर्छ भन्दै आए । शिक्षा, चेतना र स्वावलम्बनका कुरा गरे । अनि ‘तिमीलाई मिल्ने काम पनि हुने, खेल्न पनि पाइने ठाउँमा लगिदिन्छौं’ भने ।” चैतमाया उनीहरूकै पछि लागिन् ।

“कहिल्यै नदेखेको विशाल महल थियो त्यो, अरू केटीहरू पनि थिए”, चैतमाया भन्छिन् । उनलाई बाहिरै राखेर भित्र पसेका महिलाहरू केहीबेरपछि एक जना प्रहरी पोशाक लगाएका व्यक्तिसँगै आए ।

ती प्रहरीले सोधे “पुलिसमा जागिर खाने हो ?” आश्चर्यमा परेकी चैतमायाले अरू केटीहरूतर्फ हेरिन्, उनीहरूको अनुहारमा पनि विस्मातको भाव थियो । ठूलो आँट गरेर उनले ‘नखाने’ भन्न खोज्दा टाउको मात्रै हल्लियो । ती प्रहरीले कुरा टुंग्याउँदै भने, “यहाँ आएपछि पुलिस बन्नैपर्छ, भोलिदेखि तालिममा आउनू ।”

बाल्यकालमा बिरामी भइरहने गरेकाले चैतमायालाई घरको काममा लगाइँदैनथ्यो । टोलमै थियो श्रेष्ठ थरका व्यापारीको परिवार। त्यो परिवारका किशोर केदारबहादुरले चैतमायालाई मन पराउँदा रहेछन् । १३–१४ वर्ष पुगिसकेकी छोरी माग्न घरमै आएपछि उनका बाबुआमाले ‘हुन्छ’ भनिदिए । चैतमायाको विवाह भयो ।

नयाँ घरमा पनि बुहारीलाई कामधन्दा गर्नु परेन । घर–माइतको क्रममै त्यो दिन माइती आएका बेला प्रहरी बन्न पुगेकी थिइन्, उनी ।

अर्को दिन तालिममा गएपछि पो थाहा भयो, त्यो ठाउँ सिंहदरबार रहेछ । उनीहरूसँग कुरा गर्ने तत्कालीन आईजीपी नरशमशेर जबरा रहेछन् । उनलाई त्यहाँ लैजानेमध्येमा तत्कालीन महिला नेतृ पुण्यप्रभा देवी ढुंगाना पनि रहिछन् ।

१२ जेठ २००८ मा चैतमायाले नियुक्तिपत्र बुझेर पहिलो महिला प्रहरीकोे इतिहास रचिन् । त्यसलगत्तै अरू २५ जना महिलाले पनि नियुक्ति पाए तर, चैतमाया नै पहिली थिइन् । तलब थियो, रु.३० ।

कार्यालय जाँदा–आउँदा ‘पुलिसनी’ भनेर जिस्क्याउँथे । कानेखुशी गर्न थाल्थे । ‘आइमाई भएर जागिर खाएको’ भन्दै टोल–समाजमा कुरा काट्ने नभएका पनि होइनन् । तर, सरकारी सेवा प्रवेश गरेकोमा उनलाई गर्व थियो । भन्छिन्, “प्रहरी भनेपछि कोही नजिक आउनै नसक्ने ।”

अरू त अरू, चैतमायाको पुलिसको जागिर श्रीमान् र परिवारलाई समेत मन परेको थिएन । जागिर छोड्न दबाब बढेपछि उनी माइती आइन् । भन्छिन्, “जागिर छोड्नुपर्ने भए घर नै आउँदिन भन्ने खबर पठाएँ ।” माया गर्ने श्रीमान्ले उनका कुरा माने । चैतमाया घर फर्किइन् ।

तनहुँको त्यो आन्दोलन

२०२५ सालमा सरकारले तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौली सार्ने निर्णय ग-यो । त्यस विरुद्ध बन्दीपुरमा आन्दोलन चर्कियो ।

२२ दिनसम्म पनि आन्दोलन नटुंगिएपछि काठमाडौंबाट हवल्दार चैतमायाको कमाण्डमा टोली पठाइयो । उनी भन्छिन्, “हामी काठमाडौंबाट हेलिकप्टरमा गयौं, अरू तीन जना महिला प्रहरी पनि थिए ।”

महिला प्रहरीको टोली काठमाडौंबाट हेलिकप्टरमा आयो भनेर हल्लाखल्ला भयो । उनले आन्दोलनकारीसँग छलफल गरिन्, हुलहुज्जत गर्नेहरूलाई नियन्त्रणमा लिइन् । अन्ततः सदरमुकाम दमौली स-यो ।

जेल परेका महिला नेतृहरूको सुरक्षामा खटिंदाको क्षण पनि रमाइलो लाग्छ, चैतमायालाई । महिलाहरू प्रायः घरधन्दामै सीमित हुने त्यो समयमा राज्यसँग विद्रोह गर्ने आँटिला महिला देख्दा बेग्लै सम्मान जागेको उनी बताउँछिन् ।

नोना कोइराला, मंगलादेवी श्रेष्ठ लगायतका नेतृ केन्द्रीय कारागारमा हुँदा उनी ड्यूटीमा थिइन् । उनीहरूले ‘पुलिस हुने आँट ग-यौ’ भन्दै स्याबासी दिने गरेको सम्झ्न्छििन्, चैतमाया ।

आफूलाई प्रहरी सेवामा प्रवेश गराउन महत्वपूर्ण भूमिका खेल्ने पुण्यप्रभा देवीलाई उनले नै आन्दोलनका बेला पटक–पटक गिरफ्तार गरेकी रहिछन् । “व्यक्तिगत सम्मान भए पनि आफ्नो जिम्मेवारी पूरा गर्न उहाँलाई गिरफ्तार गर्नै प-यो”, उनी भन्छिन्।

शुरूमा महिला प्रहरीलाई कुन पोशाक लगाउन दिने भन्ने नियम नै थिएन । पहिले पाइजामा लगाउन भनियो, त्यसपछि मलमलको धोती । खाकी रङको साडी लगाउन पनि भनियो ।

उनको सेवा अवधिमा १३ जना आईजीपी भए । उनी पहिलो महिला प्रहरी भएकाले सबैले चिन्थे । जो आईजीपी आए पनि ‘तिमी जस्तै प्रहरी ल्याऊ’  भन्थे। त्यसैले उनले आफ्ना दुई बहिनीलाई पनि प्रहरी सेवामै प्रवेश गराइन् ।

२०३५ सालमा असईमा पदोन्नति भएकी चैतमायाले २०३९ सालमा राजीनामा दिइन् । उनी भन्छिन्, “३२ वर्ष सेवा गरें, अनि राजीनामा गरें ।”

१० वर्षअघि श्रीमान्को निधनपछि निसन्तान उनी एक्ली भइन् ।

घुँडाको समस्याका कारण हिंडडुल पनि खुम्चिएको छ । नजिकैको गणेश मन्दिरसम्म भने प्रत्येक बिहान पुग्छिन् ।

झ्ण्डै सात दशकअघि महिलाहरू घरबाट बाहिर निस्कनुहुँदैन भन्ने परिवेशमा प्रहरी सेवामा प्रवेश गरेकी चैतमायाले कोरेको बाटो अहिले चौडा सडक बनिसकेको छ । “६८ वर्षअघि हामी २५ जना थियौं, आज ६ हजार महिला प्रहरी छन्, परिवर्तन आएकै देख्छु”, खुशी हुँदै उनी भन्छिन्।

प्रतिकृया दिनुहोस